रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति पुगेकाे छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

स्व रिजालको १३औँ दिनको पुण्य तिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले स्व रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गरेको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे।

सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएको बताए। सभापति देउवाले स्व रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे।

रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गरे। सभामा सहभागी कांग्रेसका नेताहरूले स्व रिजाललाई स्मरण गर्दै उनका अपूरा काम सम्पन्न गर्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे।

वडाध्यक्ष रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको हो। विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए। सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्व रिजालले मानव अधिकारवादी सङ्घसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए।

प्रकाशित मिति: : 2023-09-19 18:32:00

प्रतिकृया दिनुहोस्