भेल्टिलेटर खोज्दै हेलिकप्टरमा पोखरा :

लाखौं खर्चेर बेड त पाए, तर आफन्त गुमाए

काठमाडौं महानगरपालिका–३० कि ५३ वर्षीया महिलाको शहीद मेमोरियल अस्पताल कलंकीको आईसीयूमा उपचार भइरहेको थियो।

अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याएकी उनको स्वाब परीक्षण गर्दा वैशाख १८ गते कोरोना पोजेटिभ देखियो। स्वाथ्य झन् जटिल बन्दै गयो। यही बेला अस्पतालले भनिदियो, ‘आईसीयूबाट जुनसुकै बेला भेन्टिलेटरमा सार्नुपर्ने हुनसक्छ, तर हामीसँग भेन्टिलेटर खाली छैन। अर्को अस्पतालको खोजी गर्दै गर्नू।’

परिवारका सदस्यहरु भेन्टिलेटरको खोजीमा जुटे। संक्रमितकी छोरी अस्मिताले भनिन्, ‘भेन्टिलेटर भएका हस्पिटलको सूची हातमा लिएर फोन गर्न थाल्यौं, कसैले छ भनेनन्।’

काठमाडौंमा भेन्टिलेटरसहित बेड नभेटिएपछि बाहिर पनि विकल्प खोज्नेबारे परिवार र आफन्तबीच सल्लाह भयो। पोखरामा धेरै अस्पताल भएकाले फोन गरे। ‘चरक अस्पतालमा भेन्टिलेटरसहित बेड छ भनेपछि तत्काल हेलिकप्टरको व्यवस्था गरेर पोखरा पुर्‍याइहाल्यौं’ संक्रमित महिलाकी छोरीले भनिन्।

यो बुधबारको कुरा हो। उनीहरुले भेन्टिलेटरसहित बेड पनि पाए। ‘४ दिनपछि सदाका लागि आमालाई गुमायौं। शनिबार राति उहाँको मृत्यु भयो’ अस्मिताले भनिन्।

आमालाई बचाउने अन्तिम आशा बोकेर परिवारका सदस्यहरु ह्याम्स् हस्पिटलको छतमा रहेको हेलिप्याडमार्फत पोखरा उडेका थिए। ‘श्वास भएसम्म आश त भइहाल्छ। एम्बुलेन्समार्फत जाँदा झन् समय लाग्थ्यो। हेलिमार्फत गयौं,’ महिलाकी छोरीले भनिन्, ‘आईसीयु, हेलिकप्टर र फेरि भेन्टिलेटरसहितको अस्पतालमा उपचार गर्दाको के हिसाब भयो र लाखौं खर्च भइहाल्यो तर त्योभन्दा पनि ठूलो नोक्सानी आमा बचाउन नसकेर गुमायौं।’

प्रकाशित मिति: : 2021-05-17 21:23:00

प्रतिकृया दिनुहोस्