सवारी चालक अनुमति पत्र अनलाइनबाट लिन पाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार अनलाइन सेवाको शुभारम्भ गरेसँगै अब सवारी चालक अनुमति पत्र अनलाइनबाट पाइने भएको हो।
हाल सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन दिन पाइने भएपनि अन्य कामका लागि यातायात कार्यालयमा पुग्नुपर्छ। जसले गर्दा कार्यालयमा सेवाग्राही धेरै भएको, कर्मचारी अभाव भएको भन्दै सहज सेवाका लागि अनलाइन सेवा शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए।
अनलाइन सेवा शुभारम्भ भएसँगै अब लिखित र प्रयोगात्म परीक्षा दिन मात्र यातायात कार्यालयमा पुग्नुपर्ने छ। बाँकी आवेदन दिन, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्न, राजस्व भुक्तानी गर्ने लगायतका काम अनलाइनबाटै हुने मन्त्री ज्वालाले बताए।
अनलाइन सेवाको भोलि (असार २० गते) देखि गण्डकी प्रदेशबाट सुरु हुनेछ। बाँकी प्रदेशमा एक महिनाभित्र सेवा शुभारम्भ गरिसक्ने मन्त्री ज्वावाले जानकारी दिए।