विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

फाइल तस्बिर
फाइल तस्बिर

लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छविका डा. ल्हारक्याल लामा नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो।

उनको कार्यकाल ५ वर्षको हुनेछ। विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन्। 

वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता,  राहदानीलगायतका अभियोगमा उनी पटक–पटक पक्राउ परेका थिए। 

को हुन् ल्हारक्याल लामा?

पहिलो संविधान सभामा नेकपा एमालेले उनलाई सभासदमात्रै बनाएन, झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री नै बनायो। त्यसपछि फरक गुटको भनेर केपी शर्मा ओलीले उनलाई ‘दबाब’मा राख्न थालेपछि दोस्रो संविधान सभाको चुनावताका उनी नेकपा माओवादीतिर लागे।

माओवादी प्रवेश गरेकाे हप्तादिन नपुग्दै उनी समानुपातिक सांसद बने।

त्यसअघि लामा २०४६ सालको परिवर्तनपछि कांग्रेसको जनलहरतिरै सोझिएका थिए। त्योबेला पनि उनले कांग्रेसमा लागेर लाभका थुप्रै पद लिए।

झलनाथ खनालको मन्त्रिपरिषदमा रहँदा उनले नक्कली नागरिकता र पासपोर्टहरू लिएको भन्दै व्यापक आलोचना भयो। त्यसपछि खनालले उनलाई मन्त्रिपरिषदबाट हटाए।

सिन्धुपाल्चोकबाट जारी भएको नेपाली नागरिकतामा नै उनको नामको अघि डा. लेखिएपछि त्यो विवादमा तानिएको थियो।

त्यस्तै उनले खेन्पो छिरिङको नामबाट भारतीय नागरिकता पनि निकालेको पुष्टि भएको थियो। त्यसअघि उनले तिब्बती शरणार्थीको परिचयपत्र पनि बनाएका थिए।

नेपालमा रहँदा उनी करोडाैँ ठगीका मुद्दामा पनि पक्राउ परे। त्यस्तै एउटा गोली काण्डमा पनि उनी आरोपी थिए। अकुत सम्पत्ति कमाएको भन्दै उनको सम्पत्ति छानबिन गर्न अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले आदेश दिएको थियो।

प्रकाशित मिति: : 2023-08-06 20:50:00

प्रतिकृया दिनुहोस्