डोल्पो यात्रा संस्मरण–३

‘हामीलाई जसरी पनि एकै दिनमा रिग्मो पुग्नु थियो’

तेजेन्द्र रावल

फोक्सुण्डो
Breaknlinks
Breaknlinks

असोज १० गते बिहान साढे ५ बजेतिर फोक्सुण्डोको यात्रा तय गर्‍याैं। सुलीघाट हुँदै खोलैखोला तेर्सो बाटो भएर ६ बजे निकुञ्ज कार्यालयको बोर्डमा फोटो खिच्दै हामी अगाडि बढ्यौं। निकुञ्ज कार्यालयमा कोही पनि नउठेको भएर होला इन्ट्री गर्ने ठाउँमा काेही थिएनन्।

निकुञ्जका रेन्जर आदरणीय अक्षय दाजु त अघिल्लो टोलीसँग फोक्सुण्डोमै हुनुहुन्छ भन्ने खबर पाएका थियौं। हामीलाई त्यो दिन यति हतार भएछ कि म दुनैबाट चप्पलमै यहाँसम्म हिंडिसकेको रहेछु। अलि माथि हिंडिसकेपछि अघिल्लो दिन बाटोमा पुरै भिजेको जुत्तामोजा बाहिर प्लास्टिक बाँधेर लगाएँ।

लगभग ७ बजे तिर कागनीभन्दा अलि तल चिया खाने कुरा भयो। तातोपानी मागेर खाँदै चिया कुर्‍याैँ। बालुवा मिश्रित पानीलाई बालुवा कपको पिँधमा थिग्रिन दिएर माथिको पानी पियौं। बालुवा हुनुको कारण अघिल्लो दिन खोलाको पानी धमिलो भएकोले रहेछ।

चिया पाक्यो। एउटा कुकिज पनि माग्यौं र खाएर अगाडि बढ्यौं। ललितपुरमा बनेको ४० रूपैयाँ पर्ने कुकिजलाई २०० तिरेर अगाडि बढ्दै गर्दा बोकेको पैसाले फोक्सुण्डो पुगिन्छ त भनेर आफैँबीच ठट्टा गर्‍याैं। ठट्टा नगरे मन फुरूङ्ग हुँदैन। मन फुरूङ्ग नभए हिँड्न सकिँदैन।

बाटोभरी हलक्कै बढेका गाँजाका बोट देखेर कलेजका साथी सम्झेँ। मन किन किन खिन्न भयाे। छेउमा कलकल बग्दै खेर गइरहेको खोलाको पानी, ठाउँ सबै अन्धकार। करिब ४६ करोड टन गाँजाका रेशाहरू, नाङ्गा बनाइएका मान्ठहरू। भो व्यक्तिगत अनुभूतिका कुरा कमै गरौं।

कागनीबाट अलि माथि हिँडिसकेपछि शे–फोक्सुण्डो गाउँपालिकामा प्रवेश गर्‍याैं। नजिकै बाटोमा एक लघु जलविद्युतको गृह हुँदै ९ बजे छेप्का पुग्यौं। ११ बजे छेप्कामा खाना खान पुगिन्छ भन्थे। हामी ९ बजे नै त्यहाँ पुगेकोले खाना खाने कुरा पनि भएन।

कर्णाली प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन गरेबापत संघीय सरकारले १८ दिन थुनामा राखेका नोर्बु दाईसँग भेटघाट र परिचय भयो। सत्ताले उहाँमाथि कस्ताे चरित्र देखायो? त्याे सत्ताले नै जानाेस्। त्यहाँ उहाँको होटेल पनि रहेछ।

तातोपानी खाएर भलाकुसारी गर्दै २ प्याकेट चाउचाउ झोलामा राखेर हिँड्न लागेको बेला नोर्बु दाइले ४/५ वटा गाँजर दिनुभयो। त्यहिँनेरको धारोमा ठुलो ट्यांकामा स्याउ राखेको देखेपछि मन थाम्न कहाँ सकिन्थ्यो र? ५० रूपैयाँमा ५ दाना स्याउ किनेर बोकेका थियाैं। त्यसले खाना खाने ठाउँ रयाचीसम्म बुटीको काम गर्‍याे। हिंडेर २ दिन लाग्नेहरूको लागि साँझ बास बस्ने ठाउँ थियो, रयाची। अलि चाँडो हिंड्ने सालजिनी वा हाइस्कुलसम्म पुग्ने रहेछन्। 

हामीले रयाचिमा दिउँसो १ बजेतिर खाना खायौं। हामीसँगै खाना खानेमा जाजरकोटको नलगाढ जलविद्युत आयोजनाका इन्जिनियरसहित जना–४ (भक्तपुर तिर घर भएकी २ दिदीहरू) पनि हुनुहुन्थ्यो।

