जसले पतञ्जली नेपालमा छिराएर जमिन र जडिबुटी सोहोर्दैछन्
अर्धनग्न यी बाबाका संसारभरि करोडौं अनुयायीहरू छन्। नेपालमा पनि उनको ‘योगा’लाई आफ्नै दैनिक जीवनको एक अंग बनाएका लाखौं छन्। उनी पटक पटक नेपाल आइरहन्छन्। उनका नाममा कैयौं योग अनि ध्यानकेन्द्रहरू नेपालमा पनि खोलिएका छन्। नेपालमा आमनागरिकस्तरमा मात्रै होइन राजनीतिकरुपमा पनि उनलाई पछ्याउनेहरू धेरै छन्। लगभग कोही नेपाली नेता यस्तो छैनन्, जो अहिलेसम्म उनको आश्रम पुगेर वा उनलाई भेटेर ‘आशीर्वाद नलिएका होऊन्…।’
२०६६ साल माघ १८ गते सरकारले काभ्रेमा रहेको ८१५ रोपनी जमिन किन्नका लागि लागि रामदेवको पतञ्जली योगपीठलाई अनुमति दियो। त्यो हदबन्दी छुट अन्तर्गत पाइने अधिकारअनुसारको मन्त्रिपरिषदले गरेको निर्णय दियो। त्यो बेला माधव नेपाल प्रधानमन्त्री थिए।
त्यसको दुई महिनापछि बाबा रामदेव नेपाल आए। प्रधानमन्त्री नेपाल उनीसँगै काभ्रेको धुलिखेल पुगेर ‘पतञ्जली योगपीठ’को उद्घाटन गरे। त्यसबेला बाबा रामदेवको प्रशंसा गर्दै माधव नेपालले भनेका थिए ‘बाबा रामदेश नेपाल-भारत सम्बन्धका एक बिम्ब हुनुहुन्छ…।’
त्यसपछि फेरि सरकारले दुई महिनामै पतञ्जलीलाई जग्गा बेच्न पनि छुट दियो। यद्यपि त्यो बेला सबै जमिन रामदेवले किनेका भने थिएनन्। लगभग १९५ रोपनीमात्रै जग्गा उनलाई चाहिको भनेर सरकारलाई भनेका थिए। बाँकी त उनले ‘दान’मै पाइसकेका थिए।
पतञ्जलीले त्यो बेला आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायतका ‘गैर नाफामूलक’ व्यवसाय सञ्चालन गर्न भन्दै सरकारसँग जग्गा मागेको थियो। नेपालको जग्गा हदबन्दीसम्बन्धि कानुनअनुसार यतिधेरै जग्गा जमिन एकैपटक एउटै संस्था वा व्यक्तिले किनबेच गर्न वा राख्न पाइँदैन।
तर निश्चित उद्देश्यहरू खुलाएर सरकारसँग प्रस्ताव गरेमा सरकारले केही शर्तहरूसहित त्यसमा छुट दिनसक्छ। त्यसको पहिलो शर्त हुन्छ- त्यसरी लिइएको वा प्राप्त भएको जमिन किनबेच भने गर्न पाइँदैन। तर पतञ्जलीले त्यो सब जग्गाजमिन भोगचलन गरेन। बरु उसको नाममा जम्मा ८८ रोपनीमात्रै बाँकी रह्यो। त्यसैमा अहिले मेडिकल कलेज सञ्चालित छ। त्यो पनि विवादमै छ। बाँकी जमिन ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचिएको अनुसन्धानबाट देखिएपछि अब यो मुद्दा अख्तियारसम्मै पुगेको छ। त्यही मुद्दाको छानबिन गर्न अख्तियारले माधव नेपालसँग बयान पनि लिइसकेको छ।
यो जग्गा रामदेवले कसरी हत्याए?
