इजरायल-हमास युद्ध

नेपाली मार्ने हमास ‘आतंकवादी’ कि ‘विद्रोही’? 

[Mahmud Hams/AFP]

इजरायलमा दश जना नेपाली विद्यार्थीको हत्याको खबरले मुलुक शोकमा छ।

रकेट प्रहार र गोलीको आवाज सुनेपछि घरभित्रको बङ्करमा लुकेर बसेका नेपाली विद्यार्थीमाथि हमास समूहका हतियारधारीले बङ्करभित्र प्रवेश गरी हत्या गरे। नेपाली वा विदेशी नागरिक हुन् भन्ने थाहा पाएर पनि अन्तर्राष्ट्रिय नियमको पालना नगरी हत्या गरियो।

क्रुर दानवीय रुप देखाउनेलाई आक्रमणकारीमात्रै कसरी भन्ने? इजरायलप्रतिको प्रतिशोध निर्दोष नेपाली विद्यार्थीमाथि साँध्न मिल्छ? रकेट र बम प्रहारबाट नेपालीको मृत्यु भएको होइन, बङ्करभित्र जीवन रक्षाको लागि लुकेको अवस्थामा नियन्त्रणमा लिएर हत्या गरिएको हो।

विश्वका अधिकांश मुलुकले आतङ्ककारीले हत्या गरेको भनेर भर्त्सना गरिरहेका छन्। नेपाल सरकारले आक्रमणमा परेर मृत्यु भएको भनेको छ। दुई पक्षबीच गोली हानाहान पनि नभएको अवस्था थियो। निहत्था व्यक्ति, जसले जीवन रक्षाको लागि अपिल गरिरहेका थिए। उनीहरूमाथि गोली बर्साइएको थियो। यो भवितव्य आक्रमण होइन, बरु यो त आतङ्ककारी हमला नै हो।

मानवअधिकार आयोगको विज्ञप्तिमा नेपाली विद्यार्थीको मृत्यु आक्रमणमा भएको उल्लेख गरिएको छ। तर उसले पनि यो घटनालाई आतङ्ककारी घटना हो भनेर उल्लेख गर्न सकेन।

नेपाल सरकारको तुलनामा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अलि हिम्मत देखाएका छन्। हमासलाई उग्रवादी सङ्गठन भन्ने आँट गरे, अनि त्यसको निन्दा पनि गरे।

इजरायलमा मृत्यु भएका दश नेपालीमध्ये धनुषाको सपही बस्ने २२ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ। यो घटनासमेत गरी विभिन्न समयमा तीन मुलुकमा नेपालीहरूको हत्या आतङ्ककारी समूहले गरेको हो।

२०६१ सालमा कामको खोजीमा जोर्डनबाट भदौ ४ गते इराक पुगेका १२ नेपाली कामदारलाई इस्लामिक समूहको अन्सर उल सुन्नालले अपहरण गरी भदौ १५ गते बडो निर्मम ढङ्गले हत्या गरिएको भिडयाे क्लिपमार्फत सार्वजनिक गरेको थियो।

२०७३ साल असार ६ गतेका दिन अफगानिस्तानको काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षा गार्डमा कार्यरत १२ जना नेपाली कामदारसमेत रहेको मिनी बसमाथि बम प्रहार हुँदा उनीहरूको मृत्यु भएको थियो। त्यो बसमा ३० जना सवार थिए।

यी तीनवटै घटनामा परी ३५ नेपाली युवाको अनाहकमा ज्यान गएको छ।

०००

इजरायली र प्यालेस्टाइनबीच द्वन्द्व भनौँ वा युद्ध।, जे भए पनि नियन्त्रणमा लिएर दुश्मन देशको सेनाको पनि हत्या गर्न मिल्दैन। नागरिकको हत्या गर्नु युद्धको नियमविपरीत हो। त्यसमा पनि विदेशी नागरिकको हत्या गर्नु जघन्य अपराध नै हो।

हमासले नेपाल, अमेरिका, ब्रिटेन, थाइल्याण्ड, क्यानाडालगायत देशका करिब एकसय विदेशी नागरिकको हत्या गरेको छ। कतिपयको अपहरण पनि गरेको छ। एक जना नेपाली अहिलेसम्म पनि बेपत्ता छन्।

हमास के हो?

