राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले ‘पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्।
आयोजक ‘वान योङ वल्र्ड’ले यस अवार्डको लागि विश्वका १५ युवा नेता तथा मेयरलाई ‘सर्ट लिस्ट’मा समावेश गरेको थियो। उक्त ‘सर्ट लिस्ट’बाट सोवितासहित पाँच जनाले अवार्ड जितेका हुन्।
अवार्ड जित्नेहरुमा सोवितासँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलाती रहेका छन्।
आयोजक ‘वान योङ वल्र्ड’ले सोवितालाई विजुली नभएको गाउँमा जन्मिएकी र सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी भनेर परिचित गराएको छ।
‘सिमित अवसरका कारण ब्रेन ड्रेनले ग्रस्त मुलुकका युवामा उनले आशाको नयाँ भावना जगाएकी छन्, जसले उनीहरूलाई सक्रिय राजनीतिमा संलग्न हुन र सकारात्मक रूपान्तरणका लागि काम गर्न प्रेरित गरेको छ,’ सोविताबारे वान योङ वल्र्डमा भनिएको छ।