सुन साइली, साइली...!
परदेबाट म आउँला,
चालीस कटेसी रमाउँला...!
हेमन्त रानाकाे उक्त गीतजस्तै तिला गाउँपालिका-१ राराका ४० वर्षीय नैन बुढाका चालीस कटेसी रमाउने दिन आएका छन्।
विगत तीन महिना यता उनी घरपरिवारसँग खुसी साट्दै व्यवसाय सञ्चालन गरिरहेका छन्। उनलाई आजभोलि पारिवारिक बिछाेड सहनु परेकाे छैन। किनकि उनलाई घरपरिवारसँगै बस्ने अवसर मिलेको छ।
उनी नाै वर्षको हुँदा नै उनका बुबा बितका थिए। त्यसपछि घरखर्च चलाउने जिम्मेवारी उनको काँधमा आइलाग्याे। ओठ निचारे दूध आउने उमेरमा जिम्मेवारीकाे भारीले थिच्न थालेपछि उनी घस्रिंदै इन्डिया जानूबाहेक विकल्प थिएन।
गाउँबाट इन्डिया जाने अग्रजहरुका पछि लागेर उनले नेपालकाे सीमा पार गरेका थिए। इन्डियामा हुँदा हाेटलका भाँडा माझ्ने, ढुंगा, माटाे बाेक्नेदेखि लिएर सबै काम गरेकाे अनुभव सुनाउँछन्।
'हामीसँग काम गर्ने औजार भनेकाे एक नाम्लाे हुन्थ्याे। भारी बाेक्नलाई पिठ्यूँ जन्ममै ल्याएका थियाैं,' उनले भने, 'त्यति भएपछि ज्याला मर्थ्याे। खानपिन गरेर अलिअलि बच्थ्याे। घर फर्किन्जेल १० ठाउँमा हन्डर खाएर आउँदा खल्ती रित्ताे भइसक्थ्याे।'
उनले भारी बोक्ने काम इन्डियाकाे गाेड्सेन, कन्न पर्याक, जमाैलीलगायत ठाउँमा गरे। कहिले रातभरी पनि काम हुन्थ्यो। दाेब्बर ज्याल दिन्छु भनेर काममा लगाउने ठेकेदारहरु ज्याला दिनेबेला सँधै आलटाल गर्थे। त्यहाँ उनले वर्षभरि काम गर्दा पनि घर पुग्दासम्म १०/१२ हजार पनि बच्दैनथ्याे।
कर्णालीका धेरैजसाे कम आम्दानी हुनेकाे साइनाे इन्डियासँग छ। जहाँ उनीहरुले गासकाे जोहाे गर्न गइरहनुपर्छ। कतिलाई त्याे साइनाे फापेकाे पनि छ। तर त्यसले कतिलाई कहिले नउठ्ने गरी थला पारेकाे पनि छ। बेलाबेला इन्डियाले थला पारेका नैन बुढाले त्यस्ताे ठाउँमा कहिले नजाने भनेर धरै पटक देवताकाे कसम पनि खाएका थिए।
'बाध्यताका अगाडि देउताका कसम पनि हार खाँदा रहेछन्। यतै काम गरुँ भने संधैभरी काम नपाइन्या,' उनले भने, 'बाह्रैमास काम भएन भने स्वास्नी, छाेराछाेरी पाल्न कठिन हुन्छ। त्यही भएर इन्डिया जानु पड्न्या भयाे।'
इन्डिया जाँदाखेरी धेरैजसाे जुम्लीहरुसँग रुपैयाँ हुँदैनथ्यो। सुर्खेतसम्म जसाेतसाे हिंडेर पुगेपछि सीमा पार गर्न साहुबाट सापटी लिनुपर्थ्याे। साहुबाट नेरुमा लिएकाे ऋण फिर्ता गर्दा भारुमा गर्नुपर्थ्याे।
जस्तै, पाँच हजार नेपाली लियाे भने फर्किंदा पाँच हजार भारु बुझाएर घर फर्किनु पर्थ्याे। यसरी महंगो ब्याजदरमा इन्डिया पुग्ने उनीहरुकाे बचत कतैबाट हुँदैनथ्यो। त्यसैले इन्डिया नजाने भन्ने कसम खान्थे। तर फेरि पनि नगई नहुने बाध्यता आइलाग्थ्याे।
उनी इन्डिया नगएकाे साल आफ्नै गाउँघर, बजार, सिंजा, कालिकाेट सबैतिर भारी बाेक्न भनेर नगएका पनि हाेइनन्। तर कहिले रानाे, कहिले कानाे हुनाले बचत एक थाेपा भएन। मनमा सन्तुष्टि कहिले मिलेन।
