भाइरल तरकारी आम्मै

दानव बनेर आए नगरप्रहरी, भगवान बनेर गए सामाजिक अभियन्ता

महानगरले फेर्दियाे जिन्दगी

दीप सुवेदी

काठमाडाैं

‘गाई त बाध्यौं ढुंग्रोमा मोही छैन, मोही छैन 
    गरिवको चमेली बोल्दिने कोही छैन’ 

उति वेला क्रान्ति गर्ने बेलामा जनगायक रामेश र रायनकाे गरिवको पीडा बोल्ने यो र यस्तै गीत गाउँदै बजाउँदै सामाजिक जागरण, राजनीतिक चेतना फैल्याउने कम्युनिष्टहरु अहिले सरकारमा छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको बस्न राज्यले बालुवाटारमा कराैँडाे खर्चिएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि शितल निवासमा राख्न राज्यले कोशीको नदी जसरी पैसा बगाइदिएकाे छ। महलभित्र केही कुराकाे कमी छैन हाेला सायद उनीहरुलाई।

खुमलटार र भैसैपाटीका कमरेडहरुकाे त कुरै छाड्दिम। आखिर लख काटेर पनि पाउने के नै हाे र?

बेलाबेला प्रधानमन्त्री ओलीज्यूकाे बढाे ठूलाे भाषण जान्छ,खानलाई मात्रै कसैले काम गरिरहनु पर्दैन। सरकारले ओछ्यानमै खानालाई ल्याइदिन्छ।’ अर्का कमरेड पुष्पकमल दाहाल प्रचण्डकाे त के कुरा गर्नु। उनी त नेपाललाई स्वीजरल्यान्ड बनाउने सपना देखाउदै हिँडेका छन्।

माथिका कमरेडहरुकाे कुरा सुनेर तपाईलाई लाग्ला म कुन देशमा छु? धैरै कम्फियूज’ नहुनुस्। तपाई स्वीजरल्यान्डमा सुतिसुति याे लेख पढिरहेका हुनुहुन्छ, उनीहरुकाे भाषण अनुसार।

अब कमेरडलाई साइडमा राखेर कुराेकाे चुराेमा जाऔँ। जति नै राज्यले खाेक्राे आदर्शकाे कुरा गरेपनि माथिका गीतकाे शव्द झैँ गरिवका बाेल्दिने काेही हुने रहेनछन्।

समय: मंगलबार दिउँसो ३ बजे
स्थान: सुकेधारा

मध्य सडकमा नगरप्रहरीहरुले ठेलागाडा उठाएर गाडिमा हाल्दैछन्। उक्त ठेलागाडा ‘छोडदिनु न, एकचोटीलाई’ भन्दै उमेरले नेटाे काढेकी एउटी वृद्धा आँखा आशु निकालेर बिन्ति गर्छिन। उनी गाडीमा हाल्दै गरेको ठेलागाडा खोस्न झम्टिरहेकी थिइन्। तर बलिया नगरप्रहरीका अगाडी उनकाे केही लाग्दैन।

उनी निन्हाउरो अनुहारसहित फर्किन्छिन, आँशु पुछ्दै। वृद्धाले भन्दै छिन्, ‘मेरो घर छैन, राख्ने ठाउँ छैन’।

त्यही भिडियोमा केही मानिसहरु नगरप्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्,‘छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिवलाई गरिखान नदिने है?’ तर नगरप्रहरीले उनको बिन्ति सुन्दैनन्। 

गाडी हुइकिन्छन् खाेज्छ। वृद्धा पछिपछि। मानाैं चाेर पुलिसकाे खेल भइरहेकाे छ, जसमा चाेरले प्रहरीलाई भेट्दैन। तर यहाँ कथा फरक छ। चाेर प्रहरी र प्रहरी चाेरकाे भूमिकामा छन्, बिल्कुल फिल्मकाे स्क्रिप्ट जस्तै।

फिल्ममा जस्तै गाडी हुइकिन्छ, ती वृद्धा हत्केलाले आशु पुछ्दै फर्किन्छिन्। उनी भन्छिन्,‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कऔरा ! घरमा राखेको ठेला पनि किन समातेको?’

