चर्चा र विवाद धेरै तर बालेन, हर्क र गोपीका पालिकाहरू किन फेल? (भिडिओ रिपाेर्ट)

बालेन शाह, हर्क साम्पाङ अनि गोपी हमाल। 

यी ३ जना जब  स्थानीय सरकारका नेतृत्वमा आए अनि चारैतिर यिनीहरूकै चर्चा चुलिन थाल्यो। 

सामाजिक सञ्जाल होस् वा राजनीतिक बहस, चिया-चौताराहरूमा पनि बालेन, हर्क र गोपीकै चर्चा र बहस चल्न थाल्यो । 

तर जति चर्चा र बहस यिनीहरूको छ, आफूले नेतृत्व गरेका ‘सरकार’ भने कामका हिसाबले पूरै फेल भएका छन्। 

सधैं चर्चा, बहस अनि विवादमा रहने यी तीन भन्दा बरु चुपचाप काम गरिरहेका दुर्गमका ‘स्थानीय’ सरकार भने अब्बल देखिएका छन्। 
बालेन शाह काठमाडौं महानगरका प्रमुख हुन्। 

हर्क साम्पाङ राई धरान उपमहानगरका मेयर हुन्। 

अनि गोपी हमाल धनगढी उपमहानगरका मेयर हुन्। 
‘स्वतन्त्र’ चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा आएका यी पात्रहरूले नेपालको राजनीतिमा एउटा नयाँ तरंग ल्याइदिएका थिए। त्यसपछि हरेक क्षेत्रमा ‘युवा’ अनि ‘नयाँ’हरूको चर्चा चल्न थाल्यो। 

पुराना राजनीतिक पार्टी अनि नेताहरूसँग फ्रस्टेड भइसकेको जमात मात्रै बालेन, हर्क र गोपीहरूकै उदाहरणमा रमाउन थाले। 

अहिले पनि उनीहरू जति सामाजिक सञ्जालमा बिक्छन्, त्यत्तिकै आफ्नो कार्य सम्पादनमा भने निकै कम छन्। 

हालैमात्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहका कार्यसम्पादन मूल्याङ्कनको अन्तिम सूची सार्वजनिक गरेको छ। 
त्यसमा कहिल्यै चर्चामा नआउने र चुपचाप काम गरिरहेका दुर्गमका पालिकाहरू उत्कृष्ट सावित भएका छन् भने बालेन, हर्क र गोपीहरूले नेतृत्व गरेका महानगर अनि उपमहानगरहरू निकै छुटेका छन् । 

कार्यसम्पादन मूल्याङ्नका आधारमा सबैभन्दा धेरै अंक पाएर डडेल्धुराको डडेल्धुराको अमरगढी नगरपालिका पहिलो नम्बरमा आएको छ । 
योसँगै इलामको सूर्योदय नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । 
देशकै उत्कृष्ट स्थानीय तह हुन सफल डिल्लीराज जोशीले नेतृत्व गरेको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अंक प्राप्त गरेको छ। 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा रहेको यो नगरपालिका त्यहाँको जिल्ला सदरमुकाम पनि हो । जोशी पनि नेपाली काँग्रेसकै हुन् । 
त्यस्तै सूर्योदय नगरपालिका ८० दशमलव १५ अंक प्राप्त गरेर दोस्रो नम्बरमा छ । यो नगरपालिकाका प्रमुख रणबहादुर राई हुन् । एकीकृत समाजवादी पार्टीका उनी दोहोरिएर नगरप्रमुख भएका हुन् । त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.१८ प्राप्त गरेर तेस्रो नम्बरमा छ । यो पालिका प्रमुख खिमबहादुर थापा नेकपा एमालेका हुन् । 
त्यस्तै प्रचण्डकी छोरी रेणु दाहालले नेतृत्व गरेको भरतपुर महानगर ७६ दशमलव २२ अंक पाएर चौथो स्थानमा छ । 

त्यस्तै ७४ दशमलव ७१ नम्बर पाएर ललितपुर उपमहानगर पाँचौ स्थानमा आउँदा बालेनले नेतृत्व गरेको काठमाडौं महानगरले ५४ दममलव ३२ अंक ल्याएर १०औं स्थानमा छ। 

हर्क साम्पाङले नेतृत्व गरेको धरान उपमहानगर ५६ दशमलव ३२ अंकसहित नवौं नम्बरमा छ भने त्योभन्दा अघि धनगढी उपमहानगर छ। गोपी हमालले नेतृत्व गरेको यो उपमहानगरले ६३ दशमलव २५ अंक प्राप्त गरेको छ।

खासगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनका लागि विभिन्न १७ वटा सूचकहरू बनाएको छ। त्यसका आधारमा उनीहरूको मूल्याङ्कन हुन्छ र त्यहीअनुसार अंक दिइन्छ। 
त्यसमा मुख्यत: बित्तिय अनुशासन, कार्यकुशलता, सुशासनका आधारहरूमा अंक प्राप्त हुन्छ। त्यस्तै बजेट तयारी, खर्च, बेरुजुका आधारहरू पनि हुन्छन्। कार्य सम्पादन मूल्याङ्कनमा राजश्व, कर संकलन, स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर, उत्तीर्ण दर, महिला तथा बाल स्वास्थ्यको अवस्थाहरूका आधारमा पनि मूल्याङ्कन गरिन्छ। 

सधैं चर्चामा आउने यी महानगर र उपमहानगरहरू विकास खर्चमा पनि निकै पछि छन्। देशका छ महानगरमध्ये सबैभन्दा धेरै वीरगन्ज महानगरले ३२ दशमलव ६२ प्रतिशत खर्च गरेको छ। त्यस्तै भरतपुर महानगरले १०.५६ प्रतिशत विकास बजेट खर्च गरेको छ। यो सबैभन्दा कम हो। 

त्यस्तै बिराटनगरले १२.९२ प्रतिशत, पोखराले १९ दशमलव ०४ प्रतिशत, ललितपुरले १८ दशमलव ८८ प्रतिशत र काठमाडौं महानगरले १३ दशमलव ४० प्रतिशतमात्रै बिकास बजेट खर्च गर्न सकेको छ। 

 

प्रकाशित मिति: : 2025-03-12 10:02:00

प्रतिकृया दिनुहोस्