२०६६ सालमै प्रधानमन्त्री माधव नेपालले धुलिखेलमा पतञ्जली योगपीठ केन्द्रको भवन उद्घाटन गर्ने समारोहमा एकजना ‘दानबीर’ पनि थिए। भारतका अर्बपति ब्यापारी राधेश्याम सर्राफ पनि त्यहीँ थिए। उनी नेपालमा पनि अर्न्तराष्ट्रियस्तरको ‘स्टार होटल’को सुरुवात गर्ने एक ब्यापारी हुन्।
नेपालको याक एण्ड यति र होटेल हायात रिजेन्सी उनकै लगानीमा खुलेका हुन्। सर्राफ होटल इन्टरप्राइजेजले सन् १९७७ मा काठमाडौंको दरबारमार्गमा खोलेको याक एण्ड यती उनको पहिलो होटल आउटलेट थियो। त्यसपछि उनले भारत र हङकङलगायत कैयौ देशमा आफ्नो होटल चक्र विस्तार गरे। १९९७ मा उनले हायात रिजेन्सी पनि नेपालमै खोले।
त्यसपछि उनै सर्राफले नेपालका अरु पनि ठाउँमा होटल खोल्ने जमिन खोज्दै जाँदा २०४२ सालतिर धुलिखेलको चङ्खुबेसीमा लगभग २ सय रोपनी जमिन किनेका थिए। त्यही बेलादेखि उनले होटल निर्माणको काम थालिसकेका थिए। तर होटलका संरचनाहरू बनिसक्दा नेपालमा माओवादी युद्ध सुरु भइसकेको थियो। तै पनि जसोतसो उनकी पत्नी रत्ना सर्राफको नाममा रहेको उक्त होटल हिल कर्नर सञ्चालनमा आयो। युद्धले पर्यटन क्षेत्र पनि त्रसित भइरहेको थियो। नेपालमा पर्यटकहरू घट्दै थिए। त्यो होटल केही समय चलेर बन्द भएको थियो। बन्द भएको केही समयपछि पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायले फेरि त्यही होटल पुन:सञ्चालन गरे। युद्धका कारण पर्यटक नआउने अनि माओवादी चन्दा आतंक। निरन्तरको घाटापछि यो होटल २०५६ सालदेखि बन्द भयो। त्यसपछि लगभग यो होटल थलिएको थियो। जग्गा जमिन पनि त्यत्तिकै थियो। भवनहरू जीर्ण भइसकेका थिए।
पतञ्जली पीठको उद्घाटनका बेला उनै सर्राफले त्यो सम्पत्ति सबै पतञ्जलीको नाममा ‘दान’ दिने घोषणा गरेका थिए। सरकारले त्यो सबै जग्गाजमिनमा एकीकृत हदबन्दी छुट दिने निर्णय गर्यो।
त्यसपछि लगभग ८१५ रोपनी जग्गा नेपालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा आयो। यो नेपालमा गैरनाफामूलक ट्रस्टका रुपमा दर्ता छ। काठमाडौंको बौद्ध ठेगाना राखेर २० पुस २०६४ मा यो ट्रस्ट दर्ता भएको थियो। यसका सञ्चालकहरू योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफहरू छन्। उमेश उनै राधेश्याम सर्राफका छोरा हुन्। राधेश्यामको भने २०७८ साल चैतमा निधन भइसकेको छ।
नेपालमा रामदेव नजर– सरकार, जमिन र जडिबुटी
२०७८ मंसिर ३ गते बाबा रामदेवको रामदेवको पतञ्जली पीठले नेपालबाटै चलाउने भनिएका दुई धार्मिक टेलीभिजन च्यानलको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीलाई नेपालमा आवश्यक पर्ने जमिन नेपाल सरकारले उपलब्ध गराउने घोषणा गरे।
यद्यपि उनले चलाउने भनिएका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टेलिभीजन च्यानलको दर्ता–अनुमति नभएको भन्दै त्यसको विरोध भइरहेको थियो। र, सँगै प्रधानमन्त्रीले जग्गा दिने भनेर गरेको घोषणा पनि आलोचित भएको थियो।
