आधार स्तम्भ

फोहोरले भरिएको धोबीखोला किनारमा यसरी बन्यो टल्किने करिडोर (भिडियो रिपोर्ट)

कमल विक

काठमाडौं

बाहिरबाट जति मनमोहक सोचिएको छ त्यसको ठिक विपरीत छ, काठमाडौँ। काठमाडौँको भूगोलमा समस्या र चुनौतिका खात छन। अस्वस्थ हावापानी, फोहोर र ट्राफिक जाम यहाँका प्रमुख चुनौती हुन्। यिनै समस्याले राजधानीवासीको जनजीवन कष्टकर बनिरहेको छ।

यी समस्या समाधानको लागि कुनै विशेष योजनाहरु नभएको राजधानीमा केही कामहरु भने उदाहरणीय छन्। जसले काठमाडौँलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। त्यसमध्ये एउटा हो, धोबिखोला करिडोर।

काठमाडौँ उपत्यकाको भित्री रिङराेड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि जापानी सहयोग नियोग (जाइका)को सन १९९३ को अध्ययन प्रतिवेदनअनुसार वि.सं. २०५९ सालदेखि सुरु गरिएको धोबीखोला सुधार अयोजना (हाल योजना विस्तारसँगै नाम परिवर्तन गरी ‘धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना’ राखिएको छ)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

०५९ बाट योजना सुरु भई आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण कार्य सुरु भएको करिडोरको हालसम्म करिब ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। निर्माण कार्य पूर्णरुपमा नसकिँदै सञ्चालनमा रहेको यो करिडोरले काठमाडौँको सवारी अवागमनलाई सहज बनाएको छ।

काठमाडौँका मुख्य सडकमा हुने दिक्कलाग्दो ट्राफिक जामको विकल्पका रुपमा रहेको यो करिडोरले राजधानीवासीको जीवनशैलीमा सहजता प्रदान गरेको छ। यसले मुख्य सडकमा हुने ट्राफिक चाप कम गर्नुका साथै यात्राको दुरी समेत घटाएको छ।

धोबीखोला करिडोर बागमती दोभानस्थित खैरोपुलबाट सुरु भई बिजुली बजारको भित्री क्षेत्र, अनामनगरको भित्री क्षेत्र, कालोपुल, चाबहिल, कपन हुँदै भङ्गालस्थित राममन्दिरसम्म पुग्छ। सुरुमा ११ किलोमिटर निर्माणको उद्देश्य राखिए पनि पछि बिस्तार गरेर २४ किलोमिटर पुर्‍याइएको छ। करिडोरको सडकको चौडाइ फुटपातसहित ९ मिटर तोकिएको छ।

‘सुरुमा आयोजना अन्तर्गत ११ किलोमिटर करिडोर निर्माण गर्ने योजना थियो तर पछि विभिन्न चरणमा आयोजना बिस्तार गरी २४ किलोमिटर पुर्‍याइएको छ। सुरुवाती योजनाभन्दा यो आयोजना अहिले ठुलो र प्रभावकारी बनेको छ,’ करिडोर आयोजनाका इन्जिनियर सज्जन कुँवरले बिएल नेपाली सेवासँग भने।

करिडोर निर्माणले सहरको भित्री भागको यातायात व्यवस्थापनमा सुधार, नदीको अतिक्रमण तथा नदी नियन्त्रण, खोलाको प्रदुषित वातावरणमा सुधार, व्यवस्थित व्यापारिक तथा आवसीय क्षेत्रको विकासमा टेवा पुर्‍याएको छ। यसरी विगतमा फोहोरको ढङ्गुरले भरिने धोबीखोला किनार अहिले राजधानीवासीको प्रिय क्षेत्र बनेको छ।

‘पहिला त यो खोला सफा थियो तर पछि यहाँ हिँडिसक्नु भएन, जताजतै फोहोरै फोहोर,’ अनामनगर विशाल महजर्जन बताउँछन्,‘जब काठमाडौँ विकास प्राधिकरणले करिडोर बनायो त्यसपछि खोलाको मुहार नै फेरियो। यसलाई थप सुन्दर बनाए काइदा हुन्छ।’ दैनिक यही करिडोर हुँदै यात्रा गर्ने मानिसहरु यो आयोजनाले समयको बचतसँगै यात्रामा सहज भएको बताउँछन्।

‘मैले ट्याक्सी चलाउँदा भित्री सडकहरुमा जाम हुँदा करिडोरबाटै हिँड्छु। यहाँबाट हिँड्न धेरै सजिलो पनि हुन्छ, समयको पनि बचत हुन्छ,’ लामो समयदेखि काठमाडौँमा ट्याक्सी चलाइरहेका मोहन राईले भने।

यसरी लामो समयदेखि यही आयोजनामा आबद्ध रहेर काम गरिरहेका काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत काठमाडौँ विकास आयुक्त जगदिश लामिछानेले यो करिडोरले काठमाडौँलाई थप निकास दिएको बताउँछन्।

‘काठमाडौँमा सवारी चाप बढ्दै गएको अवस्थामा रिङरोडलगायतका बाटाहरुले थेग्न नसक्ने भएसँगै विशेष त काठमाडौँको मुख्य क्षेत्रलाई जोड्ने गरी निकास पनि चाहिएको अवस्था थियो,’ उनले भने, ‘आयोजनाको काम अन्तिम चरणमा पुग्दै गर्दा ट्राफिक व्यवस्थापनमा यसका फाइदाहरु देखिन थालेका छन्।’ काठमाडौँको लागि यो आयोजना गौरव गर्न लागयक रहेको उनले बताए।

तर, अहिले पनि फोहोर व्यवस्थापनको विषय करिडोरको मुख्य चुनौतीका रुपमा रहेको उनको भनाइ छ। काठमाडौँबाट निस्कने फोहोर व्यवस्थापनको लागि राज्यले ‘डम्पिङ साइट’को सही व्यवस्थापन नगर्दा मानिसहरुले खोलामै फोहोर फाल्ने बानीको कारण केही समस्या भइरहेको छ।

त्यस्तै करिडाेर बनेपछि ट्राफिक व्यवस्थापनमा सहज भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन्।

फाेटाे/भिडियाे: मदन नेपाली, शनि शाक्य, माैसमी राई।

प्रकाशित मिति: : 2022-12-21 22:15:00

प्रतिकृया दिनुहोस्