भारतबाट फर्किएका विद्यार्थीले सुनाए प्रकृतीको आत्महत्या प्रकरणको नालिबेली

Break n Links
Break n Links

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृती लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरू आन्दोलित अवस्थामा छन्।

विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्‍याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको थियो।

सोही विश्वविद्यालयको एरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटनाबारे विस्तृत जानकारी दिँदै घटनापश्चात गर्ल्स होस्टेलका सबै केटीहरू ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको बताएका छन्।

उनले भने, ‘त्यसपछि गर्ल्स होस्टेलमा सबै केटीहरूलाई बाधेर राखेको छ भन्ने कुरा आयो। किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो। हामीले पछि नारा लगाउन थालेपछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ भयो र त्यो समयमा प्रकृती लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको छ। कोठाको सामानहरू सबै मिलाउने काम भएको रहेछ।’

यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा अद्विक श्रीवास्तव एमएलएको छोरा भएको कारण कलेज प्रशासनले बचाउने प्रयास गरेको पनि बताए।

उनले भने, ‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा अद्विक श्रीवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं। अद्विक श्रीवास्तव एमएलएको छोरा हो, मुख्य कुरा नै यही हो। त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो। यसमा केही याक्सन भएको थिएन्। हामीले त्यो केटाको खोजी गर्दा उनीहरू पक्राउ परिसकेका छन् भन्ने कुरा आयो।’

यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरूको छेड्खानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए।

यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरूलाई कुटपिट गरेको भन्दै ‘के हामी आतंकवादीहरू थियौं भन्दै प्रश्न गरेका छन्।’

उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले कुटपिट गरेको थियो। त्यसको भोलिपल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जतिपनि नेपाली विद्यार्थीहरू छन् उनीहरूलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर। त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भन्नुभयो। ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरूलाई कुटपिट भएको छ। बसमा राखेर पनि कुटि रहेको छ के हामी आतंकवादीहरू थियौं?’

मनलाग्दी रुपमा विद्यार्थीहरूलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरूको भनाई छ।

प्रकाशित मिति: : 2025-02-19 18:38:00

प्रतिकृया दिनुहोस्