सरकारको स्वामित्वमा रहेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हत्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यापारिक घराना अरुण चौधरीलाई पक्राउ गर्यो।
उनी पक्राउ पर्दा अन्य बेलाभन्दा केही अनौठा परिघटनाहरु भए।
अरुणलाई पक्राउ गरेर अदालत नपुर्याउँदै माथिल्लो तहका व्यक्तिहरु नै शक्ति केन्द्र धाउन सुरु गरिसकेका थिए।
भने, एकातिर केही व्यापारीहरु अरुणलाई पक्राउ गरेकोमा सरकार र प्रहरीलाई गाली गर्ने तयारीमा जुट्दै थिए।
काठमाडौँ जिल्ला अदालतले बिहीबार साँझसम्म अरुणसहित, बाँसबारी जुत्ता तथा छाला कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायाणसिंह थापा र च्याम्पियत फुटवेयरका सञ्चालकमध्येका एक संजय ठाकुरलाई चार दिन थुनामा राखेर किर्ते कागज तथा ठगी मुद्दामा अनुसन्धान गर्न अनुमति दियो।
चार दिनको म्याद थप हुन साथ अन्य ब्यापारीहरुले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा पत्रकार सम्मेलन गरेर अरुणलाई पक्राउ गरेकोप्रति प्रहरीको आलोचना र सरकारप्रति असन्तुष्टि पोखे।
अरुण चौधरीलाई सामान्य मानिसहरुलाई जस्तै पक्राउ गर्नु सरकारको गल्ती भएको उनीहरुको ठहर थियो।
ब्यापारीहरुलाई यसरी पक्राउ गर्नुले ब्यापारीहरुको उत्साहमा आघात पुग्ने र देशको अर्थतन्त्र नै खलबलिने उनीहरुको भनाइ थियो।
उनीहरुले देशका कानुनमाथि नै प्रश्न उठाएर ब्यापारीहरुलाई यसरी तर्साउने काम गरे आन्दोलन गर्ने चेतावनीसमेत दिए।
अरुण चौधरी नेपालका एकमात्र अर्बपति विनोद चौधरीका भाइ हुन्। उनी विनोद चौधरी अध्यक्ष रहेको सिजी ग्रुपका सदस्य पनि। त्यसमाथि नेपाली काँग्रेसका सांसदसमेत रहेका विनोदले पैसा र पहुँचको भरमा राज्यलाई नै प्रभावमा पार्न सक्छन्। र, पार्दै आएका पनि छन्।
चौधरी घरानाको त्यही प्रभावका कारण होला अरुण चौधरीलाई पक्राउ गर्नबारे सल्लाह गर्न पुगेको सिआइबीको अगाडि गृहमन्त्री नारायणकाजी खुट्टा कमाएका थिए।
त्यसपछि सिआइबी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुग्यो।
प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई सोधे।
देउवाले ‘ग्रिन सिग्नल’ दिए।
विनोद चौधरीले भने आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे काँग्रेस संसदीय दलकाे बैठकमा आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरे।
सिआइबीको टोली अरुणको घरमा पुग्यो।
अरुण पक्राउको विषयलाई लिएर सिआइबी र सरकारमाथि चर्काे दबाब आइरहेको प्रहरी स्रोत बताउँछ।
‘अरुण’हरुलाई पक्राउ गरेको बारेमा जानकारी दिन सिआइबीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेको थियो।
त्यसक्रममा एक पत्रकारले सिआइबी अधिकृतलाई सोधे, ‘अरुण चौधरीलाई पक्राउ गरेपछि ब्युरोमा माथिबाट दबाब आइरहेको छ भन्ने सुनिन्छ, साँच्चै हो?’
