विमानस्थल बेथिति १

विमानस्थलको ‘सेटिङ’ भत्काउन प्रहरी अप्रेशन, कर्मचारी र बिचौलियाको रुवाबासी (भिडियाे)

भिजिट भिसामा विदेशिनेहरू सम्बद्ध देशमा पुगेर बिचल्लीमा पर्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले थेग्नै सकेन। खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले भिजिट भिसामा नेपालदेखि नै कडाइ गर्न माग गरे। त्यसपछि सरकारले २०७३ मा संसदीय समिति नै खाडी मुलुकमा अनुगमन गर्न पुग्यो।

अनुगमनबाट फर्किएपछि समितिले भिजिट भिसा बन्द गर्न सरकारलाई सुझाव दियो। त्यसको फलस्वरूप सरकारले भिजिट भिसामा खाडी मुलुक जानेहरूबारे बढी निगरानी गर्न थाल्यो। तर त्यसपछि पनि मानव तस्करी बीसको उन्नाइस भएन। बरू ‘सेटिङ रेड’ भने दुई गुनाले बढ्यो।

त्यसपछि पनि धेरै समितिहरू बने विमानस्थल सेटिङ भत्काउन, तर कसैले पनि विमानस्थलकाे सेटिङ भत्काउन सकेनन्। जति समिति बने त्यति नै तस्करले ‘सेटिङ रेट’ बढाए।

भिजिट भिसालाई कडाइ गर्न भन्दै गृह मन्त्रालयले मातहतका अध्यागमन विभागलाई निर्देशन दियो। त्यो निर्देशनपछि पनि विमानस्थलको तस्करी झनै बढ्यो। पहिला १ लाख रकम तिरेर भिजिटमा जानेहरूले २ लाख ५० हजारसम्म तिरेर जान थाले।

ट्राभल एजेन्सी, अध्यागमनका कर्मचारी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा विमानस्थल सेटिङ दिन दुई गुना रात चौगुना बन्न थाल्यो। अध्यागमन सेटिङमार्फत युएईलगायतका खाडी मुलुकमा पुगेकाहरूको बिचल्ली हुन थाल्यो।

कोरोनाकालपछि विस्तारै खाडी मुलुकले नेपालमाथि लगाएको प्रतिबन्ध हटाएसँगै विदेश जानेहरूको संख्या बढ्यो। त्यही मौका छोपेर विमानस्थल सेटिङमार्फत तस्करले भिजिट भिसामा नेपाली कामदार सप्लाइ गर्न थाले।

सेटिङमार्फत खाडीको पुगेकाहरूको कन्तबिजोग हुन थाल्यो र त्यो नेपालमा पनि पुग्यो। त्यसपछि फेरि गृह मन्त्रालयले केही समयअघि भिजिटमा जाने नेपालीहरूलाई कडाइ गर्न अध्यागमनलाई परिपत्र गर्यो।

अध्यागमनले कडाइ गरेपछि मानव तस्करहरूको व्यापार भने झनै फस्टायो। स्रोतका अनुसार बिचौलिया, अध्यागमन र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा एक जना बराबर २ लाख ५० हजारदेखि ३ लाखसम्म रकम लिएर विदेश पठाउने क्रम बढेको स्रोत बताउँछ।

साँच्चिकै भ्रमणका लागि जानेहरूलाई अध्यागमनका कर्मचारीले विभिन्न बहाना बनाउँदै फर्काएर काम देखाउने तर घुम्ने बहानामा काम गर्न जानेहरूलाई सरासर जान दिने गरेको गुनासो प्रधानमन्त्री कार्यालयसम्मै पुगेको छ।

हुनत यस्ता गुनासा विगतमा पनि सुनिएकै हुन्। सेटिङमा संलग्न आफ्ना कर्मचारीलाई विभागले कारवाही नगरी कारवाहीको नाममा केही समय विमानस्थलबाट तान्ने र सामान्य भएपछि फेरि त्यही पठाउने गरेका कारण अध्यागमनका कर्मचारीहरू सेटिङमा माहिर हुन थालेका छन्।

खाडी मुलुकमा ट्राभलको प्याकेज लिएका बाहेकका महिलाले भ्रमण भिसामा जान नमिल्ने भन्दै अध्यागमनका कर्मचारीले वास्तविक पर्यटकलाई दुख दिने गरेका छन्। तर तस्करले सेटिङ गरेका गैर-पर्यटकलाई भने सरासर जान दिने गरेका छन्।

त्यसैगरी साउदी अरेबियाको जजिरा एयरको विमानबाट सेटिङमार्फत दुबई जान लागेका ३७ जना महिलालाई मंगलबार मात्र प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ।

विमानस्थल प्रहरीले नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा देखिएका उनीहरूलाई प्रहरीले सोधपुछ गर्दा सेटिङमार्फत दुबई जान लागेको खुलेपछि उनीहरूलाई फर्काएको हो।

