पूर्वराजाको पक्षमा कति मान्छे ओर्लिएलान्? गृहमन्त्रालयको अनुमान- १० हजार

भारत भ्रमणबाट फर्किएर सोझै पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्किँदै छन्।

पूर्वराजाको स्वागतका लागि राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले हजारौैंको संख्यामा मानिसहरू उतार्ने तयारी गरेको छ। हजारौं समर्थकहरूको भिडले पूर्वराजालाई एयरपोर्टबाट निर्मल निवाससम्म पुर्‍याउँने राजावादीहरूको तयारी छ।

यसैबीच पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई लक्षित गर्दै गृहमन्त्रालयले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाउँने तयारी गरेको छ।

मन्त्रालय स्रोतका अनुसार राजाको पक्षमा भोलि आइतबार १० हजार हाराहारी मानिसहरू भेला हुने अनुमान गरिएको र सोही अनुसार सुरक्षाको प्रवन्ध गर्न लागिएको छ।

राजावादी राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईंसमेत मिसिएपछि सरकारले सुरक्षा चुनौती महसुस गरेको स्रोतले बतायो।

गृहमन्त्रालयले प्रदर्शनका क्रममा सकेसम्म कम बल प्रयोग गरी राजावादीहरूलाई उत्तेजित हुनबाट रोक्ने प्रयास गर्ने स्रोतले बतायो

पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा अराजक गतिविधि हुन नदिन मन्त्रालयले आज राजतन्त्र पक्षधरहरूसँग वार्ताको तयारी गरेको छ। आयोजकसँगको समन्वयले कार्यक्रम उत्तेजित नहुने र व्यवस्थापनमा सहज हुने निष्कर्ष मन्त्रालयको छ।

भिड व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजाको स्वागतका लागि सीमित व्यक्तिहरूलाई मात्रै प्रवेश गराउने मन्त्रालयको तयारी छ। बाँकी समर्थकहरूलाई बाहिर नै रोक्ने गरी गृह मन्त्रालयले तयारी गरेको छ। 

प्रकाशित मिति: : 2025-03-08 12:35:00

प्रतिकृया दिनुहोस्