'पिठ्यूँका धनले केही नपुग्न्या रहेछ। घर परिवारकाे बिहान बेलुका हात मुख जाेड्न्या बाहेक अरु गर्न सकिएन,' उनले थपे, 'घरै बसेर कही गराैं भने न प्रशस्त जग्गा जमिन भयाे, न व्यापार व्यवसाय गर्न धनसम्पत्ति नै भयाे।'
उनका खेत छैनन्। बारी तीन हल बराबरकाे छ। जसबाट हिउँदमा केही जाै, गहुँ आउँछ भने वर्षामा सिमी, काेदाे, आलु, मकै आउँछ। खेतीपातीबाट आएकाे अन्नले तीन महिना बढी धान्दैन।
जुम्लामा जाेत्ने बाहेक खेतीपातीका काम महिलाहरुले गर्छन्। वर्षभरिलाई काम गर्न पुग्ने जमिन नभएपछि नैन बुढाकी श्रीमती समयमै फुक्काफुल भइहाल्छिन्। उनले वर्षभरि पुग्ने काम खाेज्न नेपालदेखि भारतसम्म धाउनु पर्याे।
यस्तै गर्दागर्दै उनले चालीस वर्ष कटाए। झण्डै कर्णालीकाे औसत आयु कटाएका उनकाे जीवनमा सुखसयलकाे आश मारिसकेका थिए।
यही बीचमा उनकाे विगत र वर्तमान देखेकाे गाउँपालिकाले उनलाई सहयोग गर्नका निम्ति कृर्डाक नेपालकाे साना व्यलसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने (Raising Income through small Enterprise and Employment (RISE project) परियाेजनालाई सिफारिस गर्याे। राइज परियाेजनाका कर्मचारी आएर उनकाे अवस्था बुझे।
कोराेनाले पुरानाे व्यवसाय थला परेकाे थियाे। यही कारणले विदेश जान नसकेर समस्यामा परेकालाई सहयाेग गर्ने याेजना अनुरुप उनकाे छनाेट हुने मापदण्ड पुग्याे र उनले गाउँमै खुद्रा व्यवसायकाे लागि सहयोग पाए।
झण्डै पचास हजार बराबरको सहयोग पाएका उनले गाउँमा खुद्रा व्यवसाय सञ्चालनमा ल्याए। राराकाे मुख्य बजार सेरीबाट किनमेल गर्ने गाउँलेलाई भारी बाेक्नुपर्ने बाध्यताबाट पार लगाइदिए।
सेरी बजारकै माेलमा गाउँमै सामान पाइन थालेपछि गाउँलेले खाद्य तथा खुद्रा सामानकाे लागि फाेक्साे फुल्ने उकालो ओरालाे धाउन छाेडे।
त्यसपछि उनकाे व्यवसाय फस्टायाे। दैनिक बचत समेत गर्न लागे। सहयोग पाएकाे तीन महिनामा दैनिक पाँच सयका दरले बचत गर्दा साना किसान कृषि सहकारी संस्थामा ४५ हजार रुपैयाँ जम्मा गरेका छन्। घरकाे नुनतेल खाने खर्च छाेडर तीन महिनामा कमाएकाे रुपैयाँ अरु बेला वर्षभरि काम गरेकाेभन्दा दाेब्बर हाे।
'याे व्यापार गर्नु अगाडि यस्तै गरी जाेवन जान्या भयाे साेचेकाे थिए। दिन फिर्दैनन् भन्ने लागेकाे थियो,' उनले भने, 'कृर्डाककाे सहयोग पाएपछि आशा निकै बढेकाे छ। अब यसैगरी जीवन चल्छ साेचेकाे छु।'
उनी आफूले पढ्न नपाएकोमा धेरै पछुताे मान्छन्। १० कक्षा र छ कक्षामा पढिरहेका उनका दुई छाेराहरुलाई बचत गरेकाे रुपैयाँबाट उच्च शिक्षा पढाउने ठूलाे धाेकाे छ। त्यसैले उनी खुसी छन्।
'पहिला छाेराहरु कसरी पढाउन्या हाेला साेचेकाे थिएँ,' उनले अनुहार उज्यालाे पार्दै भने, 'अब आँट पलाएकाे छ। छाेराहरुलाई महँगा ठाउँमा पढाउन नसके पनि उच्च शिक्षा दिलाउन सक्छु भन्ने लागेकाे छ।'