‘नेपालमै उहाँले आयुर्वेद औषधि उत्पादन गर्न चाहनुहुन्छ र उहाँलाई नेपाल सरकारका तर्फबाट पूराका पूरा सहयोग हुनेछ’ प्रधानमन्त्री देउवाले भनेका थिए ‘प्लान्टहरू लगाउने सबै कुरामा सहयोग हुनेछ। जग्गा जमिन उपलब्ध गराउने कुरामा उहाँलाई केही बाधा भएको छ भन्ने थाहा भएको छ। त्यो जग्गा नेपाल सरकारले उपलब्ध गराउनेछ।’ देउवाले यसो भनिरहँदा त्यहाँ प्रचण्ड अनि केपी ओलीहरू पनि रामदेवसँगै बसिरहेका थिए।
यद्यपि त्योभन्दा अघि नै सयौं रोपनी जग्गा उनले काभ्रेमा हात पारिसकेका थिए। र, पनि अरु जमिन दिलाउन नेपाल सरकारलाई भनिरहेका थिए।
नेपालको जडिबुटी अनि जमिनमाथि रामदेवका नजरहरू पहिलादेखि नै चम्किरहेकै थिए। सुरूमै उनले नेपाल सरकारसँग जमिन माग गरेका थिए। मेडिकल कलेज चलाउने अनि त्यहाँ संस्कृत गुरूकूल र आयुर्वेदन अनुसन्धान केन्द्र र जडिबुटी खेती पनि गर्ने भनेर उनले नेपाल सरकारलाई योजना बुझाएका थिए।
त्यसका लागि उनले नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँखा लगाए। दाङको बेलझुन्डीमा मुख्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयसँग हज्जारौं विघा जमिन छ। युद्धकालमा माओवादीले ‘कब्जा’ गरेको त्यो जमिन अहिले पनि विश्वविद्यालयले स्याहार्न सकिरहेको छैन। धेरैजसो जमिन अहिले पनि ‘सुकुम्बासी’हरूको कब्जामा छ अनि कति त्यत्तिकै वेवारिसे छ।
यो लगभग २०६५/६६ सालतिरकै कुरा हो। त्यो जमिन माग्ने बेलामा माओवादी अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री थिए। तर त्यो बेला स्थानीय दातहरूले त्यसको विरोध गरे। कर्मचारीहरूले विरोध गरे।
२०४३ सालमा स्थापना भएको संस्कृत विश्वविद्यालयका लागि दाङकै स्थानीयले सयौं विघा जमिन दानमा दिएका थिए ।
सबैको विरोधपछि रामदेवका सबै फाइलहरू सिधै प्रचण्ड आफैले मागे। र, त्यो काम त्यत्तिकै रोकियो। केही समयपछि सरकार पनि ढल्यो।
रामदेवलाई नेपाल डोर्याउँदै ब्यापारमा सघाएका उपेन्द्र महतो
काभ्रेमा संस्कृत विश्वविद्यालयको सम्बन्धन लिएर रामदेवले काभ्रेमा मेडिकल कलेज चलाउनुअघि नै रामदेवले नेपालमा आफ्नो औद्योगिक यात्रा सुरुवात गरिसकेका थिए। जब कि संस्कृत विश्वविद्यालयको आफ्नै आयुर्वेद अनुसन्धान विभाग छ। आयुर्वेद मेडिकल कलेज पनि छ। त्यसलाई सरकार आफैले व्यवस्थित गर्न सकिरहेको छैन।
२०७३ असोज तिर। भारतको हरिद्वारस्थित आफ्नो आश्रम डुलाएर तत्कालीन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न आयोजित एउटा समारोहमा बाबा रामदेवले भनेका थिए– अब नेपालमा पनि पतञ्जलीको विस्तार हुनेछ। र, भारतबाहिर यो सबैभन्दा ठूलो पतञ्जली उद्योग हुनेछ।
त्यसको करिब एक महिनापछि उनी नेपाल आए र राष्ट्रपति विद्या भन्डारीबाट बाराको प्रसौनीमा रहेको आफ्नो उद्योगको उद्घाटन गरे। प्रचण्ड प्रधानमन्त्री भएर २०७३ असोजमा भारत भ्रमण जानुअघि नै पतञ्जलीले नेपालमा उद्योग स्थापना थालिसकेको थियो।
हरिद्वारमा बाबा रामदेवको ‘मेजमानी’पछि प्रचण्डले भनेका थिए– धेरैजसो जडिबुटीहरू त नेपालबाटै आउँदो रहेछ । अब पतञ्जलीले उतै (नेपालमा) उद्योग खोलेपछि त्यसको झन् राम्रो सदुपयोग हुनेरहेछ।
