अमेरिकी चुनाव २०२४ मा नेपाली

ओपन सिट भयो मेरिल्याण्ड -२, उम्मेद्वारी देलान् त डा. ह्यारी भण्डारीले?

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाका नेपालीका लागि नेपाललाई देखाउने र सुनाउने अर्को एक सुनौलो मौका आइपुगेको छ। मेरिल्याण्डको कंग्रेसनल ड्रिस्ट्रिक्ट २ ओपन सिट भएको छ। सन् २००३ देखि यो क्षेत्रको प्रतिनिधित्व गर्दै आएका प्रभावशाली डेमोक्रेटिक कंग्रेसमेन डच रूपेनबर्गरले शुक्रबार अवकाश घोषणा गरेसँगै यो क्षेत्र ओपन सिट भएको हो।

यही क्षेत्रमा पर्छ, मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीको डिस्ट्रिक्ट ८। डा. ह्यारी भण्डारी नेपाली मूलको पहिलो अमेरिकी हाउस अफ एसेम्बेली सदस्यका रूपमा यही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। सन् २०१८ मा ऐतिहासिक जीत निकालेका डा. भण्डारी चार वर्षे कार्यकाल पूरा गरेर सन् २०२२ मा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका छन्।

बैजनी रङको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेली डिस्ट्रिक्ट ८ लाई नीलो बनाएका डेमोक्रेटिक डेलिगेट डा. भण्डारी यस क्षेत्रकै सबैभन्दा वरिष्ठ हाउस अफ एसेम्बेली सदस्य हुन्। यस क्षेत्रकी मेरिल्याण्ड सिनेटर क्याथी नउठ्ने भएपछि डा. भण्डारी यो पदमा उठ्नका लागि सबैभन्दा डिजर्भिङ उम्मेद्वार हुन्।

अमेरिकामा आफ्नै पार्टील जितिरहेको ओपन सिट सामान्यत: कुनै पनि मान्छेको जीवनकालको उर्वरसमयमा एकपटक मात्र उपलव्ध हुन्छ। मेरिल्याण्ड कंग्रेसनल ड्रिस्ट्रिक्ट २ को यो सिट पनि २१ वर्षपछि ओपन सिट भएको हो। सन् २००३ मा पहिलोपटक कंग्रेसमा निर्वाचित कंग्रेसमेन डच ७७ वर्षको उमेरसम्म पनि यही निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरिरहेकै छन्। उनी त्यसयता हरेक दुई वर्षमा हुने कंग्रेसको आवधिक चुनाव जित्दै आएका छन्।

मेरिल्याण्ड कंग्रेसनल ड्रिस्ट्रिक्ट २ डेमोक्रेट बहुल क्षेत्र हो। यसमा डेमोक्रेटिक प्राइमरीमा जित्ने उम्मेद्वार नै आम निर्वाचनमा विजयी हुने लगभग निश्चित हुन्छ। 

जित्ने निश्चित भएको ओपन सिटको प्राइमरी चुनाव स्वभावत: पेचिलो हुन्छ। धेरै उम्मेद्वार हुन्छन्, अनेक आन्तरिक तथा वाह्य चुनावी डाइनामिक्सको खेल हुन्छ। 

मेरिल्याण्ड कंग्रेसनल ड्रिस्ट्रिक्ट २ को डेमोक्रेटिक प्राइमरीमा पनि यसपाली त्यस्तै हुने हो। यहाँको प्राइमरी मे १४ मा हुने छ।

यो सुनौलो अवसर डा.ह्यारी भण्डारीका लागि त आएको हो नै, अमेरिकाभरि रहेका नेपालीका लागि पनि आएको हो। अब प्रश्न उठ्छ, यो अवसर लिने कि नलिने ?

डा. ह्यारी भण्डारीको राजनीतिक यात्रामा सुरूदेखि नै अभिभावकीय भूमिका निर्वाह गर्दै आएका बाल्टिमोरका एक नेपाली टावर पर्सनालिटी डा. श्याम कार्की भन्छन्, ‘ नेपालीका लागि प्राप्त यो सुनौलो अवसर नलिने कुरै आउँदैन। यो अवसर लिएनौ भने ह्यारीको सक्रिय राजनीतिक जीवनकालमा अर्को पटक यो अवसर नै आउँदैन । उनीबाहेक यो सम्भावित अवसर लिनसक्ने अरू कोही नेपाली धेरै टाढा पनि देखिदैनन् ।‘

डा. कार्कीको यो प्रतिनिधि भनाइलाई आधार मान्दा डा. ह्यारीले यो सुनौलो अवसर लिनै पर्छ। नाटककार गोपालप्रसाद रिमालले भनेका छन्, ‘एक जुगमा एक दिन एकपटक आउँछ’। अमेरिकाका नेपालीका लागि पनि एक जुगमा एकपटक आएकै एक दिन हो यो ।

एक साता अगाडिको एक भेटमा डा. ह्यारी भण्डारीले भनेका थिए, ‘हेरौं के हुन्छ? पहिला त कंग्रेसमेनको तर्फबाट उम्मेद्वारी नदिने  औपचारिक घोषणा आउनुपर्यो। अहिले म मेरो गृहराज्य मेरिल्याण्डलगायत अमेरिकाभरि रहेका अगुवा नेपालीहरूसँग सम्वादमा छु। उहाँहरू सबैले ओपन सिट भयो भने चुनौतिलाई स्विकार गर्नुपर्छ भन्नु भएको छ। उहाँहरूको सल्लाह,सुझाव र मार्गदर्शनअनुसार नै म पनि यो चुनौतिको पहाडलाई अवसरको मैदान बनाउने सोचाइमा छु।‘

नभन्दै शुक्रबार कंग्रेसमेन डच रूपेनबर्गरले शुक्रबार अवकाश घोषणा गरेर यो क्षेत्र ओपन सिट बनाइदिएका छन्। अब पालो डा. ह्यारीको उम्मेद्वारी घोषणाको ।

प्रकाशित मिति: : 2024-01-30 01:18:00

प्रतिकृया दिनुहोस्