जुम्लामा ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ अभियान सुरु

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुम्लाले 'घरघरमा माओवादी, जनजनमा माओवादी' भन्ने अभियान चलाउने भएकाे छ। अभियान तीन महिनासम्म लगातार चल्ने जुम्ला माओवादीले जनाएकाे छ।

अभियान नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुम्लाको भदाै १२ गते बसेकाे विस्तारित बैठकबाट निर्धारण गरिएकाे जिल्ला इन्चार्ज छिमी लामाले बताए। उनका अनुसार अभियान २०८० भदौ १६ गते एकै साथ देशभर र जुम्लाका ६० वटावडामा अभियानको उद्घाटन हुने र मंसिर १५ गते सम्पन्न गरिनेछ।

'पछिल्लो समय नेकपा माओवादी नेतृत्वकाे सरकारले गरेकाे राम्रा काम जनतामाझ लिन याे अभियान सञ्चालन गरिएकाे हाे,' जुम्लामा आयाेजित एक पत्रकार सम्मेलनमा उनले भने, 'इतिहासमा पहिलाेपल्ट माओवादी नेतृत्वकाे सरकारले जनपक्षीय काम गरेकाे छ। जनताकाे अपेक्षा पूरा गर्न तत्पर सरकालाई जनताले अपनत्व लिने वातावरण बनाउन अभियानले भूमिका खेल्नेछ।'

उनका अनुसार अभियानले जनपक्षीय काम गर्दै समाजवादकाे बाटाेमा जाने वातावरण बनाउन र जनताका समस्याहरुलाई राष्ट्रिय मुद्दा बनाउन भूमिका खेल्नेछ। उनले थपे, 'भ्रष्टाचार र कमिशन याे सरकारकाे सबैभन्दा ठूलो समस्या हाे। अभियानले याे आतंकलाई जनतामाझ पुगाउनेछ।'

उनले केन्द्र सरकारले भ्रष्टाचारविरुद्ध ठूलो अभियान चलाएकाे र यसलाई स्थानीय स्तरसम्ममा समेत भ्रष्टाचार न्यूनीकरणमा भूमिका खेल्ने बताए।

पार्टीले पालिकास्तरमा केन्द्रका नेतालाई जिम्मेवारी दिएकाे छ। कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिंजामा प्रभात चलाउने, हिमामा गोविन्द तिमिल्सिना, तिलामा झक्कुप्रसाद घर्ती, तातोपानीमा विरवहादुर रावत, गुठीचौरमा रत्न गाह, पातारासीमा डा.कलबहादुर रोकाया र चन्दननाथ नगरपालिमा विर्खबहादुर थापालाई जिम्मेवारी दिएकाे छ।

प्रचण्ड सरकारले भ्रष्टाचारका ठूला फाइल खाेलेपछि जनतामा आशा पलाएकाे हुनाले यसलाई क्यास गर्न माओवादी केन्द्रले अभियान सञ्चालन गरिरहेकाे छ। अभियानकाे अवधिभर सरकारको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा पुर्‍याइने बताइएकाे छ।

माओवादी जुम्लाका अनुसार तीन महिने अभियान तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरण वडामा केन्द्रित गर्ने, दोस्रो चरण पालिकामा केन्द्रित गर्ने र तेस्रो चरणमा जिल्लास्तरमा सम्पूर्ण गतिविधि केन्द्रित गर्ने।

प्रकाशित मिति: : 2023-08-31 12:03:00

प्रतिकृया दिनुहोस्