दिउँसाेको २ बजे खानापछि रिग्मो पुग्ने गरी पुन: उकाली चढियो। हिंड्दै जाँदा पलम भन्ने ठाउँमा झाेलुंगे पुल तर्न खोज्दा निकुञ्ज सुरक्षाका लागि खटिएका आर्मी साथीहरूले रोकेर सोध्नुभयो, 'कहाँ जाने?', मैले भनेँ, 'फोक्सुण्डो।' (त्यसोभए) बाटो देखाउँदै, 'यो तलको बाटो जानुहोस्। त्यो बाटो होइन', भन्नुभयो। सोही निर्देशन पालना गर्दै केहीबेरमा सालजिनी पुग्यौँ।

त्यहाँबाट हाइस्कुल हुँदै केहीबेर हिंडेपछि फोक्सुण्डाे ताल पुग्ने खास उकालो बल्ल देखियो। उकालोमा सौभाग्यले नाउरको एक झुण्डको दर्शन गर्न पाइयो। केहि भागेपनि गोटा ४ को भिडियो खिच्न सफल भयाैं।

उकालोको बीचमा प्रतिक्षालय पनि बनाइएको रहेछ। त्यहाँ केहीबेर थकान मेटाएर पुन उकालो लाग्यौं। त्यहाँबाट भिम गुफा स्पष्ट देखिन्थ्यो। केहीबेरको उकालो हिंडेपछि अघिल्लो टोलीसँग गएको निकुञ्जको ३ जना साथीहरू तल फर्किँदै गरेको देखियो। अक्षय दाई पनि बिस्तारै ओरालो झर्दै हुनुहुन्थ्यो र अगाडिको टोलीको बारेमा सबै जानकारी गराउनुभयो।

त्यहाँबाट देखिन्थ्यो, फोक्सुण्डो झरना। झरनाको आनन्द लगभग २० मिनेट लिइसकेपछि छेउको बाटो ‘ओहो! अह! हुँदैन! हुँदै हुँदैन! सार्है डरलाग्दो।’ साँझ भएर पनि होला ठूलो झोला पछाडि ठेस लाग्यो भने मान्छे सीधै झरना चुम्न पुग्ने।

'क्याराभान' फिल्ममा थिन्लेले काठको चेपा लगाएर बीचमा ढुङ्गा राखी त्यहीमाथि हिंड्ने गरेको सत्य रहेछ। बाटो दुरूस्तै फिल्मकाे दृश्यसँग मेल खाने थियो। त्यो कटिसकेपछि भने मज्जाको बाटो लगभग १५–२० मिनेट हिंड्दा रिग्मो पुगियो।

अघिल्लो टोलीको एक पात्र अर्थात् मेरो हितैसी मित्र मन बहादुर हामीलाई कुरिहरेको थियो। तीजमा आमाले छोरी आउने बाटो हेरेको जस्तै। उमाथि नजाने निश्चित थियो। केवल मसँग एकरात बिताउन साथी फोक्सुण्डोमै बसेको थियो।

झोला होटेलमा राखेर मधुरो भएपनि ताल हेर्न निस्कियौं। ताल ३ हजार ६ सय ११ मिटरको उचाइमा अवस्थित छ। साँझको साढे ६ बजिसकेको थियो। एकछिनमै फर्कियौं र अघिल्लो टोलीका सबै पात्रहरूसँग परिचय गर्‍याैं।

टोलीमा अगाडिदेखि नै परिचित शेरबहादुर दाजु र सृजना बहिनी अनि उतै चिनजान भएका मोहन, मिलन, करण, सुरज भाई र बिपना बहिनी। बिपना र सुरजसँग अगाडि नै भेट भएको तर खुलेर चिनजान नभएको। त्यसबेला हामी सबै खुल्याैं।

अनि जम्यो टोली। धेरै पछि भेट भएको मन बहादुरलाई साह्रै जाडो भएकोले एकछिन रमाइलो गरी खाना खाएर सुत्ने निर्णय १० सदस्यीय टोलीले गर्‍याे।

भोलि कहाँ जाने? कसरी जाने? सबैको चिन्ता गर्ने जिम्मा टोली प्रमुख शेरबहादुर दाजुले लिइसक्नु भएको हुँदा अरूले बस हिंडिदिए मात्र पुग्थ्यो। जे होस् एकै दिनमा दुनैबाट हिंडेर समयमै रिग्मो पुगियो भनेर हामी मख्ख थियौं। अरू जिल्ल परेका थिए। भाेलि उठी कहाँ जाने, केही थाहा छैन..!

प्रकाशित मिति: : 2022-01-23 17:10:00

प्रतिकृया दिनुहोस्