अन्नपूर्ण पदमार्ग

लकडाउनले जन्माएकाे ‘छोम्रोङ अर्गानिक फर्म’ जहाँ हुर्किदै छन् सयाैँ कालिज [तस्वीरसहित]

दुई वर्ष लामो लकडाउनले चारैतिर ठप्प भयो। सवारीदेखि आउजाउमा रोक लगाइयो। यस्तोमा पदयात्री आउने त कुरै भएन। सधै जसो पदयात्री पर्खेर बस्ने अन्नपूर्ण पदमार्ग (एबिसि)का व्यवसायी खालि–खालि भए।

यहाँको मुख्य व्यवसाय पर्यटन। पर्यटक नै नआएपछि व्यवसाय सुख्खा। लगभग दुई वर्ष लामो लकडाउनले यहाँका पर्यटन व्यवसयी ठूलो मारमा परे। ‘लकडाउनले पाहुनाहरु पनि आएन। यहाँको मुख्य व्यवसाय भनेको नै पर्यटन हो,’ व्यवसायी जगनरास गुरुङले सुनाए,‘पाहुनै नआएपछि के को पर्यटन।’

लकडाउनले पदयात्री आउन ठप्प भएपछि यहाँका केही गरौं भन्ने सोच भएका पर्यटन व्यवसायीको समूहले केही गर्ने सोच बनायो। अनि जन्मियो ‘छोम्रोङ अर्गानिक फर्म’। यो फर्ममा अहिले ७ सय कालिज हुर्कि रहेका छन्। ‘हाल्ने बेलामा ८ सय जति हालेको। अहिले बचेको ७ सय ४९ जति होला,’ गुरुङले सुनाए।

छोम्रोङको तल्लो भागमा रहेका यो फर्मलाई ठ्याक्कै जंगलकै जस्तो स्वरुप दिइएको छ। कालिजलाई जङ्गलमै हुर्के जसरी खेल्ने ठाउँहरु पनि बनेको छ। ‘जंगलको घाँसपात, किराफट्याङ्ग्रा खाँदै हुर्किरहेका छन्,’ व्यवसायी जगनरासले अघि सुनाए,‘कालिज जङ्गलमै पाइने जात पनि भएको हिसाबले हामीले उपयुक्त वातावरण बनाएका छौं।’

व्यवसायीक रुपमा गरिएको कालिज पालनमध्ये यो नेपालकै पहिलो अग्लो उचाईंमा गरिएको कालिज पालन पनि हो। २१ सय ७० मिटरको उचाईंमा गरिएको कालिज पालन सम्भवत नेपालमै छैन। ‘अग्लो उचाईमा गरिएको व्यवसायीक कालिज पालन यो नै पहिलो होला। किनभने अरु ठाउँमा हिमाली भेगतिर गरेको भनेर सुनिएको छैन,’ उनले भने।

फूर्सदको समयको सदुपयोग गरेर थालिएको व्यवसायीक कालिज पालनले कालिज मात्रै होइन। कृषि सम्बन्धि अन्य उत्पादनमा पनि जोड दिने लक्ष लिएको छ। ‘छोम्रोङ अर्गानिक फर्मले कालिज मात्रै होइन। कृषि उत्पादनसँग सम्बन्धित अरु पनि काम गर्ने हाम्रो योजना छ,’ फर्मका अर्का शेयर धनी आकाश गुरुङले भने।

सकभर अर्गानिक उत्पादन पस्केर पाहुनाहरुको मन जित्ने आफूहरुको उद्देश्य रहेको उनले बताए।

अन्नपूर्ण गाउँपालिका– ११ मा पर्ने अन्नपूर्ण बेसक्याम्प पुग्न पोखरा हुँदै कास्कीको नयाँपुल, हुँडु, मत्क्यु, झिनु, छोम्रोङ हुँदै ३ दिन लाग्छ। अन्नपूर्ण पदमार्गको अप्पर सिनुवादेखि माथिल्लो भागमा मासु निषेध गरिएको छ। विषेश गरी बफ, पोर्क निषेध छ।

गुरुङ जातिले मान्ने देउता पुजनियम बराहकै कारण बेसक्याम्प अहिलेसम्म सुरक्षित रहेको र माथिल्लो भेगमा काटमार गरे अनिष्ट हुने प्राचिन कथ्य छ। तर, पदमार्गको दोभान, सिनुवा, छोम्रोङ लगायतका ठाउँसम्म भने मासु निषेध छैन।

कालिज फर्म सञ्चालनमा ल्याउदासम्म ७० लाख लगानी पुगेको शेयरधनी जगनरास गुरुङले बताए। अहिले ५ महिनामा हुर्किदै गरेका कालिज ७ महिनापछि बिक्री गर्न तयार हुने उनले सुनाए।

प्रकाशित मिति: : 2021-10-25 21:03:00

प्रतिकृया दिनुहोस्