नेपालका केजरीवाललाई ‘दिल्ली-ऐना’ बैना

Break n Links
Break n Links

नेपालमा संसद्को हिउँदे अधिवेशन सुरु त भयो तर नाम मात्रको । सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले एक आपसमा दाँत तिखारेरै दन्तबजान गरे । सधैंझै, अरू सबै नालायक र आफू मात्र लायक भने । सरकार प्रमुख ओलीले साखुले भएर फेरि एकपटक ‘आकाशका तारा झारेर दिन्छु’ भन्न भ्याए ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवालाई नबोलेरै जितिन्छ भन्ने लाग्छ । यसपटक पनि उनी खासै बोलेका छैनन् । यति मात्र भने, ‘ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।‘ उनी यसो भनिरहन्छन् किनभने ओलीले गरेको उधारो बाचाको समय नआउन्जेल यसो भन्नुको विकल्प छैन । बोलौँ, छैटौँ पटक आउन लागेको कीर्तिमानी प्रधानमन्त्रीको अवसर गुम्ला कि भन्ने डर । नबोलौँ, सरकारमा कांग्रेस पनि छ र ? भन्ने अवस्था आइसक्यो । देउवाको अवस्था ‘नखाऊँ भने दिनभरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार’जस्तै छ ।

३२ को म्याजिक नम्बर भुस भएपछि सत्ताबाट बाहिरिएका प्रचण्ड बरबराउन थालेका छन् । सत्तामा पुग्दा छोरी–ज्वाइँ बाहेक केही नदेख्ने उनका साउने आँखाले फेरि एकपटक २०६४ को माओवादी ‘हरियो घाँस’ देख्न थालेका छन् । यही बिचमा आत्माश्लाघामा मुग्ध भएर यतिसम्म पनि भन्न भ्याइसके कि ‘२०६४ मा जहाँ गयो बुढाबुढी, युवायुवती, बच्चाबच्ची एकचोटि छुन पाए हुन्थ्यो भन्ने उभार थियो । अहिले म जहाँ गएको छु । फेरि मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने, २०६४ को जस्तै देखेको छु मैले ।’ उनले यसो भनिरहँदा उनको अनुहारले पनि पत्याइरहेको देखिँदैन, अरूले त कसरी पत्याउने र ?

उनले यस बिचमा एउटा काम चाहिँ जमेर गरेका छन्, रास्वपा सभापति रवि लामिछानेको बचाउ । कुनै बेला रविले भन्ने गरेका ‘नानीको बाबु’ लाई उनैले चितवनबाट गोरखा पठाएका थिए । बाबुरामलाई चकलेट खुवाएर पाएको निर्वाचन क्षेत्रबाट विजयी प्रचण्ड अहिले रविलाई सहकारीको फोहोरबाट धुन साबुन पानी लिएर हरहमेसा हाजिर छन् । संसद् अधिवेशनको पहिलो सम्बोधनमा पनि उनले रविलाई निर्दोष मात्र भनेनन्, सरकारले प्रतिशोध लिएको समेत भन्न भ्याए । यसो भन्दा उनले के बिर्सिरहेका थिए भने रविलाई देशका चार जिल्ला अदालतले प्राप्त प्रमाणको आधारमा निर्दोष भन्न नसकिने फैसला सुनाइसकेका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपा त संसदीय दलका नेता लामिछाने नै निलम्बित भएर गयल भएको अवस्थामा छ । निलम्बनको कारण पनि संगीन छ, ठगी, संगठित अपराध र अकूत सम्पत्ति आर्जन । एक ठाउँमा एउटा मुद्दा हैन, चार ठाउँमा चार मुद्दा । कलंककै टीका हो यो । यस्तो कलंकको टीका लगाएका रवि केही दिन पहिले सांसदलाई विशेष अधिकार हुन्छ भन्ने जस्तो सर्वाधिकारको तर्कसहित निलम्बन फुकुवा गर्ने माग गर्दै दलबदलसहित सभामुखको च्याम्बरमा पुगेका थिए । उनको लामो निवेदनमा तर्क थियो, निलम्बनको आधार छैन ।

