सेवा प्रवाह र शान्तिसुरक्षाबारे स्थानीय तहमा छलफल

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
file photo
file photo

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमा सेवा प्रवाह र शान्तिसुरक्षाका विषयमा छलफल थालेको छ।

जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ।

पनौती नगरपलिकामा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयबीचको सहकार्य र समन्वयमा सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका द्विविधालाई हटाउने र शान्तिसुरक्षा कामय गरी अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले छलफल गरिएको जानकारी दिइन्। उनले जिल्लाका अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा यसलाई लैजाने बताइन्।

‘जिल्लाको १३ वटा तहको एक सय ३५ वडाका जनप्रतिनिधिसँग नागरिकतालगायत स्थानीय तहबाट हुने सेवा प्रवाह, सिफारिस तथा शान्तिसुरक्षाका बारेमा अन्तरक्रिया गर्दै जानेछौँ’, शर्माले भनिन्।

उनका अनुसार नागरिकले स्थानीय तहबाट ल्याउने सिफारिसबाट जिल्ला प्रशासन कार्यालयले दिने सेवामा असुविधा हुन नपाओस्, सिफारिस गर्दा नागरिकलाई हुन सक्ने असहजताको समाधानका लागि अन्तरक्रियाको आवश्यकता देखिएको हो।

दोहोरो नागरिकता लिने, वंशज तथा अन्य प्रकृतिको नागरिकता लिँदा विवरण झुटो बनाउन सक्ने भएकाले स्थानीय तहबाट सिफारिस हुँदा वडाअध्यक्षहरु सचेत रहनुपर्नेमा शर्माले जोड दिइन्।

कार्यक्रममा प्रशासनबाट हुने सेवा प्रवाहमा नागरिकका गुनासा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा अन्य विषयका बारेमा जानकारी गराइएको उनले बताएकी छन्।

पनौती नगरप्रमुख रामशरण भण्डारीले कानुन बनाउने अधिकार स्थानीय तहमा भए पनि त्यसको कार्यान्वयन जिल्ला प्रशासनले गर्ने भन्दै स्थानीय तह र प्रशासनबीचको सहकार्यले सेवा थप प्रभावकारी हुने बताए।

नगर उपप्रमुख गीता बञ्जाराले नागरिकले प्रशासनबाट पाउने सेवालाई अझै सहजीकरण र सरलीकरण गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहबाट गरिने सिफारिस स्वार्थरहित हुनुपर्नेमा जोड दिइन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले पनौती नगरको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी दिँदै अपराधलगायत जुवातास नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए।

छलफलमा नगरका वडाध्यक्षले नागरिकता सिफारिस गर्दाका व्यावहारिक कठिनाइका विषयमा प्रश्न गरेका थिए। जिल्ला प्रशासन कार्यालयबाट नागरिकता सिफारिस र प्राप्तिका विभिन्न पक्षबारे प्रस्तुति गरिएको थियो।

प्रकाशित मिति: : 2023-11-08 14:17:00

प्रतिकृया दिनुहोस्