नगरप्रहरीले एक महिलाको तरकारी बेच्ने ठेलागाडा उठाएर लाग्दै गरेको भिडियो अहिले सामाजि सञ्जालमा भाइरल छ। यो भिडियो सुकेधारा चोकमा गरिएको हो कैद।  

मंगलबार दिउँसो ३ बजेतिर पुगेका नगरप्रहरीले ती महिलासहित सडकमै आफ्नो जीविका निर्वाह गरिरहेकाको रोजिरोटी खोस्न लाग्छ।

नगरप्रहरी सामु निरीह बाख्रो जस्तै बनेर बिलौना गर्ने महिला हुन्, ६१ वर्षीया मञ्जु कुँवर क्षेत्री।

भक्तपुरमा २०१६ सालमा जन्मिएकी थिइन् मञ्‍जु। उनले २३ वर्षकी हुँदा यतै एकजना युवासँग प्रेम विहे गरिन्। तीन सन्तान जन्मिएपछि उनका श्रीमानले २१ वर्ष अगाडी अर्कैसँग विहे गरे।

अहिले श्रीमान कहाँ छन् के गर्छन्, कुनै अहिले पत्तै छैन उनलाई। अब श्रीमानको साथ पाउला भन्ने मनमा आश नभएको उनी बताउँछिन्।

तीन छोरामध्ये दुईजना बिहे गरेर आफ्नो गृहस्थी गरिरहेका छन्। अहिले उनीसँग एकजना छोरा छन् बुढेशकालकाे लाठ्ठी। उनीहरु अहिले सुकेधारको सुकुम्बासी बस्तीको एउटा छाप्रोमा बस्छन्। 

कोरोना महामारी बन्नुअघिसम्म उनी होटलमा काम गर्थे। यसबीच उनले जागिर गुमाए। छोराको पनि जागिर गएपछि उनलाई जीविकोपार्जन गर्न गाह्रो भएको थियो।

उनले लकडाउन अगाडिसम्म आफ्नो जीविका चलाउन कलंकीमा चिया बेच्थिन्। कोरोना महामारी फैलिएपछि चिया खाने ग्राहक आउन छोडे। त्यसपछि उनलाई आफ्नो दैनिकी चलाउन गाह्रो भयो।

उनले व्यापार परिवर्तन गरेर सुकेधारा आसपासमा ठेलागाडामा तरकारी बेच्न थालिन्। त्यस अगाडि उनले मकै बेच्थिन्। तर थोरै मात्रमा मकै बिक्रि हुने भएकोले मञ्जु तरकारी बेच्न थालिन्। उनले बिहान २ बजे उठेर बापाइपास गएर तरकारी ल्याउथिन्।

‘पाँच महिनायता त्यही ठेला सडकमा गुडाउँदै तरकारी बेचिरहेकी थिएँ। तरकारी किन्‍न बिहान २ बजे नै कालिमाटी तरकारी बजार पुग्थे। तरकारी किनेर फर्किसकेपछि बिहान ९ बजेसम्म बेच्न गर्थे,’ उनी सम्झिन्छिन्।

तरकारी बेचेर हुने आम्दानीले उनले घर बालेकी थिइन्। उनी र छोराको जीवन सहारा नै त्यही ठेला थियो। मञ्जु  बुढेसकालमा गाडा ठेल्दै व्यापार गर्नु आफ्नो बाध्यता भएको बताउँछिन्।

‘सरकारले काम दिएको भए यो उमेरमा गाडा ठेल्ने रहर मलाई कहाँ हुन्थ्यो र ?, ’ उनले बिएल नेपाली सेवासँग भनिन्।

काठमाडौंमा पेट पाल्नै गाह्रो भएपछि दशैँअघि १०  हजार रुपैयाँमा त्यो ठेला जोडेकी थिइन्। उनले त्यही ठेलामा बिहान–बेलुका सागसब्जी बेचेर जीविका चलाइरहेकी थिइन्।