रामदेवलाई नेपालमा लगानी गर्न उक्साउँदै उनले भनेका थिए – नेपालमा पतञ्जलीलाई उद्योगका लागि चाहिने सबै व्यवस्था हामीले गर्छौं। रामदेवको मुख्यालय हरिद्वारको विशाल फुड एण्ड हर्बल पार्क देखेर प्रचण्ड दंग थिए। रामदेवले नेपालमा पनि त्यस्तै पार्क खोल्ने इच्छा प्रचण्डसँग देखाएका थिए।
उपेन्द्रको साथ
एउटा औपचारिक कार्यक्रममा त्यो बेला प्रचण्डलाई भनेपनि त्यसको तयारी पहिलादेखि नै नेपालमा गरिसकेका थिए रामदेवले।
उद्योग खोल्नका लागि नेपालमा उनका व्यावसायिक साझेदार भए उपेन्द्र महतो।
उच्च शिक्षा पढ्नका लागि रूस छिरेका महतो सिरहा जिल्लाका हुन्। पढ्न गएका उनले त्यहीँ व्यापार सुरू गरेर अहिले नेपालका धनाढ्यमध्येका एक हुन्। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष भएका उनले विश्वका धेरै ठाउँमा आफ्नो व्यापार विस्तार गरिसकेका छन्।
नेपालमै पनि विभिन्व व्यवसायमा हात हालेका उनले टेलिकम कम्पनी एनसेलमा पनि सुरूवाती चरणमा लगानी गरेका थिए। पछि उनले आफ्नो अर्बौंको शेयर बिक्री गरेपछि त्यसको कर विवादमा पनि उनी मुछिएका थिए। आफ्नै क्षेत्रमा खुल्न थालेको रामदेवको पतञ्जली उद्योगमा पनि उनी शेयरधनी भए। तर, उनले आफ्नो नाममा नभइ आफ्नी श्रीमती समताप्रसाद महतोको नामा शेयर राखेका थिए।
बाराको प्रसौनीमा लामो समयदेखि बन्द रहेको ‘अन्नपूर्ण टेक्स्टटायल’ कम्पनीको जमिन किन्न पनि उपेन्द्रले नै पहल गरेका थिए। त्यो उद्योगसँग रहेको करिब नौ बिघा जमिन खरिद गरेर ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’ नामको उद्योग खोलिएको थियो। पछि उद्योगले नजिकै रहेको थप १८ बिघा जमिन भाडामा लिएर घ्यूकुमारीको खेती पनि गर्यो।
रामदेवले सुरूमा आफ्ना प्रतिनिधिका रूपमा आरके शर्मालाई कम्पनीको अध्यक्ष बनाएका थिए । उनी सीताशरण कण्ठ कम्पनीका व्यवस्थापक थिए। केही समयपछि पतञ्जली आयुर्वेद लिमिटेड र नेपालस्थित ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’बीच खटपट भयो। ‘पतञ्जली आयुर्वेद प्रालि नेपाल’को बोर्ड लेखिएपनि कम्पनी भने ‘नेपाल ग्रामो उद्योग’ उपेन्द्रकी श्रीमतीकै नाममा दर्ता थियो।
स्रोतका अनुसार त्यो बेला रामदेवले आफ्नो कम्पनीको पतञ्जली आयुर्वेद लिमिटेडको नाममा ९० प्रतिशत शेयर हुनुपर्ने र बाँकी १० प्रतिशतमात्रै नेपाली व्यवसायीलाई दिन सकिने बताएपछि महतोसँग खटपट परेको थियो।
एकातिर लगानीकर्ताहरूबीचको खटपट अनि अर्कोतिर मजदुरहरूको विद्रोह पनि सुरू भइसकेको थियो। पतञ्जलीमार्फत त्यो कम्पनीमा खटाइएका व्यवस्थापकहरूले नेपालको श्रम कानुन नमान्ने र मजदुरमाथि दमन गर्न थालेपछि उनीहरूले त्यसको विरोध पनि गरेका थिए।
शेयर बाँडफाँडमा विवाद भएपछि केही समय रामदेवले भारतबाट पतञ्जलीका सामानहरू पनि पठाउन रोके। सुरूमा यहाँको कम्पनीले पूर्णरूपमा उत्पादन गर्न सकिरहेको थिएन र भारतबाटै सामानहरू ल्याएर यहाँ प्याकिङमात्रै गरिन्थ्यो। विवादपछि त्यो सामान पठाउन पनि रामदेवले रोक लगाए। केही समय कम्पनीले पहिला नै उत्पादन गरेका समानहरू बजारमा बेच्यो। पछि रामदेवले पतञ्जलीको ब्रान्ड पनि फिर्ता लैजाने धम्की दिए।
