ओडारमा हामी सबै जना लस्करै सुत्यौँ।...
असोज १२ गते बिहानै उठेर नित्यकर्म गरियो। चिया सातु खाइयो र नास्तामा साँझको भात बचेको हुनाले फ्राई गरी खाने कुरा भयो। सोही अनुसार भात दाल एकै ठाउँमा राखेर डिल्किना (तिन तिरबाट ढुङ्गा राखी त्यसमाथि भाडा राखेर मुनिबाट आगो बाल्न सकिने प्राकृतिक चुल्हो)मा आगो बालियो। मुनितिर लागेको कुरौनी खाने उद्देश्यले भात बेस्सरी तताउन भनियो। कुरौनी खाँदाको घाँडो त्यो ट्यांका आफै धुनुपर्ने भयो।
भाडाभरि तातो खरानी राखेर खाेलातिर हिँडियो, खोला नजिकै थियो। खाेलाकाे पानी यति थियाे कि के कुरा गराैँ, हैट। तर, भाँडा साविकको भन्दा धेरै चम्काएर ल्याएँ। साथमा भाँडोमा पानी भरेर पनि ल्याइयो। रिञ्जेन दाइ बिहानको खाना बनाउन तिर लाग्नुभयो। हामी आगो ताप्दै झोला कस्न थाल्यौँ। दाइले हामीलाई दिउँसको लागि हामीलाई तीन वटा ढेस्सु (फापरको बाख्लो रोटी) पोलिदिनुभयो। बिहानको खाना सबेरै खाएर सवा ८ बजे शे गुम्बाको लागि टोली अगाडि बढ्यो। रिञ्जेन दाइले हामीलाई अलि वरसम्म छोडिदिनुभयो, किनभने खोलाबाट सिधै अगाडि र माथि जाने बाटोमा झुक्किने रहेछ। हामी रिञ्जेन दाइसँग छुट्टिएर खोलै खोला उकालो लाग्यौँ। हाई क्याम्पतर्फ। रिञ्जेन दाइको न्यानो आतित्थ्यता हाम्रो मन मुटुमा सदाका लागि बस्यो।
खोला तर्दै कहिले उता हाम्फाल्दै कैहिले यता तर्दै बिस्तारै अगाडि बढ्यौँ। रमाइलो गर्दै फोटो खिच्दै दिउँसको सवा १२ बजेतिर हाइ क्याम्पमा पुग्यौँ। त्यहाँ हामीले ढेस्सु खायौँ। तीन जनालाई १ वटा भागमा पर्याे। बाँडेर खानुको मज्जा बेग्लै। त्यस ठाउँमा सानो झरना पनि थियो। कहिले कान्जिरोवा हिमश्रृङ्खला त कहिले नजिकको झरना हेर्दै ढेस्सु खायौँ। अख्खा उकालो बल्ल सुरु हुँदै थियो। खुट्टा थाकिसकेका थिए, यस बेलासम्म हामी ४५ सय मिटरभन्दा माथि पुगिसकेका थियौँ। बिस्तारै उकालो चढ्ने क्रम सुरुभयो।
उकालोमा खच्चड लिएर २-३ जना ओरालो झर्दै थिए। उहाँहरु शे'बाट फोक्सुण्डोतर्फ जाँदै हुनुहुन्थ्यो। पौने २ बजेतिर हामी ५००० मिटरको उचाईंमा पुग्यौँ र एकछिन आराम गरौँ भनेको आधा घण्टाजति सबैजना मस्त निदाएछौँ। हामी सबैजनाको फोक्सो अक्सिजन अभावले रन्थनिन थालिसकेको थियो। त्यहाँबाट माथि हेर्दा त झन् उकालो ७० डिग्रीभन्दा ज्यादा भिरालो बाटो रहेछ। हाम्रो ट्रेकको उच्चतम उचाईमा पुग्ने बाटो लगभग ५४ सय मिटर उचाईको थियाे, नाङ्गला पास। उकालो हेर्दै मन भारी भईसकेको थियो। खुट्टामाथि टेक्दा तल झर्थे, एण्टीग्राभिटीमा उक्लन शरिरमा थप बल थिएन।
३ सय मिटर उकालो चढ्न साढे ३ घण्टाभन्दा ज्यादा समय लाग्यो। सबैजना अगाडि–अगाडि थिए, म र उत्तम भाइ सबैभन्दा पछाडि थियौँ। नाकले मात्र श्वास फेर्न सक्ने अवस्था नै थिएन। मैले मुखले तान्दा पनि शरीरलाई आवश्यक पर्ने मात्राको अक्सिजन लिन सकिरहेको थिईनँ। अझ डरलाग्दो कुरा लगभग ५३ सय मिटरको उचाइमा पुगेपछि मलाई बान्ता भयो। हाई क्याम्पमा खाएको फापरको रोटीको हरियो पानी फालियो।
मन आत्तियो तर पनि सँगैका भाइ उत्तमलाई हौसला दिईरहेँ। भाइलाई पनि म जत्तिकै गाह्रो भएको थियो तर बान्ता गरेनन्। अब तल झरौँ बाटो तेत्रो टाढा छ, कहाँ जाने, के खाने, कहाँ बस्ने ? अझै माथि उक्लौँ झन् गाह्रो हुने डर। हामी भन्दा ३-४ महिनाअघि यहीँ उकालोमा लेक लागेर एकजना नेपालीको शे पुग्दा मृत्यु भएको भनेर फोक्सुण्डोमा कुरा गर्दै गरेको झल्झली सम्झन थालेँ। साथै सगरमाथामा अक्सिजन नलिएर चढ्ने शेर्पाहरुलाई।
