डाेल्पाे यात्रा संस्मरण- ४

घ्यामघार अर्थात् ‘मिलियन स्टार’को बसाइँ

भोलि उठी कहाँ जाने केही थाहाँ छैन……

असोज ११ गते रिग्मोबाट शे गुम्बाको लागि टोली अगाडि बढ्यो।

थाहा थियो, एकै दिनमा शे पुग्न सकिँदैन। त्यसैले त्यो साँझ कतै बीचमा बास बस्नुपर्छ भन्ने जानकारी आयो। बिहानै साथी मनबहादुर दुनैको बाटोतिर एक्लै तल ओर्लिए भने बाँकी ९ जनाले चिया/सातु खाएर तालको छेउछेउ हुँदै उकालो चढ्यौं।

हामीले अघिल्लो दिन ताल राम्रोसँग हेर्न नपाएकोले फोटो खिच्दै ताल हेर्दै थिन्लेको चौरी लडेर तालमा खसेको ठाउँमा टक्क पाइला रोकिए। बाटो उस्तै थियो, काठको चेपा लगाएर त्यसमाथि ढुङ्गा बिछ्याइएको। त्यहीँ माथि हिँड्नुपर्ने। दायाबाँया भए सिधै तालमा खसिने।

रिग्मो गाउँमा अलिअलि सोलार बत्तीहरु बाहेक अरु हुने कुरा भएन। प्रत्येक घरधुरीले सायद एक पाउ यार्सा छुट्टयाएको भए तालको छालबाट समेत विद्युत निकाल्न सकिन्थ्यो।

सिरसिर चलिरहने हावाले स्थानीयका गाला र ओठ मात्रै फुटाउँथेन होला। करेन्ट पनि पैदा गर्थ्यो। हेलीमा सिमेन्ट ओसारेर भएपनि पूर्वाधार विकास गर्न तम्सेका डोल्पाली जनताको मौनतामा हजारौं प्रश्नहरुको उत्तर भेट्टीन्थ्यो।

म हिजो दुनैबाट सिधै फोक्सुण्डो पुगेकाले खुट्टालाई धेरै तनाब दिने पक्षमा थिइनँ। एकदमै बिस्तारै सबैभन्दा पछाडि उकालो चढेँ। उकालोमा बनेको पतिक्षालय नजिकै सबैले आराम गर्‍याैं र अगाडि बढ्यौं।

त्यो दिनको व्यवस्था कस्तो थियो भने हामीलाई त्यो साँझ र भोलि बिहानसम्मको खाना/सामलको व्यवस्था रिग्मोबाटै भएको थियो। हामी रिग्मोमा जुन होटेलमा बसेको थियौं, सोही होटेलकै रिन्जेंन दाइले हामीलाई चाहिने सबै सामान (सुत्ने समते) दुई ओटा घोडामा बोकाएर बिहान खाना खाने ठाउँ अर्थात् तालको माथिल्लो छेउ छल्लोफोगुमा हामीलाई भेट्टाउनुभयो।

हाम्रो लागि बिहानको खाना पनि उहाँले नै छल्लोफोगुमा रहेको पाल/टेन्टमा (लेकमा चौरी/भेडा च्यांग्रा हेर्ने) अर्डर गरिसक्नुभएको रहेछ। हामी बिहानको करिब १० बजे त्यहाँ पुगिसकेका थियौं। पालकी दिदीले तरकारी पकाउँदै हुनुहुन्थ्यो। हामीले चिया तातोपानी खाँदै ताल छेउमा फोटोहरु खिच्दै रमायौं।

तालछेउ फोटो खिच्ने क्रममा पानीको छालले लस्करै लाएर मरेका सलह किरा देखियो। सलह यहाँसम्म पनि पुगेछ भनेर चर्चा भयो। मैले पुग्नेबित्तिकै चिसो पानी, तातो चिया अनि तातो पानी एकैसाथ खाइदिएको पेटलाई काण्ड पुगिसकेछ। खाना रुचेन। अपितु दाल पिएर चौरमा पल्टिन निस्किएँ।