हमास नामक संस्थाको जन्म सन् १९८७ मा भएको हो। यहूदीहरूले प्यालेस्टाइनको भूमिलाई कब्जा गरेकाले सो भूमिकाबाट हटाउने उक्त समूहले आफ्नो प्रमुख लक्ष्य राखेको छ।

सन् २००६ सालमा प्यालस्टाइनमा भएको निर्वाचनमा दुई तिहाई बहुमत पाएर हमासले जित हात पारेको थियो। गाजा क्षेत्रमा हमासको बढी पकड थियो भने वेष्ट ब्याङ्कमा उसको प्रतिद्वन्द्वी फत्तह पार्टीको प्रभाव थियो। त्यहाँ हमासको जितलाई स्वीकार नगरिएपछि हमासले सशस्त्र सङ्घर्ष गरेर पूर्णरुपमा गाजापट्टीमाथि सन् २००७ मा आधिपत्य कायम गर्‍यो।

गाजाबाट हमास समूहले इजरायलको सैनिक शिविरमाथि कहिलेकाहीँ रकेट प्रहार गर्ने गर्दथ्यो। यसपल्ट, व्यापक तयारीपछि आक्रमण गरेको देखिन्छ।

इजरायलको प्रतिशोध

प्यालेस्टाइनको भूमि गाजापट्टीलाई कब्जा गरी बसेका हमास समूहले ७ अक्टोबर शनिबार बिहानको समयमा दक्षिणी इजरायलमा समुन्द्री मार्ग, आकाश र जमिनको माध्यमबाट इजरायलमाथि आक्रमण गर्‍यो।

१५ मिनेटको अवधिमा हमासले पाँच हजार रकेट प्रहार गर्‍यो। आकाशबाट प्यारासुटको प्रयोग र सिमानाको सुरक्षा घेरालाई बुलडोजरले भत्काएर प्रवेश गर्‍यो। त्यसपछि उनीहरूले अन्धाधुन्ध गोली प्रहार गरी सयौँ व्यक्तिको हत्या गरे। सुरुका आक्रमणमा हमासले इजरायलमा व्यापक रुपमा जनधनको क्षति गरिदियो।

चार घण्टापछि इजरायलको जवाफी आक्रमण तीव्र भएपछि सयौँ हमासको लडाकु मारिए।

अहिले गाजाक्षेत्र तीनतिरबाट इजरायलले घेरामा पारेको छ। उत्तरी गाजाबाट २४ घण्टाभित्र दक्षिण गाजामा जान इजरायलले निर्देशन गरेको छ। करिब १२ लाख मानिसलाई यति कम समयमा सम्भव नरहेको भनेर संयुक्त राष्ट्र सङ्घले आपत्ति प्रकट गरेको छ।

अर्कोतर्फ हमासका कमाण्डरले जो जहाँबाट भए पनि इजरायलको विरुद्ध आवाज उठाउन र हमासलाई सहयोग गर्न आह्वान गरेको छ।

हमासले गाजा शहरको २० मिटरमुनिमा धेरै लामो सुरुङहरू बनाएका छन्। त्यो सुरुङहरुको कुल लम्बाई १०० किलोमिटर हुनसक्ने अनुमान गरिएको छ। सुरुङमा ओहोरदोहोर गर्नका लागि मोटरसाइकलको प्रयोग गर्छन्, हमासका लडाकुहरू।

इजरायली सेनाहरु गाजाभित्र पसेर सो सुरुङलाई ध्वस्त गर्न खोजिरहेको छ। तर, त्यस्ता सुरुङका माथि बाक्लो मानव बस्ती छ। यो सम्भावित महाविनाश देख्दा लाग्छ, हमासको सुरुवात अहिले दुबै पक्षका निर्दोष नागरिकका लागि अभिसाप बनेको छ।

बाँडिएको विश्व

इजरायलको वरपर अरब मुलुकहरूमा लेबनान, सिरिया, इराक, जोर्डन, इजिप्ट र साउदी अरबलगायतका देश छन्।

इजरायल र हमासबीच युद्ध सुरु भएपछि अमेरिका, भारत, ब्रिटेन, फ्रान्स र क्यानाडालगायतका मुलुकले इजरायलको पक्षमा उभिएको छ भने इरान, पाकिस्तान, लेबनान, कतार, टर्की, अफगानिस्तान र यमन मुलुक  हमासको समर्थनमा देखिन्छ।

अरब लिगका बहराइन र संयुक्त अरब इमिरेट्सले हमासको आक्रमणप्रति असहमति प्रकट गरेको छ। अरब लिगमा हलचल मच्चिएको छ। यो समूहमा २२ देश छन्।

हमासको पक्षमा इरान छ। अर्कोतर्फ, लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि मोटार प्रहार र सीरियाद्वारा रकेट प्रहारको जवाफमा इजरायलले पनि सोही किसिमको कारवाही थालेको छ। तर, जुन फूर्तिका साथ इजरायलविरुद्ध कारवाही र धम्की दिने गर्दथ्यो, विस्तारै विस्तारै मत्थर हुन थालेको छ। इजरायलले अडानबाट पछाडि नहट्ने नीति स्पष्ट गरेको कारणले अर्को पक्ष हच्किएको बुझिन्छ।

यसो हेर्दा अरब मुलुकमा हलचल छ। युद्ध लड्नु त्यति सहज छैन। त्यसकारण हमासले आन्तरिक समर्थन वा सहयोग अरब राष्ट्रबाट पाउनसक्छ। तर, लड्न त हमासलाई नै पर्छ।

प्रकाशित मिति: : 2023-10-16 18:16:00

प्रतिकृया दिनुहोस्