राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आउन लाग्याे, प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक छ: प्रकाशमान सिंह

File Photo
File Photo

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए।

मुलुकमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने खाँचो औँल्याउँदै उनले भने, ‘पैसाको बलमा पार्टी सङ्गठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौती थपिएको छ। राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायको ध्यानाकर्षण गर्दछु।’

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक सङ्घ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसङ्ग उल्लेख गर्दै नेता सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गरे।

 

 

प्रकाशित मिति: : 2023-08-13 17:29:00

प्रतिकृया दिनुहोस्