सभामुखले पनि आधार भएरै निलम्बन गरेको बताए । त्यसपछि संसदीय दलले निर्णय ग¥यो, रविको निलम्बनको विषयलाई जबरजस्त उठाउने । यो मुद्दाले उनीहरूलाई वैतरणी तार्दैन । परिणाम हाजिर छ, रविका कारण बनेको रास्वपा रविकै कारण सकिने भयो ।

संसद्को विधेयक अधिवेशनको यो चित्रण बेकामे हो । कामको कुरा भनेको विधेयकको हो । त्यसका लागि अध्यादेशको पृष्ठभूमिलाई नजरअन्दाज गर्न मिल्दैन । सरकारले केही दिन पहिले मात्र संसद् अधिवेशन छलेर अध्यादेशको कोतपर्व मच्चाएको थियो ।

स्वभावतः यसको प्रक्रियालाई लिएर चौतर्फी विरोध भयो । सत्तापक्षले प्रक्रियाभन्दा पनि विषयवस्तु र आवश्यकताको जगमा उभिएर प्रतिरक्षा ग¥यो । यसका लागि सत्ता पक्षका खासगरी कांग्रेस र एमालेका आशा गरिएका युवा नेताहरू पनि मोर्चा कसेर लागे । प्रक्रिया नै बेठीक भएपछि उनीहरूले चलाएको विषयवस्तुको भुत्ते हतियारले केही काम गरेन ।

प्रतिस्थापन विधेयक ल्याए पनि राष्ट्रियसभामा बहुमतको आँकडा जोड्न नसकेपछि सरकार लाजमर्दो स्थितिमा पुगेको छ । खासगरी भूमीसम्बन्धी अध्यादेशमा सरकारको नियत पनि सफा देखिएन । राष्ट्रपति कार्यालयमा केही दिन रोकिएर जारी भएको यो विधेयकको प्रतिस्थापन विधेयकमा संशोधन गरेर ल्याउँछु भन्ने वाचा पनि ओलीले पूरा गरेनन् । यसले पनि यो विधेयककै प्याकेजमा अरू विधेयक पनि डम्पिङ हुने सम्भावना बढेर गएको छ ।

यो त संसद् अधिवेशन र त्यसको पछिल्लो अवस्थाको चित्रण भयो । यो सन्दर्भ नेपालका पुराना ठूला तीन दल कांग्रेस, एमाले र माओवादी र नयाँ दल रास्वपा र तीनका शीर्ष नेतृत्वको कुरा नगरी अर्थहीन हुन्छ । पुराना दल नीति रछ्यानमा फालेर नेताले चलाएको धेरै भयो । नेता भन्दा पनि तिनै दलका ‘प्रेमपिण्ड’ हुन् यिनीहरू । प्रेमपिण्ड भनेको गलगाँड हो । दलका लागि मात्र हैन, देशकै लागि गलगाँड हुन् यिनीहरू । न झर्छन् न सुक्छन् – घाँटीमा झुन्डिएको झुण्डियै छन् । अर्को कोणबाट भन्दा यिनीहरू फलित ज्योतिषीहरूले भन्ने गरेका तीन अनिष्ट ग्रह शनि, राहु र केतुजस्तै हुन् ।

नयाँ भनिएका रवि र उनको दल रास्वपा पनि उस्तै पदचाप पछ्याइरहेका छन् । पुरानाका लागि सत्ता नै सबैथोक हो । उनले पनि त्यही बाटो रोजे । अझ उनले त मन्त्रालय पनि त्यही चाहिन्छ भनेर थप पदलोलुपता देखाए । दुई वर्षमा दुई–दुईपटक उपप्रधान तथा गृहमन्त्री रहे । किन रहेछ?, प्रहरी प्रशासनलाई आफ्नो कब्जामा राखेर सहकारी प्रकरणमा जोगाउन रहेछ ।

