पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो।
यस वर्षको महाशिवरात्री पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्री पर्व व्यवस्था मूल समारोह समिति-२०८१’ गठन भई सो मूलसमितिअन्तर्गत १० वटा विभिन्न विषयगत उप-समितिहरूको गठन गरी कार्य प्रारम्भ भइसकेको छ।
फागुन १४ गते बुधबार महाशिवरात्री पर्वमा लाखौंको संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरूलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले उप-समितिहरूको गठन गरेको पनि जानकारी गराएको हो।
यसको साथै, पाशुपत क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण-विक्री वितरण तथा ओसार पसार नगर्न/नगराउन सचेत गरिएको छ।
स्थानीय बासिन्दाहरूका लागि स्थानीय वडा कार्यालयहरूमार्फत जारी गरिएको परिचयपत्र (पास) तथा यस कार्यालयबाट जारी परिचय पासलाई आफ्नो घर/आवास आवत जावतका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्था- नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गरिनेछ। भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कमाण्ड पोष्ट रहनेछ।
यस कमाण्ड पोष्टसँगै खोजखबर कक्षको पनि व्यवस्थापन गरिनेछ। निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सिसि क्यामेरा जडान गरिएका छन्। गोरखनाथ, कैलाश, वनकाली लगायत अन्य आवश्यक स्थलहरूमा सव-कमाण्ड पोष्टहरू खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाईनेछ। ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङ्ग स्थलहरूको व्यवस्था गरिएको छ।
अनुगमन तथा तथ्यांक सङ्कलन- महाशिवरात्री पर्वको पावन अवसरमा स्वदेश तथा विदेशबाट पाल्नु भएका साधुसन्त, महन्थ, तीर्थयात्री, दर्शनार्थी एवं भक्तजनहरू सम्वन्धी विविध गतिविधि तथा क्रियाकलापहरूको अनुगमन गरी आवश्यक तथ्याँकहरू सङ्कलन गर्न दक्ष जनशक्ति खटाईनेछ।
स्वयंसेवा परिचालन- नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरू मार्फत पर्याप्त संख्यामा स्वयंसेवकहरू परिचालित हुनेछन्। स्वयंसेवकहरूले दर्शन लाईनको सहजीकरणका लागि मूल मन्दिरको वाहिरी भागमा बसेर स्वयंसेवा दिनेछन्।
स्वास्थ्य सेवा व्यवस्था- मेला अवधिभर काठमाडौं उपत्यकाका अस्पतालहरूमा केही शय्याहरू आरक्षित गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल साथै अन्य स्वयंसेवी संस्थाहरूसँग समन्वय गरी दक्ष स्वास्थ्यकर्मी, निःशुल्क औषधि, एम्वुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्था मिलाइएको छ।
साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था- स्वयं शिवस्वरुप साधुसन्त तथा धार्मिक व्यक्तित्वहरूको आवास/भोजन, प्रभातफेरी तथा उहाँहरूबाट संचालन हुने धार्मिक कृत्य, पूजाआजा, भजन किर्तन, धुनी कार्यक्रम आदिका लागि समवन्धित उप-समिति मार्फत गुठी संस्थान लगायतका आधिकारीक संस्थाहरूको संयोजनमा आवश्यक व्यवस्था मिलाइएको छ।
प्रचार-प्रसार साजसजावट व्यवस्था- महाशिवरात्री पर्वको शुभ अवसरमा सम्वन्धित सवै सूचनाहरू तथा साजसजावट व्यवस्था बारे सहज जानकारी संप्रेषणका लागि सम्पूर्ण छापा, रेडियो, टेलिभिजन, नेपाल टेलिकम, अनलाईन खबरहरू आदिबाट समन्वयात्मक सहयोग लिइनेछ।
आवास/भोजन तथा भौतिक पूर्वाधार व्यवस्था- हंशमण्डप, वनकाली, तिलगंगा तथा उत्तरी भागमा विविध संघ/संस्थाहरू मार्फत निःशुल्क आवास, सात्विक भोजन, चिया पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। यी क्षेत्रमा अस्थायी शौचालयहरूको पनि व्यवस्थापन गरिएको छ। भोजन वितरण गर्ने संस्थाहरूले कागज, पात आदिबाट बनेको कप, प्लेट मात्रै प्रयोगमा ल्याउनु पर्नेछ। काँच र प्लाष्टिकको प्रयोगलाई पूर्ण निषेध गरिएको छ।
मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रिकालिन व्यवस्था- देवाधिदेव महादेव आशुतोष भगवान श्रीपशुपतिनाथको नित्य/नैमित्तिक परम्परा नरोकिने गरी सम्पूर्ण दर्शनार्थीहरूका लागि चारैवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन-पूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालिन अर्चनाको व्यवस्था मिलाइएको छ।
वातावरण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्था- २०८१/११/१२ गते विहान ७ः३० बजेदेखि ऐ. १६ गतेसम्म पाशुपत क्षेत्रः विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ। दर्शनार्थीहरूलाई तोकिएको स्थानमा जुत्ता चप्पल फुकाली प्लाष्टिक रहित भई दर्शन-पूजन गर्न निःशुल्क व्यवस्था गरिएका शौचालयहरूको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
महाशिवरात्री पर्व, २०८१ को सचिवालय- माथि उल्लेखित ९ वटै उप-समितिहरू तथा मूल समारोह समितिसँग सम्बन्धित कुनैपनि जानकारी आवश्यक परेमा कोषका कार्यकारी निर्देशकज्यूको संयोजकत्वको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।