आइतबार पोखरास्थित हुलदंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ।
घटनाबारे अनुसन्धानका लागि सोमबार सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए।
सिन्धुपाल्चोक घर भएकी सन्तोषी शनिबार राती ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने पारिवारले आशंका गरेको छ।
परिवारले सशस्त्रकै एक इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएका छन्।
स्रोतका अनुसार महत सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थिइन्। तर, प्रेम सम्बन्धमा समस्या आएपछि उनले आत्महत्याको बाटो रोजेको हुनसक्ने स्रोतले बतायो।
उनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता न्यौपानेले बताए। उनको शव अस्पतालमै राखिएको छ।
सन्तोषीका बाबु-आमा हाल अष्ट्रेलियामा रहेका र उनीहरू नेपाल आएपछि मात्र अन्त्येष्टि गरिने पारिवारीक स्रोतले बतायो।