‘भिजिट भिसामा खाडीमा जाने नेपालीहरूका बारेमा सरकारले निश्चित मापदण्ड बनाएको छ, त्यो पुरा गरेर मात्र भिजिट भिसामा खाडी मुलुकमा जान पाइन्छ’, विमानस्थल प्रहरी प्रमुख डिआईजी श्यामलाल ज्ञावलीले बिएल नेपाली सेवासँग भने, ‘त्यो प्रक्रिया पुरा नगरेको देखिएपछि हामीले उनीहरूलाई फर्काएका हौं।’

प्रहरीले नियन्त्रणमा लिएका ३७ जना महिला जजिराको विमानबाट साउदी ट्रान्जिट हुँदै युएई जाने तयारीमा थिए। नाम उल्लेख नगर्ने सर्तमा विमानस्थल अध्यागमनका एक अधिकारीले भने, ‘प्रहरीका कारण मंगलबार जजिराबाट जाने ३७ जना फर्कनु पर्यो, कसले कुरा लगाइदिए छ खै! हाँस्दै ती कर्मचारीले भने, ‘प्रहरीको कारण १८ लाख आम्दानी गुम्यो।’

ती कर्मचारीका अनुसार दैनिक २ सय बढी युवा युवतीहरू भिजिट भिसामा विमानस्थल सेटिङमार्फत खाडी प्रवेश गर्ने गरेका छन्।

गत साता मात्र २ लाख ५० हजार रकम खर्चेर युएई पुगेका एक व्यक्तिले बिएल नेपाली सेवासँको टेलिफोन संवादमा भने, ‘रकम खर्च गरेपछि केही हुँदैन। मैले २ लाख ५० हजार तिरेको थिएँ। सेटिङ पहिल्यै मिलिसकेको थियो। सरासर आएँ, मलाई कसैले रोकेनन्।’

आफूलाई पहिले नै अध्यागमन काउन्टरको नम्बरै तोकेर जान भनिएको र आफूले सोहीअनुसार काम गरेपछि आउन सजिलो भएको उनको भनाइ छ। ‘मलाई यति नम्बर काउन्टरमा जानु भनिएको थियो’, उनले भने, ‘त्यहाँ गएँ, खासै कसैले वास्ता गरेनन्।’ तर उनीसँगै भ्रमणका लागि दुबई जान लागेका अर्का युवालाई भने रोकिएको थियो।

ती युवाले भने, ‘मेरोभन्दा अघिल्लो लाइनमा बसेका एक जना युवा थिए। उनका बाबु दुबईमा २० वर्षदेखि बस्दै आएका रहेछन्, बाबु भेट्न जान लागेका उनलाई भने अध्यागमनले फर्कायो। दुईतर्फी टिकट, होटल बुकिङ र डलर साटेको पासपोर्टमा छाप भएपछि अध्यागमनले जान दिने भएपछि ती फर्काएका युवासँग त्यो सबै थियो सेटिङ गरेका रहेनछन्, त्यसैले फर्कनु पर्यो होला’, ती युवाले भने, ‘भिजिट भिसामा जान मिल्दैन भनेर जुन व्यक्तिले उनलाई फर्काएका थिए, मलाई उनले केही नबोली पठाए।’

सरकारले भिजिट भिसामा खाडी जानेहरूमाथि कडाइ गरेका कारण आफूहरूको खर्च बढेको सिनामंगलमा रहेको एक ट्राभल्स् व्यवसायीले बताए।

‘सेटिङको मूल्य ह्वात्तै बढ्यो, १ लाख १५ हजारमा पहिला हुन्थ्यो भने अहिले उस्तै परे महिलाले ३ लाखसम्म खर्च गर्नुपर्छ’, नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले भने, ‘अहिले सेटिङको मूल्य बढेको छ। पैसा खर्च गरेर हिजो पनि जान सकिन्थ्यो, आज पनि त्यो कायम छ।’

यसरी हुन्छ विमानस्थल ‘सेटिङ’

स्रोतका अनुसार सेटिङमार्फत खाडी मुलुकमा भिजिट भिसामा जाने महिला तथा पुरूषले सुरूमा बिचौलियामार्फत ट्राभल एजेन्सीमा पुग्नुपर्छ। त्यहाँ पुगेपछि उनीहरूको काम सकिन्छ र सुरू हुन्छ विमानस्थल सेटिङको काम। त्यसपछि ट्राभल्सका कर्मचारीले एयरलाइन्स र अध्यागमनका कर्मचारीसँग सेटिङ गर्छन्।

अध्यागमनका कर्मचारीसँग कुरा मिलेपछि उनीहरूले दिएकै सिफ्ट र समयमा टिकट काट्न भनिन्छ। त्यसपछि उनीहरूले काउन्टर तोक्छन् र भिजिट भिसामा जानेहरूलाई तोकिएको काउन्टरमा जान भनिन्छ। सबै प्रक्रिया पुरा गरी कामका लागि खाडी जानेहरू भिजिट भिसाको नाममा जाने गरेका छन्।

प्रकाशित मिति: : 2022-08-24 21:21:00

प्रतिकृया दिनुहोस्