नेपालको इतिहासका पानाहरु पल्टाउँदै जाने हो भने मानिसहरुका लागि शिक्षा एउटा अपरिचति व्यक्तिजस्तै लाग्न सक्छ। हरेक गाँउ समाजलाई रुपान्तरण गर्न, केही न केही नयाँ आयामहरु दिन केही त्यस्ता व्यक्तिहरुको जन्म भएको हुन्छ। जसले आफ्ना व्यक्तिगत इच्छा, चाहनालाई व्यवास्था गर्दै समाजमा केही न केही गरिरहेका हुन्छन्।
त्यही अपरिचित व्यक्ति समाज र समाजमा रहेका हरेक व्यक्तिलाई मार्गदर्शन गराउने मेरो आफ्नै गाँउ, साविक जुम्ला जिल्ला गर्ज्याङ्गकोट गाविस हाल गोठीचौर गाउँपालिकाका वृद्ध व्यक्ति हुनुहुन्छ, बुधे बुढा।
साविकको जुम्ला जिल्ला गर्ज्याङ्गकोट गाविस वडा- १ हाल गोठीचौर गाउँपालिका- ३ मा वि.सं २००५ साल जेठ महिना ९ गते बुबा तिलचन्द्र बुढा र आमा दीपा बुढाको कोखबाट माइलो सन्तानको रुपमा जन्म भएको थियो, बुधे बुढाकाे।
उहाँ सानैदेखि समाजमा भएका खराब प्रवृतिका मानिसहरुको विरोध गर्ने र समाजमा केही न केही नयाँ परिवर्तन ल्याउन पर्छ भन्ने साेचकाे हुनुहुन्थ्यो। त्यसको लागि मानिसले व्यक्तिगत इच्छा, चाहना तथा स्वार्थलाई त्यागेर अगाडि जानु पर्दछ भन्ने स्वाभावको उहाँमा थियाे।
तीन भाइ र तीन बहिनीको माइलो उहाँ शारीरिक रुपमा अपाङ्ग भएर जन्म लिएका उहाँकाे स्वास्थ्यबारे बुबा आमाले सधैं चिन्ता लिने गर्नुहुन्थ्याे। अति दु:खमा हुर्केका उहाँले जन्म भएको ६ वर्षको उमेरमा आमालाई गुमाउन पर्यो।
आफ्नो जीवन-साथी गुमाएपछि उनका बुबालाई घरको काम धन्दाले बच्चाहरुलाई समय दिन समय समयमा हेरचाह गर्न कठिन भयो। त्यसको असर उहाँमा पनि पर्न गई सानो उमेरमा आमाको मायाबाट बन्चित भएका बुबाको मायाबाट पनि बन्चित हुन पर्यो।
हरेक कुरामा अपठ्याराहरु आए पनि त्यतिबेला उहाँ आफूले लिएको बाटो थियो पढाइलाई कहिले पनि विचलित हुन दिनु हुन्न भन्ने। उहाँले त्यसलाई निरन्तरता दिनु पनि भयाे।
जति खेरको समयमा शिक्षा आर्जन गर्न कठिन थियो। साथै सानै उमेरमा आमा गुमाएका उहाँकाे पढाइलाई निरन्तरता दिएर पढ्न कठिन थियो। तथापि, उहाँले कहिले मेलापात, कहिले गोठालो त कहिले वन-पाखा गर्दै आफ्नो पढाइलाई कमी हुन दिनु भएन। आफ्नाे पढाइलाई निरन्तरता दिँदै कक्षा ८ पास गर्नुभयाे।
त्यतिबेला कक्षा ८ पास गरेपछि शिक्षकको तालिम लिएर शिक्षण पेशामा आउन मिल्थ्याे। सोही अनुरुप तालिम लिएर शिक्षक बनी गाँउमा शिक्षा दिई आफूजस्तै दु:ख पीडामा भएका मानिस र समाजलाई शिक्षाको माध्यमबाट परिवर्तन गरी समाज रुपान्तरण गर्नु पर्दछ भन्ने मान्यता राखेर उहाँ शिक्षकको तालिम लिने सोचाइमा पुग्नुभयाे।
सोही अनुरुप शारीरिक रुपमा समस्या भएका उहाँ अशक्तताको कत्ति पनि प्रवाह नगरेर पाल्पाको तानसेनमा शिक्षकको तालिम लिन जानुभयाे।
तालिम लिएर गाउँमा आई शिक्षक बनी शिक्षाको ज्योती दिने एउटै मात्र सोच थियाे, उहाँकाे। नभन्दै पाल्पाबाट तालिम सकेर गाउँमा आई शिक्षक बन्ने अवसर प्राप्त गर्नुभयाे। त्यसपछि उहाँकाे शिक्षण यात्रा सुरु भयाे।
शिक्षक बनिसकेपछि उहाँले त्यतिबेला जुम्ला जिल्लाका विकट क्षेत्रका अँध्यारा गाउँ-बस्तीलाई उज्याला बनाउने गरी काम गर्नुभयाे। उहाँले पाइला टेकेका गाउँहरु अहिले पनि विकट छन्। तर, उहाँले दिएकाे शिक्षाकाे ज्याेति हालसम्म निभेकाे छैन।
