घामको घमन्जा

घामले जलिरहेको मधेस

कैलालीको वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा पढ्छन्, जगत तिरुवा। आजभोलि उनलाई बिहान १० बजे विद्यालय पुग्दा नै गर्मीले सताउन थाल्छ। मध्यान्नतिर त कक्षा कोठामा बस्न नसक्ने गरी तातोले सताउँछ। 

टिन (जस्ताको पाता)ले छाएको विद्यालयमा गर्मीले कक्षा कोठामा तातो बाफ निस्कने उनी बताउँछन्। ‘गर्मीले पढ्नै सकिँदैन’, उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेञ्चमा बस्नै गाह्रो हुन्छ। डेस्क र बेञ्च पनि तातेका हुन्छन्।’

जगतलाई जस्तै गर्मीले कसलाई पिरोलेको छैन र! उनी गर्मीले कसरी जनजीवन प्रभावित भइरहेकाे छ भन्ने एक उदाहरण हुन्। 

गर्मी बढेपछि मोरङको विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा वितरण गरेको छ। महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा ५ सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ। 

गर्मीबाट छुटकारा मिलाउन कतिपय विद्यालयले बिहानी कक्षा त कतिपयले मोरङमा जस्तै पङ्खा वितरण गर्दा पनि कुनै पार लाग्न सकेको छैन। देशका विभिन्न ठाउँमा तापक्रम ४३ डिग्री सेल्सियस बढी उक्लिसकेको छ। 

जसका कारण रौतहटमा विद्यालय बन्द गरिएको छ। गर्मी बढेपछि बाँकेको नेपालगन्जमा पनि विद्यालय बन्द छन्। कतिपय विद्यालयले यसअघि नै गर्मीका कारण विद्यालय बन्द गरेर पुन: सूचारु गरेपनि फेरि बन्द गर्ने अवस्थामा पुगेका छन्। 

तराईका जिल्लामा जनजीवन प्रभावित

गर्मी बढेसँगै विद्यालय मात्र होइन। दैनिक मजदुरी गरेर जिवीकोपार्जन गर्ने नागरिकहरू अझ मारमा परेका छन्। ‘गर्मी अध्यधिक छ। दिउँसोको समयमा बाहिर निस्कन सकिने छैन’, नेपालगन्ज उपमहानरपालिकाका उपप्रमुख कमरुद्दीन राईले भने। 

नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। ‘हामीले गर्मी बढेपछि अत्यावश्यकबाहेक घरबाहिन ननिस्कन नागरिकलाई आग्रह गरेका छौँ’, उनले भने, ‘गर्मीबाट बचाउनका लागि चोक–चोकमा पानीसमेत वितरण गरेका छौँ।’

नेपालगन्ज अत्यधिक गर्मी हुने ठाउँमध्ये एक हो। पश्चिमको धनगढीदेखि पूर्वी तराईका मोरङ, जनकपुर, विराटनगर, भैरहवालगायतका क्षेत्र पनि अत्यधिक गर्मी हुने ठाउँ हुन्। यी क्षेत्रमा पनि गर्मीले नागरिकको जनजीवन प्रभावित भइरहेकाे छ।

गर्मी बढेपछि जनकपुर उपमहानगरपालिकाले भोलि बिहीबारदेखि एक हप्तासम्म विद्यालय बन्द गर्न भनिसकेको छ। उपमहानगरपालिकाका उपप्रमुख किशोर साहले भने– ‘गर्मी बढ्यो। ‘लु’समेत चल्ने खतरा भएपछि भोलिदेखि सात दिनसम्म विद्लय छुट्टी दिन भनिएको छ।’

उनकाअनुसार गर्मीले जनकपुरमा अधिक असर गरेको छ। बाहिर निस्कन त समस्या छ नै, खानेपानीको समस्यासमेत निम्तिएको छ। कम गहिराई (२०–२५ फिट) भएका चापाकलमा पानी सुकेको छ। 

‘पानीको लेयर डाउन (घट्नु) भइरहेको छ। धारामा पानी छैन। घरमा पनि तातो बाफले बस्न समस्या छ’, उनले भने, ‘अझ यस्तो गर्मीमा बिजुली जाँदा थप समस्या हुन्छ।’ 

यस वर्ष ४३.६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ। धनगढीमा यही जेठ ११ गते शुक्रबार यो उच्च तापक्रम मापन गरिएको थियो। आज बुधबार पनि धनगढीमा नै सोही ४३.६ डिग्री सेल्सियस उच्च तापक्रम मापन भएको छ। 

हिजो (मंगलबार) धनगढीमा ४२ डिग्री तापक्रम मापन भएको थियो। पहाडी जिल्ला डोटीको दिपायलमासमेत मंगलबार ३९ डिग्री तापक्रम पुगेको थियो। यस्तै मंगलबार नेपालगन्जमा ४१, भैरहवामा ३६, विराटनगरमा ३५ र जनकपुरमा ३९ डिग्री मापन गरिएको थियो।

‘लु’ चल्ने चेतावनी

तापक्रम बढेसँगै तराईका जिल्लामा ‘लु’ (तातो हावा)चेल्नसक्ने मौसमपूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। आगामी तीन दिन (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) लु चल्नसक्ने र त्यसबाट बच्न महाशाखाले आग्रह गरेको छ। 

लु (तातो हावा) चलेमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ। जसबाट कमजोर ब्यक्तिको मृत्युसमेत हुन सक्ने भएकाले यसबाट बच्न माहाशाखाको आग्रह छ।

लु अर्थात तातो हावाबाट बच्न बढी गर्मीको समयमा घर भित्र बस्न अर्थात चिसो स्थानमा बस्नुपर्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने चिकित्सक सुझाउँछन्।  

प्रकाशित मिति: : 2024-05-29 19:13:00

प्रतिकृया दिनुहोस्