आइतबार, ३१ मे २०२६

स्वतन्त्रताकाे मार्ग

सुधा अत्रि

सुधा अत्रि

म्यान्मार
News Image
• • •

आमाकाे सेवामा
अस्पतालमा बस्दै गर्दा 
हातमा एउटा अखबार लिएर
देशकाे गतिविधि नियाल्दै, के थिए-
क्रान्ति गर्न हिँडेका दर्जनाैं रक्ताम्य युवाहरू
अस्पतालकाे ढाेकासामु आए।

जीवनकाे अन्तिम पलसँग
जुध्दै गरेका ती असंख्य विद्यार्थीहरू 
आफ्नै समक्ष देखेर 
ममताकाे सागर र प्रेमकाे गंगा बग्दै गए।

असल सहयाेगीझैं 
एक -एकलाई उठाएर 
दिन-रात सेवामा लागेकी नारी।

म्यान्मार जनसमुदायकाे आग्रहमा
ईतिहासकाे त्याे अभिभार र त्याे कर्तव्य,
जाे आफ्ना पिताले लिएकाे
अपूर्ण ऋण पूरा गर्न,
जन्मभूमिकाे  कर्तव्य निभाउन,
राजनीतिकाे कठिन मार्गमा हिँडिन्।

जनताकाे विश्वासमा
राजनैतिक लहरकाे परीक्षामा
सफल बनेर पनि, 
षड्यन्त्रकारीहरूकाे जालमा भन्दा 
बरु पति र परिवारबाट 
टाढा बस्न नै स्वीकार ग-याै।

गृहबन्धनकाे साैगातमा
आफ्नाे घर-परिवारलाई त्यागेर,
राष्ट्र उन्नतिकाे सपना लिएर,
एउटा  सशक्त मानचित्र काेरेर,
आफ्नाे लक्ष्यमा जीवित सपना लिएकी राष्ट्रमाता !

उनीलाई दर्शन पाउन, 
सञ्चाे विसञ्चाे जान्न, 
शहिद दिवस वा उनकै पिताकाे पुण्यतिथीलाई
पर्खिनु पर्ने !

ईतिहासका पानाबाट हटाएर 
पिता अनि छाेरीकाे 
फाेटाेहरू जलाइदिएर,
एउटै फाेटाे निशानी राख्नु त कहाँ,
नाम मात्र लिए पनि 
राष्ट्रविद्राेही बनिनु पर्ने,
स्थितिमा जनताकाे मुटुभित्र बसेका तिम्रा तस्बिरहरू...

विद्यार्थीलाई कारागारमा
राम्राे खान नदिँदा 
आफू सत्याग्रह गर्ने 
ममतामयी राष्ट्रमाता।

गृहबन्दीबाट आएपछि 
उन्नतिका लहर लहराएपछि 
स्वतन्त्रताकाे मार्गमा कदम चाल्दै गर्दा
लञ्छना मुस्कुराएरै सही,
देश शङ्कटमा परेकाबेला
विदेशी पुरस्कारकाे माेहमा, 
आफ्नाे कर्तव्यबाट पछि नहटी 
मुस्कुराएर न्याैछावर गर्दै 
देशकालागि कट्घरामा
उभिन पनि  पछि नहट्ने। 

सिङ्गाे जातिकाे हत्यागर्न समर्थक भन्ने
लाञ्छनमा आफ्ना पुरस्कार साटेर 
देश बचाउने राष्ट्रमाता।

स्वतन्त्रताकाे मार्गमा
आज फेरि बन्दी भएकी छिन्,
कहाँ हाेलिन् ? के गर्दै हाेलिन् ? कस्लाई थाहा ?

उनकाे  प्रेमिल छाँया पाएरै हाेला 
जनतामा एकताकाे लहर आएकाे छ,
जातीय विभेदकाे पर्दा उठ्दैछ,
अनेकता भित्र एकताकाे फूल फुल्दै छ,
युवाहरूमा आफ्नाे कर्तव्यबाेध हुँदै छ।

अन्यायकाे विरूद्ध आवाज उठाउन मात्र हैन,
आवश्यक परे हत्यार उठाउन  पनि पछि पर्दैनन् देशका युवा,
सत्यताकाे अस्तित्व  राख्न 
सिक्दै छन्, आज म्यान्मारमा

जनशक्तिकाे उदाहरण कायम गर्दै 
नयाँ देश निर्माण हुँदै छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!