काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ। तर, अहिले भने काठमाडौंमा अहिले पानी पर्न रोकिएको छ। मध्यरातको वर्षाले काठमाडौंको विष्णुमती, बागमती र धोबीखोलामा बाढी आए पनि अहिले घटेको छ।
देशका अरू केही ठाउँमा भने पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा भेलबाढी आउनेगरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
वर्षाका कारण आकस्मिक बाढी आउन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।