त्यसपछि उपेन्द्रले कम्पनीबाट आफ्नो शेयर फिर्ता गरे। त्यो बीचमा उपेन्द्रसँग खटपट परेपछि रामदेवले त्यो उद्योगमा आफ्नो कुनै पनि लगानी नरहेको दाबी गर्दै विज्ञप्तिसमेत निकालेका थिए। उनले त्यहाँ उपेन्द्र र उनकी श्रीमतीको मात्रै लगानी रहेको भन्दै आफूलाई नमुछ्न पनि आग्रह गरेका थिए।
तर, त्यसअघि उद्घाटनका क्रममा नेपाल आएका रामदेवले एउटा पत्रकार सम्मेलनमा अहिले उद्योगमा करिब डेढ अर्ब लगानी भइसकेको र अझै लगानी बनाएर कम्तीमा दश हजार परिवारका एक लाखभन्दा धेरैलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने घोषणा गरेका थिए। त्यो कुरा उनले हरिद्वारमा आफ्नै आश्रम पुगेका प्रचण्डलाई पनि सुनाएका थिए।
वार्षिक करिब ३० हजार करोड भन्दा धेरै व्यापार गर्ने रामदेवको पतञ्जली भारतमा सबैभन्दा छिटो ‘साम्राज्य’ फैलाएको व्यावसायिक कम्पनी मानिन्छ।
भारतीय अर्थतन्त्रको एउटा प्रमुख हिस्सा बनिसकेको पतञ्जली ‘साम्राज्य’का सारथी हुन्, आचार्य बालकृष्ण। उनी नेपाली मूलकै हुन्। ‘योगाशन’ सिकाएर विश्वभरि करोडौं ‘अनुयायी’ बटुलेका रामदेवले सन् २००६मा पतञ्जली ब्रान्डमा आफ्नो व्यापार सुरू गरेका हुन्।
आयुर्वेद औषधि, श्रृङ्गारका सामानदेखि मञ्जन र ब्रससम्म पनि पतञ्जलीले उत्पादन गर्छ। खाने तेलदेखि, चामल र पीठोसम्म उत्पादन गर्ने पतञ्जलीको साम्राज्य नेपाल र भारतीयलगायत विश्वका धेरै भान्सासम्म फैलिएको छ। यो सबैका ‘मास्टर डिजाइनर’ भने नेपाली मूलका आचार्य बालकृष्ण हुन्। यो एउटा संयोग हुनसक्ला तर भारतपछि पतञ्जलीको एउटा मुख्य बजार भनेको नेपाल नै हो।
वनस्पती विभागका अनुसार नेपालमा करिब ५८८४ प्रजातिका फूल फुल्ने र फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिका जडिबुटीहरू सूचीकृत छन् । यी मध्ये करिव ७०० जति प्रजातिहरुको औषधीय गुण भएका जडिबुटी छन्। औषधीय महत्व रहेको भनिएका २३८ किसिमका जडिबुटीहरुको रासायनिक परीक्षण समेत भैसकेको छ। अहिले पनि नेपालबाट बार्षिक तीन अर्बजतिको जडिबुटी बाहिर निर्यात हुन्छ।
राजनीतिक शक्ति
अर्धनग्न यी बाबाका संसारभरि करोडौं अनुयायीहरू छन्। नेपालमा पनि उनको ‘योगा’लाई आफ्नै दैनिक जीवनको एक अंग बनाएका लाखौं छन्। उनी पटक पटक नेपाल आइरहन्छन्। उनका नाममा कैयौं योग अनि ध्यानकेन्द्रहरू नेपालमा पनि खोलिएका छन्। नेपालमा आमनागरिकस्तरमा मात्रै होइन राजनीतिकरुपमा पनि उनलाई पछ्याउनेहरू धेरै छन्। लगभग कोही नेपाली नेता यस्तो छैनन्, जो अहिलेसम्म उनको आश्रम पुगेर वा उनलाई भेटेर ‘आशीर्वाद नलिएका होऊन्…।’
रामदेवका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘राष्ट्र ऋषी’ हुन्। दोस्रो कार्यकालका बेला २०२१ तिर हरिद्वार पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई सम्मान गर्दै रामदेवले भनेका थिए– ‘जबसम्म मोदी प्रधानमन्त्री रहने छन्, हाम्रो देश कहिल्यै पनि असफल हुने छैन।’ मोदी २०२४ मा पनि तेस्रोपटक भारतका प्रधानमन्त्री छन्।
