बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको विष सेवनबाट मृत्यु भएको छ।
सोमबार काठमाडौंको कलंकीस्थित साथीको कोठामा विष सेवन गरेको अवस्थामा अचेत भेटिएका थिए। उनको कलंकीको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
समस्याग्रस्त सहकारीको मुद्दा मिलाइदिने भन्दै रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले आत्महत्या गरेको हुनसक्ने थापा निकट स्रोतले बताएको छ।
समस्याग्रस्त सहकारी घोषणा भएको सुमेरु सहकारीको विषयमा थापाको नाम मुछिएको अडिओ सार्वजनिक भएको थियो।
घटनास्थलमा एक सुसाइड नोट फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले सुसाइड नोटमा सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि आफ्नो प्रतिष्ठामा आँच आएको र साथीहरूले पनि विश्वास नगरेको उल्लेख गरेका छन्।
प्रहरीले अडियो प्रकरण र सुसाइड नोटसहित आत्महत्या प्रकरणको अनुसन्धान सुरु गरिसकेको छ। अडियोमा सुनिएका एक व्यक्तिलाई सामान्य सोधपुछपछि छाडिएको घादिङ प्रहरीले जनायो।