कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा

 निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए।

सडक खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्।

निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै सडक खुलाउन समस्या भइरहेको थियो। बर्खा सुरु भएसँगै करिडोरमा चट्टानसहितको पहिरोले समस्या भएको थियो।

सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न कठिन हुने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो समय गुल्मीबाट बागलुङ, स्याङ्जा, पोखरा लगायत काठमाडौं जान छिटो र सुरक्षित मानिएको करिडोर पहिरोले प्रभावित हुन थालेको छ।

प्रकाशित मिति: : 2025-06-23 08:02:00

प्रतिकृया दिनुहोस्