पूर्व लागुऔषध प्रयोगकर्ताहरूलाई जोड्दै सोबर 

‘सोबर रिकवरि कप’ फुटबल प्रतियाेगिता सुरु हुँदै (भिडियाेसहित)

सोबर रिकवरि उपचार तथा पुनर्स्थापना केन्द्रले ‘सोबर रिकवरि कप’ को आयोजना गर्ने भएको छ।

‘नशारहित पनि रमाउन सकिन्छ’ भन्ने नाराका साथ सोबरले चैत–२१ गतेदेखि ‘फुटबल टुनामेन्ट–२०२४’ को आयोजना गर्न लागेको हो।

पूर्वलागुऔषध प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता गर्न लागेको सोबरका संस्थापक छिरिङ वाङ्दीले बताए।

उनका अनुसार नेपाल अधिराज्यभरका पूर्वलागुऔषध प्रयोगकर्ताहरू खेलमा सहभागिता हुन पाउनेछन्।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले पूर्व लागुऔषध प्रयोगकर्ताहरूलाई जोड्ने बताउँदै उनले भने, ‘यो प्रतियोगितामा सहभागिता भएकाहरूले एकअर्कोलाई चिन्ने मौका पाउनेछन्। कति जनासँग आ–आफ्नै ट्यालेन्ट हुन्छ। त्यो ट्यालेन्टलाई पनि देखाउन पाइन्छ।’

विगतका वर्षदेखि फुटबल प्रतियाेगिताहरू हुँदै आइरहेको छ तर पहिलाेपटक सोबर रिकवरिले भने फरक किसिमको फुटबल टुनामेन्ट गर्न लागेकाे उनकाे भनाइ छ।

‘विगतमा भइरहेकाे फुटबल प्रतियाेगितामा पुरस्कार रकम कम हुन्थ्याे। र मानिसहरू जिल्लाहरूबाट आफ्नो खर्चर गरेर काठमाडाैं आउन मान्दैनन् थिए यसपटककाे प्रतियाेगिता भने विल्कुलै फरक हुनेछ’, उनले भने, ‘साेबरले  जिल्लाबाट आउने मानिसहरूको खाने र बस्नेको व्यवस्था मिलाउनेछ।’

कसरी हुन सकिन्छ प्रतियाेगितामा सहभागिता?

करिब १० लाखको बजेटमा आयोजना हुन लागेको फुटबल टुनामेन्टमा विभिन्न संस्थालगायत व्यक्तिहरूले सहयाेग गरेका छन्। 

जसमा गोकर्णेश्वर नगरपालिका, बौद्ध तामाङ कल्याण गुठी, काजु रग्स, कमल रग्स, नगरकोट फार्महाउस, हाइलाइफ फूड्स, बौद्ध स्कुलर क्लब, एसएस जुर्लस, दिनेश बस्नेत र प्रजेश शाह समावेश छन्। 

चैत–२१ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागिता हुने खेलाडीहरू व्यक्तिगतभन्दा पनि संस्थागत हुनुपर्छ।

‘हामीले एक टिममा ८ जना राखेका छौं। पाँच जना मैदानमा खेल्छन्, तीन जना एस्ट्रा बस्छन्’, उनले भने, ‘सोहीकारण हामीले व्यक्तिलाई भन्दा पनि संस्थालाई नै फोकस गरेका छौं।’

पूर्व लागुऔषध प्रयोगकर्ताहरूका लागि आयोजना हुन लागेको प्रतियोगितामा हालसम्म ४० टिमले सम्पर्क गरिसकेका छन्।

‘४० टिमले हामीसँग सम्पर्क गरिसक्नुभएको छ तर त्यसमध्ये कति जना आउनुहुन्छ । त्यसको यकिन छैन’, उनले बताए।

पहिलोपटक सोबरले आयोजना गर्न लागेको प्रतियोगितामा सहभागिता हुनका लागि एउटा फर्म भर्नु पर्छ। जसको मूल्य ६ हजार पर्छ।

 ‘म आफैंपनि पूर्व लागुऔषध प्रयोगकर्ता हुँ। त्यसैले यस्तो प्रतियोगितामा सहभागिता हुनुपर्छ’, उनी भन्छन्, ‘यो प्रतियोगिता हामी सबैजनाको लागि एउटा अवसर हो। यसलाई छोड्नु हुँदैन।’

कुनैबेला आफूपनि प्रतियोगितामा सहभागिता भएको स्मरण गर्दै उनले बिएल नेपाली सेवालाई भने, ‘त्योबेला पूर्व लागुऔषध प्रयोगकर्ताको लागि चार्ड जस्तो हुन्थ्यो प्रतियोगिता। १० वर्षसम्म नभेटिएका साथीहरूसँग भेट्न पाउँदा खुसी लाग्थ्यो। हामीलाई खेल्नु र हेर्नु नै रमाइलो हुन्थ्यो। तर पुरस्कार भने मात्र १० हजार थियो।’

खेलको अन्तिम चरणसम्म पुगिसक्दा खेलाडीहरूलाई दूध र अण्डा खुवाउँदैमा ८०–९० हजार सक्किने बताउँदै उनले भने, ‘जितेको पैसा भन्दा धेरै आफ्नो खर्च हुन्थ्यो। सोहीकारण हामीले नगद पुरस्कार बढाएका छौं।’

सोबरले आयोजना गरेको प्रतियोगितामा बिजेता टिमले ट्रफी, प्रमाण पत्रसहित नगद डेढ लाख रुपैयाँ पाउनेछन् भने फस्ट रनरअपले ट्रफी प्रमाण पत्रसहित नगद ७५००० प्राप्त गर्नेछन्।

पहिलाेपटक गर्न लागेकाे फुटबल टुनामेन्ट यस वर्ष सफल भए अर्काे वर्ष झनै ठुलाे प्रतियाेगिता गर्ने उनले बताए। 

प्रकाशित मिति: : 2024-03-12 16:00:00

प्रतिकृया दिनुहोस्