शिक्षाको पहुँचबाट टाढा रहेका गाउँहरुमा शारीरिक समस्या भएर हिँड्नसमेत समस्या झेल्नुहुन्थ्याे। तथापि, आफ्नो शारीरिक समस्याको प्रवाह नगरी जुम्लाको विकट बस्तीमा जान रुचाउनु हुन्थ्याे। शिक्षा के हो? शिक्षक के हो? थाह नै नभएकाे जिल्लामा सेवा सुविधा कस्ता थिए हाेलान? तथापि, कठिन भूगाेल भएका ठाउँहरु प्रथामिक विद्यालय रिनी, प्रथामिक विद्यालय कमु, प्रथामिक विद्यालय गोठीगाँउ र हालको त्रिभुवन मा.वि. त्यतिबेलाको त्रिभुवन प्राथामिक विद्यालय झारज्वालामा शिक्षक भएर शिक्षा दिनुभयाे।
जीवनका हरेक कठिनाइहरु छिचोल्दै हरेक चुनौतीको सामना गर्दै, दुर दराजमा शिक्षाकाे ज्योती छर्दै गाँउमा केही गर्नुपर्छ, समाज शिक्षित भए मात्र गाँउ समाज रुपान्तरण हुन्छ भन्ने मान्यता राखेका उहाँ वि.सं २०२४ सालमा आफ्नै गाँउमा आएर श्री शंकर प्राथामिक विद्यालय नामको विद्यालय स्थापना गर्नुभयो। जुन विद्यालय अहिले माध्यामिक भइसकेको छ। गाउँमा विद्यालय खोलेर त्यहीँ आफू पनि शिक्षण कार्य सुरु गर्न थाल्नुभयाे।
शिक्षण कार्य सुरु गर्दै गाउँमा भएका हरेक बालबालिका तथा समाजलाई शिक्षा दिन सुरु गरेका उहाँले वि.सं. २०२९ साल असोज ५ गते २५ वर्षको उमेरमा वैवाहिक जीवन सुरु गर्नुभएको थियाे। हाल उहाँका दुई सन्तान छन्। वैवाहिक जीवन सँगसँगै समाज र गाँउलाई शिक्षा दिन लाग्नुभयाे।
शिक्षा दिएर गाँउ समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राखेका उहाँका लागि परिवार भन्दा कलिला विद्यार्थी प्यारा लाग्थे। उहाँ समाज गाउँ ठाउँको विकास र शिक्षा दिन व्यस्त भएर समाजमा परिवर्तन ल्याउन पहल गरिरहनुहुन्थ्यो। उहाँले पढाएका धेरै मानिस अहिले विभिन्न पेशामा सक्रिय छन्।
कतिले राजनैतिक क्षेत्रमा जिल्लाको नेतृत्व गरेका छन्। कति सामाजिक क्षेत्रमा प्रशानसनिक अब्लता कायम गरिरहेका छन्। उहाँ करिब ४० वर्ष शिक्षण पेशामा लाग्नुभयाे। त्यतिखेरको कहालीलाग्दो समय र परिस्थितिमा कठिन मेहनत परिश्रम गर्दै शिक्षाको ज्योती प्रवाह गरेका उहाँ ४० वर्षपछि ०६३ सालमा सेवाबाट निवृत्त भएर गाउँमा बसिरहनु भएकाे छ।
गाउँ समाजलाई शिक्षाको माध्यमबाट उज्यालो छर्न तल्लीन बुढा राज्यको विभिन्न स्थानबाट सम्मानित हुनुभएको छ। साविको गा.वि.स जिल्ला शिक्षा कार्यालयलगायत हरेक क्षेत्रबाट पुरस्कार प्राप्त गर्नुभएको छ। सेवा निवृत्त जीवनपछि अहिले उहाँ गाउँमा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ। समाजका हरेक परिवर्तनसँग, समाज परिवर्तनका हरेक पल र अवस्थासँग हातेमालो गर्दै गइरहनुभएको छ।
सानै उमेरमा आमा गुमाएका, बुबाको मायाबाट बन्चित भएका शारीरिक रुपमा समस्या झेलेका, हिँड्न कठिन हुने हुँदाहुँदै पनि, कहालीलाग्दो चुनौतीपूर्ण अवस्थामा शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्न पर्दछ भन्ने अठोटबाट पछि हट्नु भएन।
कठिन मेहनत र संघर्ष गर्दै समाजमा शिक्षाकाे दियाे बालेर योगदान दिएका उहाँबाट हामीले गर्न खोजेमा नहुने केही छैन। संसारमा असम्भव भन्ने केही छैन। असम्भव भनेकाे लगनशीलता, मेहनत, अठोट र निरन्तरता आदिको कमी हो भन्ने कुराकाे ज्ञान मिल्छ।
हामीले समाज गाउँ-ठाउँ परिवर्तन गर्नको लागि सकरात्मक सोच, अठोट, निरन्तरता, समाज परिवर्तनको भावना लिएर अगाडि बढेमा कुनै पनि समस्या र चुनौतीको सामना गर्न सकिन्छ भन्ने प्रेरणाको श्रोत उहाँ हाे।
(लेखिका रावल गुठीचौर गाउँपालिका- ३ कि बासिन्दा हुन्। हाल उनी जे.आर. कर्णाली बोडिङ्ग स्कुलमा कक्षा ७ अध्ययनरत छिन्।)