समयक्रमले सबै पटाक्षेप गरिदियो । आफूलाई जोगाउन देखाउनुपरेको यही पदलोलुपताले नयाँका नाममा राजनीतिमा आएको दुई वर्षमै पुरानोको मयलपोष बन्यो रास्वपा । रास्वपामा जोडिएका सारा आसलाग्दा युवाहरूले पनि त्यही मयलपोषको मैलो भएर आफूलाई सके ।

यो त सुरुवात मात्र हो । बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ यो बिहानीले उसको दिउँसो राम्रो हुने छाँट देखाइरहेको छैन । ठगी, संगठित अपराध र अकुत सम्पत्ति मुद्दाका मिसिलमा संकलित प्रमाणहरू हेर्दा समयक्रममा रविका लागि अरू खुड्कोहरू आउने सम्भावना बढेका छन् ।

यही पारा रह्यो भने रवि र रास्वपाको राजनीतिक यात्रा २०७९ देखि २०८४ सम्म मात्र नहोला भन्न सकिन्न । रवि सकिएपछि उनको वरिपरि जम्मा भएका बाँकी पनि लाखापाखा लाग्नेछन् । यसले नेपालमा नयाँका नाममा हुने अर्को प्रयोग पनि असफल हुनेछ ।

ढिलोचाँडो नेपाल राजनीतिक प्रयोगशाला हुने क्रम सकिनै पर्छ । समस्या पुराना दलमा हैन, तिनको नेतृत्वमा हो । शनि, राहु र केतु नेतृत्वको पतन हुने बित्तिकै आधा समस्या समाधान हुन्छ । बाँकी समस्या नयाँले सम्बोधन गर्दै जान्छन्, त्यसमा समयको पाठशालाले पनि सिकाउँछ ।

यही बिचमा छिमेकी भारतबाट नयाँका लागि थप खराब समाचार आएको छ । दिल्लीमा उदाएको आम आदमी पार्टीलाई भर्खरै त्यहाँको विधानसभा चुनावले थचक्कै बसाएको छ ।

दलका सुप्रिमो अरविन्द केजरीवाल स्वयं चुनावमा नराम्ररी पराजित भए । उनका उपमुख्यमन्त्री सिसौदिया पनि हारे । अरू थुप्रै नेताहरूले पनि पानी पिउन पाएनन् । कुनै समय ७० स्थानमा ६७ स्थान जितेको आम आदमी पार्टी २२ सिटमा खुम्चियो । जीत पनि दिल्लीको मुस्लिम बहुल क्षेत्रमा मात्र हात लाग्यो । दिल्ली मुकाम बनाएर पन्जाबसम्म फैलिएको आम आदमी पार्टी पुनः मिको भव हुने स्थितितिर अगाडि बढ्यो ।

आम आदमी पार्टी भारतमा भ्रष्टाचार विरोधी अन्ना हजारेर आन्दोलनको जगमा उभिएको थियो । जनलोकपालको एक सूत्रीय माग राखेर अगाडि बढेको आन्दोलनमा हजारे सत्ता राजनीतिको कुण्डमा पसेनन् तर त्यही कुण्डमा उनको पछि लागेको केजरीवाल आम आदमी पार्टी बनाएरै राजनीतिमा होमिए । लोकरिझ्याइँका मोहोरा केजरीवाल नयाँका नाममा तीन पटक दिल्लीको मुख्यमन्त्री बने । तर, जति धेरै पटक मुख्यमन्ती बन्दै गए, जनलोकपालको नाममा ज पनि भएन, उल्टै मदिरा काण्डमा तिहाड जेलको बास बस्नुपर्ने स्थिति आयो । दिल्लीबासीलाई लाग्यो, लोकरिझ्याइँवाद समाधान हैन, समस्या हो । त्यसैले यसपटक समस्यालाई नै किनारा लगाइदिए ।

