को हुन् मैतेई र कुकी?
साम्प्रदायिक हिंसाको आगोमा जलिरहेको छ– मणिपुर। दुई समुदायः मैतेई र कुकीबीचकाे हिंसात्मक झडप तीन महिनादेखि राज्यभर कायमै छ।
मणिपुरमा गत 'मे ३' देखि मैतेई (उपत्यकाको बाहुल्य समुदाय) र कुकी आदिवासी (पहाडी बहुल समुदाय) बीच हिंसा भड्कियो।
द्वन्द्वका कारण अहिलेसम्म १४४ जनाभन्दा बढीको ज्यान गइसकेको छ।
मणिपुर कहाँ छ र त्यहाँ को बस्छन्?
मणिपुर भारतको पूर्वोत्तरमा अवस्थित एउटा राज्य हो। छेउतिरकाे द्वन्द्वग्रस्त देश म्यान्मारसँग सटेकाे छ, मणिपुर।
मणिपुरमा अनुमानित ३३ लाख मानिसहरू बसाेबास गर्छन्।
मणिपुरमा तीन समुदाय छन्– मैतेई, कुकी र नागा। मैतेईहरू प्रायः हिन्दू हुन्। मैतेई मुस्लिमसमेत छन्। कुकी र नागाहरू सबै ईसाई हुन्।
जसमा आधाभन्दा धेरै मैतेई समुदायका मानिसहरू छन्। भारतेली–नेपालीहरूका अनुसार मणिपुरमा करिब ४३ प्रतिशत अल्पसंख्यक मानिने कुकी र नागा समुदायका मानिसहरू छन्।
राजनीतिक प्रतिनिधित्व— मणिपुरका कुल ६० विधायकमध्ये ४० जना विधायक मैतेई समुदायका छन्। बाँकी २० जना कुकी र नागा आदिवासीबाट प्रतिनिधित्व गर्छन्।
मणिपुरमा किन मच्चियाे साम्प्रदायिक हिंसा?
मैतेई समुदायले आफूलाई पनि आदिवासीको दर्जा दिन माग गर्दैआएकाे छ। उनीहरूले मणिपुर उच्च अदालतमा निवेदन दायर गरे।
उच्च अदालतले उपत्यकाको बाहुल्य समुदाय मैतेईलाई पनि आदिवासीको हैसियत दिन आदेश दियाे। त्याे आदेशबाट खुसी थिएनन्, पहाडी बहुल समुदाय कुकी आदिवासीहरू।
अदालतकाे आदेशले मैतेईहरूलाई पहाडतिर धकेल्दैछ। आदिवासी हैसियत भएका कुकी र नागाहरूले उपत्यकामा जग्गा किन्न सक्छन्। तर मैतेईहरूले पहाडी भेगमा जग्गा किन्न सक्दैनथे। किनकि उनीहरू आदिवासी थिएनन्।
अदालतले मैतेईहरूलाई आदिवासीकाे हैसियत दिएपछि 'पहाड सर्ने डर'ले कुकीहरू अत्तालिएका छन्। मैतेईलाई आदिवासीको दर्जा दिएकोमा विरोधमा छन्, कुकी।
मणिपुरको १० प्रतिशत जमिनमा मैतेई समुदायको प्रभुत्व छ। यो समुदाय उपत्यकामा बसोबास गर्दछ। बाँकी ९० प्रतिशत पहाडी भेगमा राज्यबाट मान्यता प्राप्त कुकी र नागा आदिवासीहरू बसोबास गर्छन्।
पहाड र उपत्यका अर्थात् एकातिर मैतेई र अर्कातिर कुकी–नागाबीचकाे विवाद निकै पुरानो र संवेदनशील छ।
अहिले भड्किएकाे साम्प्रदायिक हिंसाको जग भनेकै 'पहाडी जमिन' र अदालतकाे आदेशपछि सरकार र समाजमा मैतेईहरूको बढ्नसक्ने बलियो नै प्रभाव हाे।
मणिपुरमा कुकी समुदायले मैतेई समुदायको आदिवासी दर्जा मागको विरोध गरेपछि तनाव बढ्यो र हिंसा मच्चियाे।
पर्दापछाडिकाे अर्काे खेल!