अब कुल देवता सम्झनु बाहेक अर्को विकल्प म सँग थिएन, मनमनै सम्झिएँ। म जस्तो हिँडिरहनेलाई यसरी साह्रै गाह्राे त नहुनुपर्ने हो तर खै एकदमै गाह्राे भयाे। केही साथीहरु पासमा पुगिसक्नु भएको थियो, हामीलाई लिन भनेर करन र मोहन भाइ बीचमा कुरेका थिए। हामी अर्थात् म र उत्तम भाइ भने हात खुट्टा छोडेर लखतरान भएर उकालोमा बसेका थियौँ। यत्तिकैमा एक जना दाइले हामीलाई पानी र लौरो दिनुभयो। अगाडि गएका साथीहरुले हामीलाई दिनुहोला भनेर शे'बाट फर्किँदै गर्नुभएका दाइलाई दिनुभएको रहेछ।
त्यो दाइले भन्नुभयो,'यसरी बस्यो भने चिसो हावाले हानेर झन् थकित बनाउँछ, लेक चढ्न थप गाह्रो हुन्छ। तपाईंंको साथी पासमा कुरिरहेका छन्, बरु बिस्तारै १ इन्चको पाइला नरोकी चाल्नु, अब धेरै छैन।'
सोहीअनुसार हामीले पनि नरोकी बिस्तारै उकालो चढ्यौँ। त्यो दाइको कुराले अच्चम्मकै प्रेरणा मिल्यो। उहाँको हुनुहुन्थ्यो थाहाँ भएन तर भगवान बनेर आएको जस्तो लाग्यो। उत्तम भाइको गह्राै झोला हामीलाई बीचमा कुरेका मोहन भाइले बोके। मैले त सानो झोला बोकेको थिएँ। हामी १० मिनेटमै पासमा पुग्यौँ। पासमा (५३४६ मिटर) पुगिसकेपछि एकछिन फोटो/भिडियो खिचेर सिधै ओरालो लाग्यौँ। बाटो घुमाउँरो थियो तर म सोझै दौडेर तल झरेँ, लगभग ४०० मिटर तल। अनि अलि–अलि फूर्ति आइगो। सबै सपना चकनाचुर भएका थिए: त्यो पासमा खिच्ने भनेको हिउँचितुवा पोज, सेण्डाे मात्रै लाएर फोटो खिच्ने सिग्नेचर पोज, सब गयो।
पासबाट ४ सय मिटर शे पट्टी तल झरिसकेपछि चाउचाउ खाएर शे गुम्बातर्फ अगाडि बढ्यौँ, त्यतिबेला ५ बजिसकेको थियो। केहीबेर ओरालो झरेपछि आकाशमा चन्द्रमा देखिसकेको थियो। चन्द्रमा हेर्दा पूर्णिमा अब २ दिन भन्दा टाढा थिएन। ओरालो झर्दै गर्दा कुराकानीमा थाहाँ भयो, सिर्जना बहिनीलाई जहाँ तल ओडारमा बस्ने दिन बिहानको खाना खाने समयमा असहज भएको कुरा। यस्तो अवस्थामा पनि दु;ख कष्ट नभनी हामीभन्दा जोशका साथ त्यत्रो उकालो सजिलै काटेर अझै ५-७ दिनको हिँडाईमा उत्सुकताका साथ हिँड्ने बहिनी सिर्जना र विपनालाई सलाम। सँगै सम्झेँ, नेपालतिरकि त्रिपत्रे फेमिनिष्ट र महिला अधिकारकर्मीहरु जुन डलरले रुपैयाँ थिच्दै बजारमा विकिनी वेक्सिङ्ग गर्न तछाडमछाड गरिरहेकी छन्।
साँझ ७ बजेतिर शे गुम्बा वारीपट्टी रहेको चौरी गोठमा पुगियो। तातो पानी पिउँदै गफिदै गर्दा खाना पाक्यो। त्यहाँ बास पाउन शेर दाइले गरेको संघर्षपछि मात्रै थाहाँ पाईयो, हाम्रो टोली ठूलो भएकाले बस्ने प्रवन्ध कतै थिएन।
खाना खाइसकेपछि शेरबहादुर दाइको बेस्सरी टाउको दुखिरहेको थियो। बोकेका सिटामोल बाहेक अन्य उपाय थिएन। हामी सबै थाकेको हुँदा एक शब्द नबोली वरिपरि ३-४ फिटको पर्खाल भएको माथिबाट सेतो प्लास्टिकले ढाकिएको ग्रीन हाउसमा लस्करै सुत्यौँ। चौरी गोठमा बसुञ्जेल साग खानको लागि बनाईएको थियो। बाहिरभन्दा तातो र सबै थकित भएकोले निदाएको पत्तै भएन। घ्यामघार र यहाँको टनेल सुताइले निन्द्रासँग ओच्छ्यानको कुनै सम्बन्ध नहुने प्रमाणित भयो।........