‘जनतासँग माओवादी’ अभियान सुरु गर्दै प्रचण्डले भने– हामी सुध्रिन चाहन्छौँ

नेकपा (माओवादी केन्द्र)को  ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु भएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडाबाट प्रमाधनमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान सुरु भएको घोषणा गरे। 

अभियानको उद्घाटन गर्दै प्रचण्डले जनता परिवर्तनको पक्षमा रहेको र त्यसको नेतृत्वले माओवादीले मात्र गर्ने बताए। ‘जनता परिवर्तनको पक्षमा छन्।  सुशासनको पक्षमा छन्,’ उनले भने, ‘देशको परिवर्तन माओवादीको नेतृत्वमा मात्र सम्भव छ।’

प्रचण्डले पार्टीका गल्तीहरु स्वीकार गरेर आत्मआलोचित गर्दै जनतामा जानुपर्ने बताए। ‘जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ। हाम्रो कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौं र हामी सुध्रिन चाहन्छौं,’ उनले भने, ‘त्यसका लागि अभियानसहित तपाइको घरदैलोमा छौं।’

उनले सिंगो पार्टी एक ढिक्का भएर अगाडि बढ्ने हो भने पार्टीका अगाडि भएका सबै चुनौति पार गर्न सकिने बताए।

आउने २०८४ को निर्वाचनलाई लक्षित गरी माओवादीले अभियान सञ्चालन गरेको हो। अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने छ। 

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ।

उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ। माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ।

प्रकाशित मिति: : 2023-09-02 09:52:00

प्रतिकृया दिनुहोस्