टर्कीबाट भेटिएला रुस-युक्रेन युद्ध अन्त्यको बाटो?

गत साता रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले एउटा टेलिभिजन सन्देशमा भनेका थिए ‘रुस युक्रेनसँग सिधै वार्ता गर्न चाहन्छ’ उनले अझ स्पष्ट पार्दै मितिसमेत तोकेर भने ‘यदि त्यस्तो हो भने वार्ता अहिले नै गरौं। विनाशर्त युद्धबिराम गरौं। १५ मेमा त्यो वार्ता स्तानबुलमा हुनेछ…।’

यो प्रस्तावलगत्तै युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीले पनि वार्तका लागि आफू तयार रहेको बताए। रुसको यो प्रस्ताव र युक्रेनको तत्कालै स्वीकारोक्तिले दुबै राष्ट्रपतिबीच सिधा वार्ता हुने र युद्ध रोकिने आशा गरिएको थियो। 

सन् २०२२को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता न त युद्ध थामिएको छ न दुबै देश आपसमा वार्ता गरिरहेका छन्। 

दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति भएलगत्तै ट्रम्पले भने दुबै देशलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा युद्ध समाप्त गर्न चेतावनी दिइरहेका छन्। 

दुबैबीच बिकसित परिस्थितिलाई नियालीरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफू त्यो वार्तामा सहभागी हुन चाहेको बताएका थिए। तर उनी खाडी राष्ट्रका भ्रमणमा निस्किए। 

यद्यपि रुसले कुनै तेस्रो पक्षको मध्यस्थता बिना ‘सिधा वार्ता’ गर्ने भनेका थिए। त्यसमा जेलेन्स्कीले पनि आफू मे १५ मा आफू टर्कीको सहरमा पुटिनलाई कुरिरहेको हुने बताएका थिए। 

तर बुधबार राति अबेर रुसले एउटा प्रतिनिधि टोलीको नाम सार्वजनिक गर्‍यो, जसमा पुटिनको नाम छैन। टर्कीको वार्तामा पुटिन नआउने भएपछि जेलेन्स्की पनि सामेल हुने छैनन्। 

रुसका तर्फबाट पुटिनले आफ्ना निकटका सहयोगी मानिने सल्लाहकार भ्लादिमिर मेदिन्स्कीलाई नेतृत्व गर्न जिम्मा दिएमा छन्। त्यसमा रुसका उपरक्षामन्त्री अलेक्जेन्डर फोमिन समेत अरु उच्च गुप्तचर अधिकारीहरू हुनेछन्। 

त्यो वार्तामा सहभागी हुनका लागि अमेरिकाले विदेशमन्त्री मार्को रुवियो र ट्रम्पका विशेष दूत स्टिभन विटकोफ पनि सहभागी हुनेछन्। यसअघि विटकोफ पटक पटक रुस पुगेर पुटिन र उनका प्रतिनिधिहरूसँग वार्ता गरिसकेका थिए। 

दुबै राष्ट्रपति वार्तामा नबसेपछि यो वार्ताले अहिले नै युद्ध समाप्त गर्न सहमति गर्न सक्ला कि नसक्ला भन्ने चिन्ता छ। तर अमेरिकी प्रतिनिधिहरूले यसलाई युद्ध समाप्तीका लागि बाटाहरू पहिल्याउन महत्वपूर्ण हुने बताएका छन्। 

यही वार्तामै युद्धबिरामका लागि सहमति हुन नसके पनि यसले सम्झौताका खाकाहरू तयार गर्न सक्छ र दुबै राष्ट्रपतिलाई सहमत गराउनसक्छ। 

प्रकाशित मिति: : 2025-05-15 08:33:00

प्रतिकृया दिनुहोस्