झलनाथ खनालको चुनौती- मैले एक पैसा खाएको देखाइदेउ, हत्कडी लगाउन तयार छु

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरुप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थालेको बताएका छन्।

पूर्व प्रधानमन्त्री खनालले मङ्गलबार एक कार्यक्रममा केही युवाले असहिष्णु रुपमा गरेको नाराबाजीबारे आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक नेतृत्व सच्चिएर रुपान्तरणका विरुद्धमा भइरहेका अराजक गतिविधिलाई निस्तेज पार्नुपर्ने बताएका हुन्।

‘यो अराजक प्रवृति र पुनरोत्थानवादी प्रवृति मात्रै हो, अरु केही होइन। यसले समाजको रुपान्तरणको आमप्रवाहलाई रोक्न सक्दैन, तर जुन रुपमा राजनीतिक नेतृत्वले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुसारको व्यवहार र कार्यशैली अपनाउनुपर्ने हो, त्यसो नहुँदा श्रमजीविको पक्षमा काम गर्ने राजनीति शक्ति र नेतृत्वमाथि आक्रमणको प्रयास भएको हो,’ उनले भने।

पूर्व प्रधानमन्त्री खनालले ‘पञ्चायती व्यवस्थाका ३० वर्षमा तत्कालीन राजाहरूको पालामा भएका भ्रष्टाचारका काण्डै काण्डहरूको मुण्डमाला’को विरुद्ध लडाइँ लडेका नेताहरूमाथि तथानाम र असहिष्णु शैलीमा गालीगलौजमा उत्रिनु खेदजनक रहेको बताए।

उनले आफूमाथि आइलागेको आरोपको खण्डन गरे। ‘श्रमजीवी जनताको पक्षमा हामी लडेका छौँ, जीवनपर्यन्त लडिरहने छौँ। म एउटै प्रश्न गर्न चाहन्छु, झलनाथ खनालले एक पैसा पनि खाएको देखाइदेउ त? म दोषी भए पहिलो नम्बरमा हत्कडी लगाउन म नै तयार छु,’ उनले चुनौतीका साथ भने।

सर्पपालनको विषय के हो?

पूर्व प्रधानमन्त्री खनालले ‘एन्टी स्नेक भेनम’ निर्माणका लागि सर्लाहीका अगुवाहरूले गरेको प्रयासलाई विवादित बनाइएको बताउँदै चिन्ता व्यक्त गरे। उनका अनुसार २०७० को आमनिर्वाचनमा सर्लाही क्षेत्र नं. एकमा उम्मेदवारी दिँदा यो कार्यक्रम सुरु गर्ने तयारी भएको थियो।

‘चुनावी प्रचारप्रसारको क्रममा हामी सर्लाहीमा थियौँ। एकदिन बिहानै एउटा गाउँमा पुग्दा एउटा बालकलाई आँगनमा सुताइएको थियो। हामीले के भएको भनेर बुझ्दा सर्पले टोकेको रहेछ र आधा घण्टाभन्दा बढी नबाँच्ने कुरा थाहा पायौँ। त्यसपछि सर्लाहीकै साथीहरूले मेरो नाम प्रयोग गरेर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भन्नुभयो।’

उनले सुरुमै विवाद आउँछ कि भन्ने शंका गरे पनि सामाजिक कामका लागि आफ्नो नाम प्रयोग गर्न दिएको बताए। ‘यसमा म संलग्न छैन। मेरो नाम मात्रै प्रयोग भएको हो। मधेश प्रदेशले केही बजेट प्रतिष्ठानले दिएको थियो। अहिले प्रतिष्ठानबाट मेरो नाम अलग गरिएको छ। राम्रो उद्देश्य राखेर संस्था स्थापना गरिए पनि समाजका अराजक झुण्डले गलत प्रचार गरेका हुन्, सरकारले १५–१६ जति करोड दिएको हो। ७२ करोड होइन,’ उनले भने।

प्रकाशित मिति: : 2023-05-31 16:38:00

प्रतिकृया दिनुहोस्