सङ्घीय निजामती सेवा ऐन यसै अधिवेशनबाट जारी हुन्छः मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती कर्मचारी सेवा ऐन यसै अधिवेशनबाट ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीको आदेशानुसार दिनरात खटेर सरोकारवाला सबै पक्षसँग गरिएको चरणबद्ध छलफलबाट प्राप्त रायसुझावलाई समेत समेटेर तयार गरिएको निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित हुनेछ ।

ऐन निर्माण प्रक्रियाअन्तर्गत सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा करिब साढे दुई महिनाअघि मस्यौदा पठाएको जानकारी गराउँदै उनले ती मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया पूरा गरी निजामती सेवा ऐन जारी गरिनेछ।

कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको जानकारी दिँदै मन्त्री मोदीले व्यापक दबाबका बाबजुद पालिकाको प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनमा पनि उल्लेख्य सफलता प्राप्त गरेको बताए।

कतिपय पालिकाको असहयोगका कारण केही स्थानमा अझै निमित्तको भरमा कर्मचारी प्रशासन सञ्चालन गर्न बाध्य हुनुपरेको स्पष्ट गर्दै उहाँले असार महिनापछि कडाइका साथ सबै पालिकामा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरिने दृढता व्यक्त गरे।

निजामती अस्पतालमा राष्ट्रियस्तरका खेलाडी, कलाकारलगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई राष्ट्रसेवक कर्मचारी सरह औषधोपचारको व्यवस्था गर्नलागेको बताउँदै सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्रका आधारमा पत्रकारलाई पनि सो सुविधा दिने विषयमा छलफल भइरहेको मन्त्री मोदीले जानकारी दिए।

मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले कर्मचारीको सरुवा तथा पदस्थापना र सूचनाको हकसम्बन्धी अनावश्यक निवेदन र उजुरीका कारण मन्त्रालयको कामकाज प्रभावित हुनेगरेको उल्लेख गर्दै स्पष्ट मापदण्ड र कार्ययोजनासहित जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रालय सफल भएको धारणा व्यक्त गरे। सोही मन्त्रालयका प्रवक्ता कमल भट्टराईले कर्मचारी सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, दीगो विकाससहित सुशासन कायम गर्न मन्त्रालय परिवार एकजुट रहेको स्पष्ट गरे।

प्रकाशित मिति: : 2023-06-08 21:27:00

प्रतिकृया दिनुहोस्