प्रचण्डद्वारा युद्धको घाेषणा: परिवर्तन विरोधीलाई ठेगान लगाउने चेतावनी 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको मोर्चालाई युद्ध नाम दिएका छन्।

सोमबार राष्ट्रियसभा गृहमा चार दलबीच भएको ‘समाजवादी मोर्चा नेपाल’ घोषणा गर्दै प्रचण्डले उक्त मोर्चालाई एक युद्धको घोषणा रहेको पनि उद्घोष गरे।

परिवर्तनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक प्रतिगामी प्रवृतिका केही मानिसहरुले टाउको उठाउन खोजेको भन्दै उनले उनीहरुका विरुद्धमा मोर्चा घोषणा एक युद्धको घोषणा रहेको जिकिर गरे।

‘७०/७५ वर्षदेखिको संघर्षबाट, हजारौँ सहिदहरु र बेपत्ता योद्धाहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने खोज्ने अराजक प्रतिगामी प्रवृत्तिका केही मानिसहरुले टाउको उठाउन खोजेकै छ,’ उनले भने, ‘के कुरा साँचो हो भने यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो।  यो मोर्चा सबैखाले मोर्चासँग बराबरी होइन।’

प्रचण्डले अगाडि भने, ‘यो मोर्चा ७०/७५ वर्षको संघर्षबाट जेल-नेल, बलिदानको कृतिमान कायम गरेर स्थापित भएको जनताको अधिकार खोसेर फेरि देशलाई प्रतिगमनको, फेरि देशलाई हिजोको सामन्ति, निरंकुशतर्फ फर्काउन चाहनेहरुका विरुद्ध एउटा नयाँ अभियान र युद्ध पक्कै पनि हो।  तिनीहरुलाई चुनौति पक्कै पनि हो।’

लामो संघर्ष र हजारौको बलिदानबाट आएको परिवर्तनलाई उल्ट्याउन खोज्नेलाई चेतावनी दिँदै प्रचण्डले भने, ‘हामीलाई सह्य छैन, जनताको त्यति लामो बलिदानबाट आएको उपलब्धि उल्ट्याउन खोज्ने र त्यसलाई निस्तेज पार्न खोज्ने, प्रतिक्रान्तिका विरुद्ध, प्रतिगामीविरुद्ध देशलाई फेरि अँध्यारोतिर लैजाने खोज्नेविरुद्ध समाजवादी नेपाल हो।’

प्रकाशित मिति: : 2023-06-19 20:25:00

प्रतिकृया दिनुहोस्