मणिपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, जसमा दुई महिलालाई ‘नग्न बनाएर हिँडाएको’ छ। अनि, हिंसाग्रस्त मणिपुरबाटै भाइरल अर्को डरलाग्दो भिडियो हेर्नूभयो?
पक्कै छैन! अब त्यो भिडियो नहेरेपनि हुन्छ। तर, तपाईंलाई भारतीय राज्य मणिपुरमा फैलिएको जातीय हिंसाको क्रूरता प्रष्टसँग सुनाउँछौँ–
दोस्रो भिडियोः त्यो भिडियोमा ‘काटिएको टाउको’ बाँसको डन्डीमा झुण्ड्याइएको छ। अनुहार कोरिएको छ, आँखा निकालिएको छ। तर भिडियो बनाउनेहरू हाँसिरहेका छन्। मैतेईहरू रमाइरहेका छन्। उनीहरूले मैतेई भाषामा कुराकानी गरिरहेको भिडियोमा सुनिन्छ।
०००
तीन महिनादेखि मणिपुरमा मैतेई र कुकीबीच हिंसा मच्चिरहेको छ। चारैतिर भागाभाग र लडाइँ–भिडाइ चलिरहेको छ।
मे–३ मा विष्णुपुर र चुराचाँदपुरको सीमाक्षेत्र एकाएक हिंसाग्रस्त बन्यो।
विष्णुपुरमा मैतेई बस्छन्। चुराचाँदपुर कुकीको राजधानीजस्तै छ। सीमाक्षेत्रको खोल्सामा त्यो दिन भीड जम्मा हुँदैजाँदा मैतेईहरूको ठूलो समूह क्षणभरमै आइपुग्यो। कुकीभन्दा मैतेईहरूको संख्या धेरै थियो।
नाेट– समाचार सामग्रीमा पाठकलाई विचलित पार्न सक्ने विवरणहरू समावेश छन्।
कुकीहरू आत्तिएर भाग्न थाले। नजिकैको झाडीमा लुकेर बसे, ३१ वर्षीय डेबीड थीक। उनी लुकीछिपी घरतिर जान खोज्दै थिए, त्यसैबेला मैतेईहरूले उनलाई देखे र समाते।
डेबीडसँग लुकेका अन्य साथीहरू भागे। मैतेईहरूको भीडमा एक्लै परे डेबीड। उनलाई कुटपिट गर्दै झाडीबाट निकाले। त्यसपछि गोली हाने। कारले किचे। मैतेईहरूको रिस अझै मरेन, उनको ‘टाउको काटिदिए’।
०००
कुकी समुदायका ऊर्जाशील युवा थिए, डेबीड। उनी मणिपुर रणभूमि बन्नुअघि गाउँमै रमाउँथे। सामाजिक काममा खट्थे। उनका एकदमै मिल्ने साथी थिए, मोइपुन। उनी अहिले पनि मैतेईसँग भिडरहेका छन् अनि डेबीडलाई सम्झिरहेका छन्।
‘ऊ राम्रो साथी थियो। रातको समयमा हामीहरू गाउँको रक्षामा खटिएका थियौँ, ऊ धेरै थाकेको थियो। डेबीड पनि स्वयंसेवक थियो। ऊ रातभर राइफल बोकेर बंकरमा बस्यो। अर्कोदिन मैतेईहरूबाट मारियो,’ डेबीडका साथी मोइपुनले भने।
अहिले प्रायः कुकीहरू राहत शिविरमा बसिरहेका छन्। त्यो शिविरमा डेबीडका काका बुओन्खाउलेन, काकी लालियानी र साथी मोइपुनलाई एकसाथ भेटिए। डेबीडका काका भन्छन्, ‘हामी चुराचाँदपुरको चिङ्गलांगमेल गाउँमा बस्थ्यौँ। विष्णुपुर र चुराचाँदपुरबीचको सिमाना मे ३ गते हिंसा भयो।’
उपत्यकामा मैतेई र पहाडमा कुकीले बंकर बनाएका थिए। उनीहरूले गाउँको रक्षाका लागि समिति नै बनाएका थिए। डेबीड पनि चिङ्गलांगमेल गाउँको रक्षा बलमै थिए।
०००
डेबीडको हत्यापछि उनको परिवार चुराचाँदपुरको राहत शिविरमा बस्दै आएको छ। घर र गाउँ अहिले मैतेईले कब्जामा लिएका छन्। ‘परिवारमा म, उसकी काकी र उनका बुबा छौँ। ६५ वर्षका बुबा खुमा अशक्त हुनुहुन्छ। डेबीड परिवारमा एक मात्र कमाउने व्यक्ति थिए,’ उनका काकाले भने।
कोरोनाअघि डेबीड मुम्बईको एक होटलमा वेटरको काम गर्थे, तर जागिर गुमाएपछि उनी मणिपुरै फर्किए। मणिपुरमा हिंसा हुनुअघि उनी फेरि मुम्बई फर्कने सोच्दै थिए। तर मे–३ को साम्प्रदायिक हिंसाले डेबीडको ज्यानै लियो। अनि, सबै–सबै कुरा सकियो। एउटा जीवनै सकियो। (याे सामग्री भारतीय पत्रिका ‘दैनिक भास्कर’काे सहयाेगमा तयार पारिएकाे हाे।)