‘संसद्मा हामीले जनताको पक्षमा आवाज उठाइरहेका छौँ, तर सरकारले कार्यान्वयन गर्दैन’

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा धवलशम्शेर राणाले संसद्मा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गरेका छन्।

‘संसद्मा प्रतिपक्षको भूमिका सरकारका काम–कारबाहीका बारेमा निगरानी राख्दै सरकारका राम्रा काममा टेवा दिने र कमी–कमजोरीमा खबरदारी गर्नु हो। हामी संसद्मा जनताको विचारको प्रतिनिधित्व गर्दै आवाज उठाइरहेका छौँ। सरकारले कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइरहेका छौँ। तर सरकारले कार्यान्वयन गर्दैन। सरकार जवाफदेही छैन। हामी प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेका छौँ तर आफ्नो भूमिका निभाउन सरकार सकिरहेको छैन’, उनले भने।

सांसद राणाले जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने सर्वोच्च निकायका रूपमा रहेको संसद्मा सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने बानीको विकास गरी जनताका समस्या समाधान र कानुन निर्माण केन्द्रित हुनुपर्ने बताए।

राप्रपाका महामन्त्रीसमेत रहेका राणाले प्रतिपक्षले उठाएका विषयप्रति सरकार जवाफदेही नहुँदा सरकार असफल भएको आरोप समेत लगाए। ‘हामी सरकारका खराब कामप्रति विरोध गरिरहने, औँल्याइरहने, सत्तापक्ष नसुनेको जस्तो गरिरहने यस्ता अभ्यासले हामीलाई कहाँ पुर्याउँछ?’, उनले प्रश्न गरे। 

विसं २०१८ मा जन्मनुभएका सांसद राणा बाँके क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। उहाँ नेपालगञ्ज उपमहानगरपालिका पूर्वप्रमुख पनि हुनुहुन्छ। सांसदमा विकास निर्माणका कामको क्षेत्राधिकार नभएको जनताले नबुझ्दा पीडा महसुस भएको अनुभव उहाँ राख्नुहुन्छ।

‘सांसदहरू कानुन बनाउन निर्वाचित हुन्छौँ तर जनताले त्यसरी हेर्दैनन्। जनताले सडक, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका लागि निर्वाचित गरेको महसुस गर्छन्। केही जनताले विकास निर्माण गर्न सकेन भन्छन् नै। यो नबुझ्दा आफूलाई पीडाचाहिँ लाग्दोरहेछ’, उनले भने। आफ्ना मतादाता निर्वाचित भएको एक वर्षमा विकास निर्माण काम नभएको र कानुन निर्माणको अवस्थाप्रति सन्तुष्टि रहने वातावरण नभएको उनको ठहर छ।

आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको स्मरण गर्दै उनले भने, ‘केही जनताले कानुन निर्माण गर्ने निकायमा निर्वाचित गरेको बुझ्नुहुन्छ। विकासका पूर्वाधार निर्माण गर्ने निकाय स्थानीय तह हो। दुई–दुईपटक प्रमुख भएर स्थानीय निकायमा त्यो भूमिका म निभाएको छु।’

विसं २०४९ बाट सांसद राणाले राप्रपाको युवक सङ्गठनबाट आफ्नो राजनीति सुरुआत गर्नुभएको थियो। पछि स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गरी सांसद पदमा निर्वाचित भएका सांसद राणापछि नेकपा (एमाले) प्रवेश गरी २०५४ सालमा निर्वाचित नगरप्रमुखसमेत भएका थिए। पुनः राप्रपा फर्किएका सांसद राणा २०७४ सालमा प्रमुख भएर हाल प्रतिनिधिसभा सदस्य हुन्।

संसद्मा सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा कानुन निर्माण गर्नुपर्दछ। जुन कुनै एक दलका समर्थकका लागि होइन। जनता र मुलुकमा अमनचयन सिर्जना गर्नका लागि। भूमिका र जिम्मेवारीका हिसाबले एउटा विधायकले विधेयक र कानुन निमार्णमा केन्द्रित हुनुपर्ने हो तर सोहीअनुसार हुनसकेको छैन। सांसद राणाले संसद्ले करोडौँ खर्च गरेर विधेयक पास गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे।

‘हामी करोडौँ खर्च गरेर एउटा विधेयक पास गर्छौँ। संसद्ले आवश्यक विधेयक पास गर्न नसकेको अवस्था छ। कानुन बनाउने मुख्य जिम्मेवारी बोकेका सांसदप्रति जनता सन्तुष्टि हुने अवस्था छैन’, उनले भने। सांसद राणाले अभावैअभाव र असहमतिका बीच चलिरहेको सदन एउटा गठबन्धन छाडेर अर्को गठबन्धनमा उभिएको परिणाम रहेको आरोप लगाए।

मुलुकको आर्थिक अवस्था निरासाजनक रहेकामा चिन्ता व्यक्त गर्दै सांसद राणाले भ्रष्टाचार नै देश विकासको बाधक रहेको बताए। ‘मुलुकमा हरेक कुराको अभाव छ। रोजगारी छैन, विकास छैन। भ्रष्टाचार मौलाउँदै जानु देश विकासको बाधक हो। मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सबैले पहल गर्नुपर्छ’, उनले भने। रासस

प्रकाशित मिति: : 2023-11-24 11:14:00

प्रतिकृया दिनुहोस्