प्रश्न असान्दर्भिक भएको भन्दै सिआइबी अधिकृतले जवाफ दिएनन्।
लैनचौरस्थित सिआइबीको नयाँ भवनमा पत्ररकार सम्मेलन सकेर बाहिरिँदै गर्दा फेरि पत्रकारहरुले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यसँग कुराकानी गरे।
‘हिजो पत्रकार सम्मेलन गरेर व्यापारीहरुले आपत्ति जनाए, तपाईंहरुको पनि विरोध गरे, अब आन्दाेलन गर्ने भन्दैछन्’, पत्रकारले भनेका थिए।
सधै उज्यालो अनुहारसहित प्रस्तुत हुने एआइजी बज्रचार्य आज भने मलिन थिइन्। तर, पनि उनले खुलेरै भनिन्, ‘भाेलि सबैले यसैगरी विराेध गर्लान्, चोरहरुले आन्दोलन गरे भन्दैमा चोरहरुलाई पनि छोड्नु?’
यसबाट प्रष्ट हुन्छ, चौधरी घरानालाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन र सिआइबी अर्थात्, नेपाल प्रहरी सक्षम छ, मात्र अन्य निकायबाट हस्तक्षेप हुनु भएन।
किन पक्राउ परेका हुन् अरुणहरु?
चौधरी घरानाले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गरेर सिजी चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ। जब कि त्यो जग्गा २०४३ साल भदौ १० गते दाइ विनोद चाैधरीको निर्देशनमा भाइ अरुणले वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा हत्याएका थिए।
बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन हाकिम अजितनारायण सिंह थापाले सत्ता र शक्तिको आडमा बाँसबारीको सरकारी जग्गा ‘चौधरी ग्रुप’लाई गैरकानुनी रुपमा सुम्पिएका थिए।
अजितनारायण पञ्चायतका हस्ती सूर्यबहादुर थापाका काकाका छोरा हुन्। सूर्यबहादुरकै निगाहमा उनले पञ्चायतमा अनेक लाभदायक पद पाएर यस्ता कुकृत्य गरेका थिए। चौधरी ग्रुपलाई हुर्काउन बढाउन पनि सूर्यबहादुरको ठूलो योगदान रहेको स्वयम् विनोद चौधरीले नै आफ्नो आत्मवृतान्तमा स्वीकारेका छन्।
सिआइबीले बिहीबार बाँसबारी छाला तथा जुत्ताका कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष थापालाई समेत पक्राउ गरिसकेको छ।
जुत्ता उत्पादन गर्ने सर्तमा कब्जा गरेको बाँसबारीको सरकारी जग्गामा अहिले ‘दाइ विनोद’ले चाँदबाग स्कुल चलाइरहेका छन्। जग्गा पनि अहिले उनकै नाममा छ।
स्रोतका अनुसार विनोदले २०४३ सालमै बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा राख्न चलखेल गरेका थिए। तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारी र हिमचिमको आडमा ‘दाइ विनोद’ले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा त्यो जग्गा फुत्काएको बताइन्छ। कम्पनीले वार्षिक १० लाख थान जुत्ता उत्पादन गर्ने र कम्पनीमा बाँसबारी छाला–जुत्ता कारखानाको २५ सय कित्ता सेयर स्वामित्व हुने भनिएको थियो।
त्यतिबेला चौधरीका दाजु-भाइको अंशवण्डा नै भएको थिएन। ‘चौधरी दाइभाइ’ छुट्टिएपछि अरुणले दाइलाई बिक्री गरेको सेयरको सबै कागजात हुँदाहुँदै भाइ पक्राउ पर्नुलाई ‘विनोद चौधरीको छलछाम’ जान्नेहरू भाइलाई फसाएर आफू उम्किन खोजेको ठान्छन्।
भिडियाे :
होईन! सबै खाले अपराधी हरुलाई कानुन ले एकै नजर ले हेर्नू पर्यो। तर ती मध्ये कोहि मन्त्री,वा सचिब वा ठुलो घरानिया ब्यापारी र कर्मचारी हुदै मा माथी को आदेस भन्दै हतकडी लगाउन नपर्ने तर कोहि पनि नभयेका हरु बिना प्रमाण र पोलियेकै भर मा समाज मा बेईज्जती नै हुने गरि कारबाही ब्यहोर्न पर्ने अबस्था भने हुनु भयेन। येस तर्फ सजग हुने हो कि?? जय मात्रीभुमी!