कविता

कलियुगको बाउ

मेरो घरमा लक्ष्मी आइन् 
घर मेरो
परिवार हाम्रो सम्पुर्ण भयो
तर है लक्ष्मी 
तिमीले जुन धरामा जन्म लिएकी छौं 
त्यहीँ तिमी सधै लक्ष्मी भएर नै बाँच्न  सक्दिनौं

त्यही भएर तिमी आउँदा लक्ष्मी रूपमा आए पनी
तिमीले काली रूप  झट्टै लिनु पर्छ,
नत्र भने यहाँ महिषासुरले तिमीलाई पछ्याउँदै 
हिड्ने गर्छ ।
तिमी सीता भएर कुनै रामको पर्खाइमा नबस्नु
हनुमान आउने छैनन् , समुद्र तरेर तिम्रो  खोजीमा
मेरी लक्ष्मी 
किनभने तिमी बैकुण्ठ धाममा होइन, 
कलियुगको कालमा छौ

तिमी द्रौपदी झै अपमान सहेर,
कुनै महाभारतको प्रतीक्षामा नबस्नु
तिम्रो लागि भीमसेनले दुशासनको छाती चिरेर 
रगत ल्याउन सक्तैन
न कुनै गधा, युद्धले दुर्योधनको जङ्ग तोड्न सक्छ 

धेरै निर्वस्त आँखाहरूले तिमीलाई 
निर्वस्त हेरिरहेका हुन्छन् ।
त्यही भएर तिमी वाशुदेवको आशामा पनि नपर्नु
मेरी लक्ष्मी ।

म कहिले राजा जनक बनौला,
त कहिले राजा ध्रुपद
त्यही भएर तिम्रो संरक्षण म गर्न सक्तिन 
मेरी लक्ष्मी ।

अब तिमीले आफ्नो रूप आफै फेर्नु पर्छ,
न राम, न लक्ष्मण
न कृष्ण, न हनुमान 
तिम्रो लागि यहाँ अरू कोहि आउदैनन् । 
मेरी लक्षी ।

तिमीलाई थाहा छ! मेरी लक्ष्मी 
कालखण्डमा निकै चर्को दिन आउँदैछ,
अब त्यही भएर, मेरी लक्ष्मी 
पुरुषको पाखुरामा बाच्ने आधार तिमीले त्याग्नु पर्छ।
तिमी अब रणचण्डी भएरै बाच्नु पर्छ,
हातमा शास्त्रमात्र होइन,
अब अस्त्र पनि लिएर हिड्नु पर्छ।
अनि महिषासुरको वध फेरि गर्नुपर्छ 
मेरी लक्ष्मी ।

प्रकाशित मिति: : 2021-06-30 06:54:00

प्रतिकृया दिनुहोस्