कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्रीले भने- संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ, गुनासो नआउने गरी काम गर्नुहोला

माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन्।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन्।

‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि ‘बिजनेश’ दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्,’ मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। गुनासो नआउने गरी काम गर्नुहोला।’

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे।

बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही ‘बिलहरू’ पेश गर्न सकिने गरी तयारी गरिएको बताए।

सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2024-01-30 13:51:00

प्रतिकृया दिनुहोस्