आज पानी परेको दिन, जाडो छ, आजको दिन च्यालेन्जिङ्ग छ भनेर धेरैको मुखबाट सुनियो। यस्तो बेलामा यसो जमघट भै हाल्छ, रक्सीको धेरै नै शौखिन र पारखी समेत भएकोले नेपालीमा यो सक्कली कि नक्कली रक्सी हो भनेर जाँच्न सक्ने अजीव विद्धता प्राप्त भैसकेको छ।
साथीहरूको माझमा बसेर, अरूले ल्याएको बोतललाई नखोलिकनै, बोतललाई हेरेर र छामेर मात्रै ‘ छ्या यो त नक्कली हो’ भनेर भन्न सक्दा साथीहरूको माझमा कत्रो फूर्ति हुन्छ, ‘वाह मान्छे भनेको यस्तो पो, खै म कहिले यस्तो पारखी बन्न सक्ने हो ?’ भन्ने हीनताबोध समेत अरूमा हुन्छ। मैले देखेका सक्कली कि नक्कली भनेर पत्ता लगाउन सक्ने केही विद्धताहरूः
• कुन पसलबाट किनेको त्यसबाटै सक्कली हो कि नक्कली बताइदिने (यति मात्र कहाँ हो र त्यो पसलेले कहाँ नक्कली रक्सी भर्छ भनेर रिफलिङ्ग गर्ने ठाउँसमेत बताइदिने)
• कहाँको ‘ड्यूटी फ्रि’ बाट ल्याएको थाह पाएर त्यसको क्वालिटी समेत बताउने।
• बोतललाई उल्टाएर पीँधमा हत्केलाले दुईचार पल्ट जोडले हानेर, त्यसको छचल्किएको झोल हेरेर सक्कली/नक्कली बताउने।
• रक्सीको ब्राण्ड र त्यो ब्राण्ड अनुसार हुनुपर्ने, त्यो बोतल भित्रको झोलको रंग फिक्का छ कि गाडा छ भन्ने हेरेर।
• बोलतलाई दुईचार पल्ट लगातार उल्टोसुल्टो पारेर त्यसको पिंधमा निस्केको फोकाहरू हेरेर।
• बोतललाई दुई हत्केलाले केहीबेर जोडले च्यापेर त्यसमा कति चाँडो तापक्रम परिवर्तन हुन्छ भन्ने हेरेर।
• बोतललाई गालामा केहीबेर टाँसेर।
• बोतलको बिर्कोको सिल (अन्तशुल्कले टाँसेको सिल होइन, जुन खोल्दा किटिट्ट भाँचिन्छ नि त्यो सिल), कसरी गरिएको छ गहिरिएर हेरेर।
• बोतलको टाउकोलाई उज्यालो बत्तितिर फर्काएर र पिँधबाट एक आँखा चिम्म गरेर अर्को आँखाले उज्यालोतिर हेरेर।
• बियरको लेबललाई उप्काएर, लेबल कस्तो गमले टाँसिएको छ भन्ने हेरेर।
यत्रो क्षमता हामी नेपालीबाहेक अरूमा बिरलै होला।
यो त भयो बिजुलीपानी नक्कली कि सक्कली भनेर थाहा पाउने क्षमताको कुरा। अब एक नेपाली विद्वानको बिजुलीसँग सम्बन्धित अर्को क्षमता पनि सुनाउँछुः
कालीगण्डकी हाइड्रोपावर प्रोजेक्ट बन्नु पहिले कुनै एक विद्वानले त्यहाँको पानीलाई अञ्जुलीमा उठाएर यसो दुईचार पल्ट तौले झैं तल माथि गरेर भने रे ‘यसबाट कम्तिमा १०० मेगावाट त निस्कन्छ नै’ ।
यस्ता अपूर्व क्षमता भएका दुवै क्षमतावानप्रति नमन गर्दै भन्छु ‘आज चिसो दिन, बेलुका तपाइलाई नक्कली नपरोस्, मज्जाले लागोस्।’