छाप्रोमा बस्ने भएकोले तरकारी बेच्ने ठेलागाडा राख्ने ठाउँ थिएन। त्यसैले सडकको छेउमा ठेलागाडा राख्छिन्। उनले ठेलागाडा राख्ने स्थान सडक भएपनि त्यहाँ गाडि पनि चल्दैनन्। न त त्यो ठाउँबाट पैदल यात्री हिड्छन्।

त्यसैले मञ्जुले ठेलागाडा त्यहाँ राख्दै आएकी थिइन्। त्यस दिन दिउँसो उनले ठेलागाडा त्यहीँ सडक छेउमा राखेकी थिइन्। त्याे दिन मञ्जु ठेलाकै नजिक थिइन्। चर्काे साइरन बजाँउदै आए एक हुल नगरप्रहरी। उनी ठेलकै नजिक पुगिन्। उनलाई नसाेधि नगरप्रहरीले उनको गाडा उठाएर गाडिमा हाले।

 ‘मेरो ठेलाले सवारी आउन जान बाधा पुर्‍याएको पनि थिएन,’ उनले भनिन्, ‘तर प्रहरीहरूले गाडीमा हालेर लगे।’

त्यसो त काठमाडौंका बिभिन्न ठाउँमा यसरी ठेलागाडा र फूटपाथमा व्यापार गर्नेहरुलाई नगरप्रहरीले सँधैजसो लखेट्ने, उनीहरुका सामान खोस्ने, फेरि बस्ने नियमित दृष्य बनेको छ। 

भोलिपल्ट बुधबार मञ्जु नगरप्रहरीले लगेको ठेला खोजी गर्दै सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय पुगिन्। त्यहाँ पुग्दा हिजो प्रहरीले खोसेर लग्दिएको आफ्नो ठेलागाडा देख्दा मन भक्कानियो। त्यो उनको ज्यान पाल्ने एउटा मात्रै साधन थियो।  

‘घाम मधुरो भएपछि मान्छेहरु पनि अफिसबाट फर्कन्छन्। त्यसपछि घरघर ठेला गुडाउँदै तरकारी बेच्थेँ,’ मञ्जुले भनिन्, ‘त्यसदिन खाली ठेला सडकमा राखेकी थिएँ। तिनीहरु आएर उठाएर लगे।’

आफ्नो गल्ति नहुँदा पनि महानगरले ठेलागाडा खोसेकोमा चित्त दुखेको छ, म फाटेको छ मञ्जुकाे। तर अझै पनि उनले आफ्नो गरिखाने भाँडो फर्किने आश मारेकी थिइनन् उनले। आफ्नो ठेलागाडा फिर्ता दिन्छन् कि भनेर उनलाई आश थियो।

उनले प्रहरी कार्यलय पुगेर आफ्नो ठेलागाडा फिर्ता गर्न भन्दै रुन्चे स्वरमा अनुरोध गरिन्। तर प्रहरीले उनको ठेलागाडा फिर्ता दिएनन्।

‘जरिवाना तिरेर ठेला फिर्ता पाउने सोचेर ऋण काढेर महानगरको कार्यालयमा पुगेकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँका कर्मचारीहरुले मेरो कुरै सुनेनन्। कहिले रिसाउथे त कहिले कुटुम्ला झै गर्थे’

उल्टो झपारेर लखेटेकाे उनी बताउँछिन्। उनलाई याे पीडा थामिसक्नु भएन। एक त ठेलाकाे चिन्ता अर्काे के गरि खाने भन्ने साेच।

यस्तै कुरा मनमा खेलाउँदै उनी आफ्नो डेराम फर्किन्। उनलाई के गरि खाने भन्ने चिन्तालाले सताउन थाल्याे। ‘विरक्त लागेको छ। भात पनि खान मन लागेको छैन,’ मञ्जुले सुनाइन्, ‘त्यही ठेलाको भरमा पेट पालेकी थिएँ।’

