‘म निर्दोष प्रमाणित’, किराती भन्छन् ‘भ्रष्टाचारीलाई यही जुनीमा सजाय हुनुपर्छ’

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई ‘निर्दोष प्रमाणित’ गरेको दाबी गरेका छन्। 

केही दिनअघि अख्तियारले उनीसँग पनि त्यसबारे बयान लिएको थियो। सोमबार सामाजिक सञ्जालमा यसबारे लेख्दै उनले आफूलाई बदनाम गर्न खोज्नेहरूदेखि ‘दया’ लागेको पनि बताएका छन्। 

आइतबार मात्रै पशुपतिस्थित विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। त्यसमा तत्कालीन मन्त्री किरातीको पनि संलग्नता भएको भनिएको थियो। 

‘पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ’ किरातीले सामाजिक सञ्जालमा लेखेका छन्। 
त्योसँग उनले त्यसको चर्चाबारे केही प्रश्नहरू पनि गरेका छन्। 

 - यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन? 

- नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ। यति सम्म कि, बेनामे पनि लाग्छ। सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो? 

- सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्ष देखी पूर्व प्रधानमन्त्रीहरु सहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र?

- कसैले अख्तियारको दुरपयोग गरि कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नै पर्छ। ‘भ्रष्टाचार देशको शत्रु हो’ म स्पष्ट छु अर्को जुनीको मलाई विश्वास छैन। भ्रष्टाचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहि रहनेछु। 

प्रकाशित मिति: : 2025-06-23 11:16:00

प्रतिकृया दिनुहोस्