म गाउँमा जन्में। गाउँकै रहनसहन, चालचलन र परिवेशमा हुर्कें। लगभग आठ वर्षकी हुन्जेलसम्म त्यही गाउँमा रमाएँ। मेरो बुबा शिक्षक हुनुहुन्थ्यो। बाबुआमाको चाहना छोराछोरीलाई अलिकति सुविधा भएको ठाउँमा लैजाने र गुणस्तरीय शिक्षा दिई असल बनाउने थियो। हो, त्यही चाहना सायद वहाँहरूले हामी नजन्मदै गर्नुभएको थियो होला तर बल्ल म आठ वर्ष पुग्दामात्र त्यो सपना साकार पार्न सफल हुनुभयो उहाँहरू।
हामी धनकुटाको हुलाकटोलमा घर किनेर बसाइँ सर्यौं। बुबामात्र गाउँमा बस्नुहुन्थ्यो। हामी दाइ, दिदी, आमा र ममात्र धनकुटा आयौं। हामी गाउँमा हुर्केका सहर पटक्कै पचेन। गाउँको याद बरोबर आइरहन्थ्यो। गाउँमा हामी डल्ली, बच्चे, भुन्टी, छलीमाया र साइँलीसँग धुलामा भात पकाइ खेल्थ्यौं, झुम्राको गोल बनाएर ढुङ्गा लडाइ खेल्थ्यौं, बारीका कान्लातिर लुकामारी खेल्थ्यौं।
स्कूलबाट घर फर्कंदा मानेडाँडामा एकदुई घण्टा जति कपर्दी, डुम, लुकामारी खेल्थ्यौं र साँझमामात्र घर पुग्थ्यौं अनि कोदोको रोटीमा झगडा गथ्र्यौं तर सहरमा डल्ली, बच्चे र भुन्टीहरू थिएनन्। भात पकाइ खेल्नलाई माटो थिएन, ढुङ्गा लडाई खेल्नलाई ढुङ्गा थिएनन्। जताततै सिमेन्टेड् गरिएका रोडहरूमात्र थिए। झुम्राको गोलको साटो भलिबल थियो, स्कूल पुग्नलाई रोडै–रोड पाँच मिनेट लाग्थ्यो। गाउँको जस्तो खेल्नलाई मानेडाँडो थिएन। सहरमा पनि खाजा कोदोको रोटी नै माग्थ्यौं आमालाई। वास्तवमा सहरमा हामी कति पनि खुसी थिएनौं। एकदुईदिन छुट्टि भयो भने गाउँतिर कुदिहाल्थ्यौं। कति नै टाढा थियो र धनकुटादेखि हाँङ्गुम पुग्नलाई। कहिले काहीँ त आमालाई ढाँटेर दाइ र म भागेर गाउँ जान्थ्यौं। जे होस् हाम्रा लागि गाउँमा बिताएका पल र गाउँ यति आनन्द थियो कि त्यो आनन्दको बारेमा न त स्वर्गलाई थाहा छ, न त दरबारीया सुखको घमण्ड गर्नेहरूलाई।
समय परिवर्तनशील छ, मूल्यवान छ र स्वार्थी पनि। किनकि समय आफूमात्र परिवर्तन हुन चाहँदैन। संगसँगै हरेक चिजवस्तु र मानवलाई पनि परिवर्तन गर्दै लैजान्छ। मैले आफ्नो उमेरसँगै गाउँलाई भुल्दै सहरको रमझममा रुमलिन पुगें। अब मलाई गाउँ जाने त्यत्ति फुर्सद पनि हुन छाड्यो। म कहिले डान्स सिक्न जान्थें, कहिले साइबर क्याफे जान्थें, कहिले कसैको वर्थडे। अलिक लामो समय स्कूल बिदा भयो भने धरानको बूढासुब्बा, दन्तकाली अनि शान्ती वन र हरियाली पार्कतिर घुम्न जान्थें। यति सम्म कि अब त मलाई गाउँमा जन्मिएकी हुँ भन्न पनि लाज लाग्न थालिसकेको थियो। साथीहरूले ‘पाखे’ भन्ने हुन् कि भनेर डर लाग्थ्यो।
