तनहुँमा यात्रुवाहक बसमा ‘डस्टविन’ राख्न पत्राचार

फाइल तस्बिर
फाइल तस्बिर

तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ।

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’को व्यवस्था मिलाउन पत्राचार गरेको हो। 

जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिएका छन्। उनले भने, 'नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ।'

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताएका छन्। जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक रु तीन हजार र दोस्रोपटक रु सात हजारसम्म जरिवाना गरिने उनले जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2023-06-11 06:37:00

प्रतिकृया दिनुहोस्