उनलाई अहिले पनि ठेलागाडा फिर्ता गरेर बेचौला भनेर ल्याएको तरकारीकाे झलझलि याद आउछ। जीविका चलाउने त्यही एउटा ठेला पनि खोसिएपछि निकै पिर परेको छ, मञ्जुलाई।

उमेरले ६१ वर्ष पुगेकी मञ्जु शारिरिक रुपमा कमजोर छिन्। उनलाई वाथ रोगको समस्याले सताई रहन्छ। अहिले औषधी बनेकाे छ लाठी। एक दिन औषधी नखाइ उनलाई बस्न गाह्राे हुन्छ। औषधी लिनु उनकाे चाहना हाेइन बाध्यता हाे।

‘एक दिन औषधी प्रयाेग नगरे उठ्न सक्दिनँ। न त हात पाउ नै चलाउन सक्छु। अस्पतालले दिएको औषधी खाँदै काम गरिरहेकी छु,’ उनले भनिन्।

उनी घुडा दुख्ने समस्याको कारणले २ वर्ष छाप्रोमै बस्नु परेकाे कुरा पनि सनाउँछिन्। ‘धेरै औषधी खाएँ, अहिले दुखाइ कम भएको छ, घर बसेर खाना पाइँदैन। त्यसैले सकिनसकी ठेलागाडामा तरकारी बेच्न थालेकी थिएँ,’ उनी भन्छिन्। 

महानगरले फेर्दियाे जिन्दगी

अहिले मञ्जुकाे झुप्राेमा काेही न काेही समाजसेवी पुगेकै हुन्छन् भगवान् बनेर। उक्त भिडियाे भाइरल भएपछि बिभिन्न अभियान्ताहरुले सामाजिक सञ्जालमै हातेमालाे गर्दै रकम उठाउन थालेका थिए। 

शुक्रबार मध्यरातसम्म हातमा ६ लाख ४० हजार परेकाे उनले बिएल नेपाली सेवालाई सुनाइन्।

भिडियाे हेरर र तपाईहरु जस्तै मिडियाहरुले गरेर सहयाेग रकम पाइरहेकाे छु। काेहिले कल गरेर ढाड्स दिरहनुभएकाे छ। काेही यहाँ आएर रकम दिएर जानुहुन्छ,’  खुशी हुँदै उनले सुनाइन्।

उनकाे नाममा अझै सामाजिक सञ्जालमा पैसा उठाउने क्रम राेकिएकाे छैन। उनलाई भावी दिनमा महानगरले यस्तै दु:ख नदियाेस् भनेर अभियान्ताहरु सुरक्षित ठाउँमा राख्दिन अर्थिक सहयाेग माग गरिरहेका छन्। नेपालमा र विदेशमा हुने सहयाेगी मनहरुले रकम जम्मा गरिरहेका छन्, यसकाे नेतृत्व गरिरहेका छन् पूर्वसचिव भीम उपाध्यय र इशा गुरुङ जस्ता अभियान्ताले।

तर सामाजिक सञ्जालकाे पहुँच नभएकाे मञ्जुलाई केही थाहा छैन। हातमा टिकटिके माेबाइल छ। म मलाई कसरी रकम उठिरहेकाे छ भन्ने थाहा छैन,’ उनले भनिन्।

उनी प्राप्त गरेकाे रकम तरकारी पसलमै लगानी गर्ने सुनाउँछिन्। उनलाई पुन: सडकमा नगरप्रहरीकाे अपशब्द सुन्नु छैन। न त उनमा त्यस्ता शब्द सुन्ने क्षमता नै बाँकी छ। अब उनलाई उनी सिर ठाडाे बनाएर हिँड्नु छ।

पहिला पैसाकाे अभाव थियाे। अब जाेहाे भएकाे छ। एक ठाउँमा पसल खाेलेर बुढाे हड्डिलाई विश्राम दिने साेचमा छु,’  उनले भनिन्।

 

प्रकाशित मिति: : 2021-01-16 09:29:00

प्रतिकृया दिनुहोस्