धनकुटाबाट एस.एल.सी. पा स गरेपछि मैले दमक बहुमुखी क्याम्पस पढ्ने मनसाय प्रकट गरें। दिदीको बिहे भइसकेको थियो। दाइ उच्च शिक्षाका लागि काठमाण्डौं गइसक्नु भएको थियो। आमाले “म एक्लै हुन्छु यहीँ पढ छोरी” भनेर धेरै कर गर्नुभयो तर म मानिन। “आमा, घर बसेर प्रगति हुँदैन। प्रगति गर्नलाई घरबाट बाहिर निस्कनै पर्छ। अहिले प्रगति गर्ने समयमा पारिवारिक माया, मोहमा डुबें भने प्रगति गर्न सकिन्न। मेरो यो उमेर भनेको प्रगति गर्ने उमेर हो त्यसैले म अहिले कठोर परिश्रमका साथ प्रगतिको मैदानमा सफलतासँग युद्ध भिड्दैछु, मलाई नरोक्नोस् आमा।” आमा केही बोल्नु भएन दिनभरी चिन्तित देखें आमालाई। शुक्रबारको दिन भएकोले साँझमा बुबा पनि घर आइपुग्नुभयो। “वार्षिक परीक्षा पनि सकियो त स्कूल कतिदिन बिदा हो बुबा।”
“एकहप्ता।” बुबाले छोटो उत्तर दिनुभयो। मैले हतार–हतार खाना पकाएँ। तीनैजनाले खायौं र आ–आफ्नो कोठातिर लाग्यौं। मैले पल्लो कोठामा आमाबुबाले गुनगुन गफ गरिरहेको रेडियो बन्द गरेर चालमारेर सुनें। आमाले दिउँसो आमा र मबीच भएको सबै कुराकानी बुबालाई सुनाउँदै हुनुहुन्थ्यो। बुबाले मलाई दमक पठाउने कुरामा सहमती जनाउनुभयो र पढाई सुरु भइसक्यो भोलि नै पठाउनुपर्छ भनेको सुने खुसीले रातभर निद्रै परेन।
बुबाले मलाई दमक लिएर जानुभयो र क्याम्पस मोडमै डेरा खोजेर राखिदिनुभयो। अनि निक्कैबेर अर्ति उपदेश दिनुभयो। बुबाको स्कूल सुरु भइसकेकोले फर्किहाल्नु भयो। म डेरा बसेको पर्सिपल्ट क्याम्पस पुगें। सर्वप्रथम फम भर्नु थियो, म प्रशासनमा गएर फम मागेर भर्न थालें। फम भर्न नजानेर पटक–पटक मेडमलाई सोध्दा झर्केर “त्यति पनि भर्न आउँदैन?” भन्दै गाली गरिन्। मैले दोहोर्याएर सोध्ने आँट गरिन। अलमलिदै फम भर्दै थिएँ, छेउमै एउटा गाउँले केटो उभिएको थियो म अलमलिएको देखेर उसले यहाँ यस्तो भर्नु, यहाँ यस्तो, यहाँ..... भनेर सिकाउँदै गयो। हेर्दा त नपत्याउँदो सोझो देखिन्थ्यो तर उसको चतुर्याइँदेखि म छक्क परें। म सहरको रमझममा भुलिएकी मान्छे गाउँलेलाई वास्ता पनि गर्दिनथें तर उसले मलाई ठूलै गुन लगाए जस्तो लाग्यो मलाई।
हामीले परिचय गर्यौं। उसको नाम चित्रवहादुर रहेछ। सबैले उसलाई चित्रे–चित्रे भनेर बोलाउँदारहेछन्। ऊ एकदमै चन्चले, बाठो र जोकर थियो। ऊ गाउँका के–के कुरा सुनाउँदै अरुलाई आश्चर्य चकित पाथ्र्यो। त्यतिबेला मलाई म पनि गाउँले हुँ भन्न मन लाग्थ्यो। अलिअलि गर्दै मेरो ध्यान चित्रेतर्फ तानिन थाल्यो। त्यसैले होला ऊ त धेरै नजिकको साथी लाग्न थाल्यो मलाई। मलाईमात्र होइन चित्रे एकदिन कलेज आएन भने सबैलाई चासो हुन्थ्यो। पर्सिदेखि जाडो बिदा भनेर सरले सूचना सुनाउनु भयो। भोलिपल्ट चित्रे आएन। हामीले आजै घर गयो क्यारे भन्ने अड्कल काट्यौं। त्यसदिन मलाई टाउको दुःखेकाले अन्तिम घण्टी नपढी कोठामा आएँ अनि खाना पकाएर खाएँ र बेलुकाको आठ बजे नै सुतें। निक्कैबेर निद्रा परेन, चित्रेलाई निक्कैबेर सोचें। ‘साह्रै रमाइलो मान्छे थियो, कलेजमा कहिल्यै दिक्क नलाग्ने, हँसाइरहन्थ्यो अब कतिदिनमा भेट हुने हो। हैन, मलाई चित्रेको यादले किन यति धेरै सताउँछ, आखिर को हो चित्रे मेरो? के म चित्रे प्रति आकर्षित हुँदैछु? अनेक कुरा खेलाउँदै सिरकमा गुटुमटुु परें।