उनले त्यो बेला अर्को पनि एउटा कुरा भनेका थिए– त्यहाँ सत्ता परिवर्तन थियो, यहाँ व्यवस्था परिवर्तन छ। अर्थात् मोदीभन्दा अघि भारतमा ‘सत्ता’मात्रै परिवर्तन हुन्थ्यो। तर जब मोदी प्रधानमन्त्री भए अनि ‘व्यवस्था’ परिवर्तनको युग सुरू भयो।
यो राजनीतिक भाषणमा रामदेवले सन् २०११ को कांग्रेस सरकारलाई श्रापिरहेका थिए। जतिबेला रामदेवको आयुर्वेद ब्यापारले भारतमा पखेटा फिँजाउँदै थियो। भारतमा त्यो बेला कांग्रेस आइको गठबन्धन सरकार थियो। त्यो सरकारले रामदेव र आचार्य बालकृष्णको नाम जोडिएका सबै ट्रष्टहरूमा अनुसन्धान सुरू गर्यो। उनीहरूले आर्जन गरेको सम्पत्तिलाई ‘अवैध स्रोत’बाट आएको भन्दै त्यो सरकारले सारा खातापाताहरू नियन्त्रणमा लिएको थियो।
त्यसको विरोधमा देशविदेशबाट आफ्ना अनुयायीहरू बोलाएर रामदेवले दिल्लीको रामलिला मैदानमा भयंकर ‘लिला’ नै देखाए। सरकारले ‘कुदृष्टि’ लगाएको भन्दै उनले रामलीला मैदानमै हजारौं अनुयायीहरूको साथमा अनशन बसे। प्रहरीले हस्तक्षेप गर्यो र उनी ‘हरिद्वार’ नफर्किने भन्दै देशभरि घुमे।
त्यो बेला रामदेवले ‘कांग्रेस सरकार ढालेरमात्रै’ हरिद्वार फर्किने कसम पनि खाए। र, सन् २०१४ मा भारतभरि ‘कमल’ फुल्यो। भारतीय जनता पार्टीले २८२ भन्दा धेरै सिट जित्यो। नरेन्द्र मोदी प्रधानमन्त्री भए। त्यसपछि पूर्ववर्ती सरकारले रामदेवहरूमाथि चलाएका सबै मुद्दाहरू एकाएक बन्द भए। त्यसयता मोदी लगातार प्रधानन्त्री छन्।
र, त्यसपछि रामदेवको पतञ्जलीको साम्राज्य झन् यति फैलियो कि, २०१६ सम्म आइपुग्दा उसले भारतमा ६० हजार करोडको व्यापार लक्ष्य पछ्याउन थाल्यो।
रामदेवकै अनुसार उनले पतञ्जलीको प्रवर्द्धनका लागि वार्षिक २ सय करोड रूपैयाँ खर्च गर्छन्। त्यो पैसा भारतीय टेलिभीजनहरूमा विज्ञापनका लागि खर्च हुन्छ। अहिले पनि मोदी सरकारप्रति जसरी दुई धारमा भारतीय सञ्चारमाध्यम बाँडिएका छन्, रामदेवको साम्राज्यमा पनि मिडिया उही दुई धारमा छन्। त्यो बेला जसरी रामदेव कांग्रेसको सरकार ढाल्न लागे त्यसपछि उनी मोदीसँग अझ धेरै नजिकिए। र, आगामी २०२४मा फेरि पनि मोदीलाई नै उनले अघि सरिरहेका छन्।
‘हामीले जे गरिरहेका छौं। मैले जे गरिरहेको छु त्यो पनि राजनीति नै हो। फरक यत्ति हो कि, कसैले राजनीति गरेर सत्ता चलाउँछन्। हामी मानव सेवा गर्छौं’ रामदेवले हरेक अन्तर्वार्तामा भन्ने गरेका छन्–‘हाम्रो देशमा अरू पनि जोगी नभएका होइनन्। तर, उनीहरूले आफ्नो परिवार त्याग्ने र आफैलाई दुःखी बनाउनेबाहेक अरू के गरेरु रामदेव आउनुभन्दा अघि पनि योग नभएको होइन, आयुर्वेद नभएको होइन। तर मैले मानव जीवनलाई, मानव शरीरलाई अझ सजिलो तरिकाले ‘योगी’ बनारहेको छु।’
चर्चा र अनुशरणको बाक्लो सञ्जालसँगै रामदेव र पतञ्जलीसँग विवादहरूको पनि उत्तिकै अग्ला चुलीहरू छन्। कोरोना संक्रमणका बेला आधुनिक विज्ञानलाई चुनौती दिनेगरी उनले दिएका कैयौं अभिव्यक्ति अनि उनले उत्पादन गरेका कैयौं औषधिहरू पनि विवादमा परेका थिए। त्यसमा उनले माफी पनि मागेका थिए। नेपाल र भारतमा पनि पतञ्जलीका धेरै उत्पादनहरू प्रतिबन्धित छन्।