रवि लामिछानेलाई उनका प्रशंसकहरू नेपालको केजरीवाल पनि भन्ने गर्छन् । उनको उत्थान पनि लगभग केजरीवालको जस्तै छ । तर, पृष्ठभूमि र योग्यताको कुरा गर्दा केजरीवालको फेरमा पनि पुग्दैनन् रवि । रविको पृष्ठभूमि हरेक कोणबाट संदिग्ध र विवादास्पद छ, पढाइ कलेजको अनुहारसमेत देखेको हो । तर, केजरीवाल भारतको आइएस अधिकारी भैसकेका र राजनीतिमा आउनुअघि बेदाग पृष्ठभूमि भएका युवा थिए । भ्रष्टाचार विरोधी अभियानले उदाएका केजरीवाल भ्रष्टाचारकै मुद्दामा तिहाड जेल पुगरे राजनीतिक यात्रा एक किसिमले विश्राम गर्ने स्थितिमा पुगे ।

केजरीवालको उत्थान र पतन रविलाई शिरदेखि पाउसम्म देखाउने फूलसाइजको ऐना हो । उनले यो ऐनामा आफ्नो अनुहार नहेरी धरै छैन । ऐनाले रविको शरीरभरि विवादास्पद विगतका दागहरू देखाउने छ । सहकारी प्रकरण त अहिले देखिएको एउटा घाउ मात्र हो, दोहोरो पासपोर्ट लगायतका अनगिन्ती गृह्यखटिराहरू उनको अनुहारमा मात्र हैन, शरीरभरि छन् । उले बुझ्नुपर्ने सत्य के हो भने गृह्यखटिरा ऐनामा हैन, उनको विवादास्पद विगत बोकेको शरीरका अंगअंगमा छ । तर, उनी पुराना राजनीतिक दलका नेताको शरीरको गुह्यखटिरा ऐनाले आफ्नो अनुहारमा देखायो भनेर ऐना नै फुटाउने दुष्कार्यमा लागेका छन् ।

दिल्लीमा केजरीवालसँगै पतनोन्मुख लोकरिझ्याइँबादको पाठशालबाट रविले त सिक्नुपर्ने धेरै छ नै, उनका अनुयायीहरूले पनि यसबाट केही सिक्नैपर्ने हुन्छ । त्यो के भनेको नयाँ हुनु मात्रै छुमन्तर जादु हुनु हैन । अझ त्यसमा पनि विवादास्पद विगत बोकेको पात्र त समाधान त हुँदै हैन, उल्टै समस्या हो । निश्चित पनि केजरीवाल घटनाले रविलाई मात्र हैन, उनमा छुमन्तर जादु ठान्ने जो कोहीलाई पनि ऐठन लाग्ने छ ।

यो परिघटनाबाट नेपालका पुराना दल र तिनका नेताहरूले नयाँ र लोकरिझ्याइँबाद समस्याको समाधान हैन भन्न पाउनेछन् । तर, आफैँ समस्या भएकाहरूले त्यसो भन्नु मुतको न्यानो मात्र ताप्नु हो । फेरि पनि नेपाल र नेपालीको भाग्य र भविष्यमाथि पानी खन्याउने खलपात्र त उनीहरू नै हुन् । यदि उनीहरूले सही काम गरेर दिशानिर्देश गरेको भए नेपालमा न लोकरिझ्याइँबादको गर्भाधान हुन्थ्यो, न त्यो गर्भबाट रवि लामिछानेहरू जस्ता जादुवालाहरू नै जन्मने थिए ।

भनाइ नै छ, दिल्लीमा पानी प¥यो भने नेपालमा छाता ओढिन्छ । यसपटक दिल्लीको नयाँ र लोकरिझ्याइँवादी राजनीतिमा पानी मात्र परेको छैन, मुसलधारे वर्षा नै भएको छ । त्यसबाट नेपालका केजरीवालहरूको जनता झुक्याउने ‘हावा महल’ पनि कहिलै नउठ्ने गरेर ढल्नेछ । यसबाट तत्कालका लागि कसकसलाई नाफा–नोक्सान हुन्छ, त्यसको बहिखाता उनीहरू नै राख्दै गरून् तर यसबाट प्रकारान्तरमा नेपाल र नेपाली पनि लाभान्वित नै हुनेछन् । आखिर नेपालमा चाहिएको पनि यही नै हो ।

प्रकाशित मिति: : 2025-02-13 05:54:00

प्रतिकृया दिनुहोस्