‘चित्रेले मलाई “मेरो गाउँ जाऊँ” भन्यो। मैले सजिलै सहमतिमा टाउको हल्लाएँ। मैले उसको गाउँ कति टाढा छ ख्यालै गरिन। जब हामी लेटाङदेखि उकालो चढ्यौं, म थकित भएर हिँड्नै सकिन। मैले चित्रेको हात समातें। बाटामा चित्रेले ‘यो लालीगुराँसको बोट हो, यो कटुसको रुख हो, यो हर्राको बोट हो, अनि त्यो कुहु–कुहु आवाज निकाल्ने कोइली चरी हो’ भन्दै चिनाउँथ्यो। म “अँ मलाई पनि थाहा छ, भनिरहनु पर्दैन” भन्दै झर्किन्थें। ‘तिमी त सहरमा हुर्केकी मान्छे, खुल्ला आकाश त राम्रोसँग देखेकी थिइनौ होला १ यस्ता बोटबिरुवाहरू र कोइली भाका कसरी चिन्छ्यौ त? थाहा छ हामी त जूनसँग खेलेर हुर्केका। आकाशमा जूनलाई हेर्दै कहिले जूनलाई पछ्याउँथ्यौं, कहिले जूनले हामीलाई पछ्याउँथ्यो।’
चित्रेले त्यसो भन्दा मलाई गाउँको याद झलझली आयो। मलाई कसैले ‘पाखे’ भने खुसी हुन्छु जस्तै लाग्यो। वास्तवमा हामी गाउँमा जन्मिएर गाउँले जीवन भोग्न पाउनेहरू त साँच्चै महान पो रहेछौं। मलाई गाउँमा जन्मिएकोमा मन–मनै गर्व लागिरहेको थियो। मैले ठट्टाको पारामा चित्रेलाई “आज हामी जूनसँग खेल्ने है” भने। चित्रेले हाँस्दै ‘आजदेखि औंसी सुरु भयो’ भन्यो। हिँड्दा–हिँड्दै म अनेकौं कुरा सोच्दै एकोहोरिएछु। चित्रेले झस्काउँदै सोध्यो ‘ल सबै थाहा हुनेले भन त यो चाहीँ केको रुख हो्?’ भन्दै खनिउँको रुख देखायो। मैले हत्तपत्त “खनिउँ” भनें। सानै छँदा खनिउँका बोट वरिपरि घुम्दै झिक्राले खनिउँ कोट्याएर खाएको सम्झँदै थिएँ।
चित्रेले मलाई फेरि पनि एउटा पहेंलो–पहेंलो सेतो–सेतो फूल फुलेको रुख देखाएर ‘यो केको रुख हो?’ भन्दै सोध्यो। म कति सम्झन खोज्छु नामै आएन। अनि टार्दै भनें “यहाँ आफूलाई कस्तो भोक लागिरहेको छ, पहिले खाजा खाने ठाउँ आइपुगोस् अनिमात्र भन्छु।” भनेर घुर्की लगाएँ, अनि त्यो बोटको नाम सम्झने प्रयास गर्न थालें। यति सम्म थाहा छ मलाई त्यो बोटको बारेमा, आँपका भन्दा अलि ठूला, लाम्चा पात, ठूलो रुख, सेतो–सेतो पहेंलो–पहेंलो फुलेको, एकखालको मिठो वस्ना आउने। गाउँमा हुँदा हाम्रा हजुरबाले हामीलाई एउटा डाली दिएर पूजाका लागि टिप्न पठाउनु हुन्थ्यो। हामी रुखमा चढ्न नसकेर भूइँमा झरेका टिपेर ल्याउँथ्यौं।
यतिसम्म थाहा हुँदा–हुँदै पनि, कति प्रयास गर्दा पनि सम्झन सकेकी थिइन। म यसो उकालो हेर्छु अलि माथि एउटा खाजा खाने ठाउँ टुक्रेपनि देखिँदै हुन्छ। त्यहाँ नपुगी मैले चित्रेलाई त्यो फूलको नाम बताउनु थियो।’ “भूकम्प” म एक्कासी चिच्याएछु अनि यताउती हेरें। मोबाइल भाइब्रेसनमा थियो। बिहानको पाँच बजिसकेछ। उही चित्रेको मिस्कलले खाट थर्किँदा केहीदिन अगाडि आएको भूकम्पको झ–झल्कोले “भूकम्प” भन्दै चिच्याएर ब्यूँझेछु ब्यूँझिने बित्तिकै मैले सपनामा सम्झन नसकेको फूलको नाम सम्झें ‘चुवा’। म बेलुुका टाउको दुखेर बेलैमा चित्रेलाई सम्झँदै सुतेकाले यस्तो सपना देखेँछु। तर मलाई ब्यूँझेकोमा पश्चाताप लाग्यो किनकि मैले सपनामा चित्रेलाई ‘चुवा’ भन्नै नपाई ब्यूँझिएँ।