कुन बेला कसरी काठमाडौं एयरपोर्टमा टेक्न आइपुगेँ, मलाई केही थाहा भएन। न्युयोर्कबाट हवाईजहाज चढेदेखि नै म होस र बेहोसमा थिएँ। कहाँ छु, कसरी छु र नेपाल किन जान लागेकी छु, सोच्तथेँ। तर, त्यो सोचाइको क्रम बीचमा नै टुंगिन्थ्यो र आमाको अशक्त, असमर्थ अनुहारले मलाई सोधिरहन्थ्यो– कान्छी छोरी ! तैले मेरो मुखसम्म त हेर्न पाउलिस्, मलाई विश्वास छैन।
आफ्नो चित्त बुझाउँथेँ, आमाको अन्तिम दर्शन गर्छु, आमाको मुख हेर्छु। किनभने, मलाई थाहा थियो त्यो अनुहार आफ्ना अन्तिम किनाराहरूमा छ, स्वरहरूमा छ। त्यो डुब्न लागेको बाको अनुहार अहिले पनि आएर सपनाको कुनै छेउमा सोधिरहन्छ– आफ्नो अन्तिम अवस्थामा मैले खालि तिमीलाई सम्झेँ, तिमीलाई मात्र। मेरी कान्छी छोरी सिर्जनालाई मात्र।