मलाई जस्तै सिर्जना बहिनीलाई पनि साह्रै गाह्राे भइरहेको रहेछ। गाह्राे सहनुको विकल्प त्यहाँ थिएन। साथीहरुले टोली प्रमुख शेरबहादुर दाइबाट खाना खानुअघि लौरो चलाउने आत्मरक्षा कला सिकेँ।

मैले ५४ सय मिटरमाथि पुगेपछि फोटो खिच्ने भनेर हिउँचितुवा पोजको अभ्यास गरेँ। खाना खाएर करिब सवा १२ बजेतिर हामी अगाडि बढ्यौं। बाटो तेस्रै तेस्रो भएकोले खुट्टा हर्षित थिए। केहिबेर हिँडिसकेपछि काञ्जिरोवा हिमशृंखलाका केही हिमालहरु देखिन थाले। हाम्रो टोली रमाउँदै फोटो खिच्दै लगभग ४ बजेतिर बास बस्ने ठाउँ 'घ्यामघार' पुग्यो। त्यहाँको स्थानीय भाषामा यसको अर्थ सेतो ढुङ्गाको ओडार (गुफा) हो।

हामी अझै ३ घण्टा हिंड्न सक्ने हुँदा हुँदै पनि अगाडि बास बस्ने ठाउँ नभएकोले यतै बस्नुपर्ने थियो। सबै मिलेर सुकेका प्राय: भोजपत्रका दाउरा संकलन गर्‍याैं र रिन्जेन दाइले मिठो कफी खुवाउनुभयो। कफी, चाउचाउको सुप, आलु पोलेर/उसिनेर खाँदै हाम्रो सांगीतिक साँझको आरम्भ म बाट भयो।

‘आगो बल्यो दाउराको नास भयो, आज हाम्रो ओडारको बास भयो। बाग्लुङ्ग बजारमा………….’

जीवनमा जाने जतिका सबै गीत गाइयो, दोहोरी खेलियो, खुबै रमाइलो भयो।

मिठो दाल, भात, तरकारी खाएर आगो ताप्दै बस्यौं। करन भाइ र विपना बहिनीको दोहोरिलाई उत्कृष्ट घोषणा गर्दै रुकुमेली वन प्राविधिक समाजले करन भाइलाई सम्मान गर्‍याे।

करन भाइ रिटायर्ड भएपछि बोहरा फुटबल क्लबको प्रशिक्षक हुने अभिलाषाका साथ रातभरी सुत्न नै सकेनछन्। एकाएक त्यो ओडार ७ तारे होटललाई उछिन्दै मिलियन स्टारमा परिणत भयो।

त्यहाँबाट सिंगो आकाशगंगा देखिन्थ्यो। ताराहरु हाम्रो दोहोरीका साक्षी थिए। दोहोरी सुनेर काञ्जिरोवा पग्लने सम्भावना टट्कारै थियो। १२ बज्दा पनि दोहोरी नसकिएपछि टोली प्रमुखले हस्तक्षेप नै गर्नु परेको थियो। 

सुत्दै, उठ्दै आगो ताप्दै त्यो रात बित्यो। कोही ३ बजेतिर उठेर आलु पोलेर खाँदै थिए। जीवनकै एक ऐतिहासिक क्षणको बयान जति गरेपनि कमै हुन्छ। ओडारमा हामी सबै लस्करै सुत्यौं………………..।

(लेखक कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनकाे डाेल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)

डोल्पो यात्रा संस्मरण- १

बाइकमा सरर डाेल्पा जाने धुन


 

डोल्पो यात्रा संस्मरण -२

हामी पनि हुइक्यौं बुइनी दुनै बजार...


 

डोल्पो यात्रा संस्मरण–३

‘हामीलाई जसरी पनि एकै दिनमा रिग्मो पुग्नु थियो’

 

प्रकाशित मिति: : 2022-01-29 14:06:00

प्रतिकृया दिनुहोस्