लोकतन्त्रका नाममा पार्टीतन्त्रको विचित्र अभ्यास भइरहेको छ: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्टीतन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाएका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताए।

सांसद एवं पूर्वमन्त्री साहले भने, ‘राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ। समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ। लोकतन्त्र दल र समूह हुँदै नेतामा सीमित बन्न पुगेको छ।’

देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरुको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उनले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताए।

जनतालाई केन्द्रमा राखी काम गर्ने इच्छाशक्ति भए जतिसुकै चुनौतीका बीच परिणाम दिन सकिने उदाहरण प्रस्तुत गर्दै साहले जनताकै सहयोगमा निर्वाचन क्षेत्रमा तीन सय किमी सडक बनाउन र २७ हजार घरपरिवारलाई ग्याससहितको चुलो वितरण गर्न सफल भएको घटना सुनाए।

जनउत्तरदायी, पारदर्शी र कर्तव्य पूरा गर्ने कार्यलाई उच्च महत्व दिने हो भने मधेसभित्रको दुर्गम भनेर चिनिएको आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास अरूका लागि उदाहरण बन्न सक्ने उनले बताए।

देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताउदै अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क राखे।

प्रकाशित मिति: : 2023-11-08 15:18:00

प्रतिकृया दिनुहोस्