मणिपुर हिंसाका अनेकाैँ तर्क छन्। कुकीहरू पहाडमा बस्छन्। र, अपराधिक गतिविधि र लागूऔषधको उत्पादन र प्रयोगमा रमाइरहेका छन्।
मैतेई समुदाय नेतृत्वकाे राज्य सरकारले चलाएको लागूऔषधविरुद्धको युद्ध कुकी समुदायलाई उखेल्ने बहाना ठान्छन्, उनीहरू। कुकीहरूलाई राज्य सरकारकाे रबैया मन परेकाे छैन। अर्काे, म्यान्मारबाट अवैध आप्रवासनले तनाव थपेको छ। बढ्दो जनसङ्ख्याका कारण भूउपयोगमा दबाब छ।
मैतेई, कुकी र नागाहरू विवादास्पद मातृभूमिको माग र धार्मिक भिन्नतालाई लिएर दशकौंदेखि एकअर्कासँग लड्दै आएका छन्। र, यी सबै भारतीय सुरक्षा बलहरूसँग भिड्दै आएका छन्। तर, हालैको लडाइँ पूर्णतया मैतेई र कुकी समुदायबीचको हो।
अहिलेकाे द्वन्द्व धर्म र राजनीतिमा होइन, जातीयतामा निहित छ।
के भइरहेछ मणिपुरमा?
मणिपुरकाे साम्प्रदायिक हिंसा डरलाग्दाे माेडमा छ। दुबैतिरका मानिसहरू भागिरहेका छन्। भाग्दा–भाग्दै मरिरहेका छन्। अहिलेसम्म कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।
भारतीय केन्द्र सरकार र राज्य सरकारले हिंसा राेक्नका लागि सैनिक, अर्धसैनिक बल र राज्य–प्रहरी खटाएकाे छ। चर्किरहेकाे हिंसाभित्र बस्न नसकेपछि ६० हजारभन्दा बढी मणिपुरेहरूले घर छोड्न बाध्य भएका छन्।
झडपका क्रममा दुवै समुदायले विभिन्न ठाउँमा तोडफोड गरेका छन्। प्रहरी चौकीबाट हतियारसमेत लुटपाट गरेका छन्। हिंसात्मक झडपका क्रममा सयौं गिर्जाघर र एक दर्जनभन्दा बढी मन्दिरहरू पनि तोडिएका छन्। र, धेरै गाउँ जलिरहेका छन्। घर भत्किएका छन्।
मणिपुरमा बाँच्नसमेत मुस्किल छ। महिला र बालबालिकाहरू भोकभोकै भागिरहेका छन्। उनीहरूले राम्राेसित सुत्नसमेत पाएका छैनन्। विद्यालयमा ताला लगाइएको छ। बजार सुनसान छ। खम्चामा बाँधिएका गाईवस्तु भाेकै छन्।
खाल्डोमा दन्किएको आगोले भारत जलाउँदैछ। खेतबारी उजाड छ। सडक रगतले लतपतिएको छ। जताततै आगो दन्किरहेको छ।
मणिपुरमा पेल्सिएका महिलाहरू
दुई महिलालाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको एउटा भिडियाेले संसार हल्लाइरहेकाे छ। 'यौन हिंसा भएको भाइरल भिडियो'पछि नेपाली र भारतीयहरूले आ–आफ्नो प्रतिक्रिया दिँदै आक्रोश व्यक्त गरेका छन्।
मणिपुमा सल्किएको दंगा झन्–झन् भड्किँदै गएको छ। दुई महिनाअघि खिचिएको तर एकसात अघिमात्र भाइरल भएको त्याे भिडियोले मानिसहरू आक्रोशित छन्।
एकहुल अराजक मानिसहरू चेलीलाई नाङ्गै बनाएर, जुलुस निकालेर खुलेआम प्रदर्शन गराउँदै हिँडिरहेका छन्। यो सबै देख्दा र सुन्दा सबैलाई रिस उठ्छ। लाग्छ– संसारभरका हरेक घटना, दुर्घटना, युद्ध र झगडाको पीडा महिलाहरूले भाेग्नुपर्छ? मणिपुरको त्यो भिडियो हेर्दा भारतीय समाजलाई लाज लाग्छ। आफैलाई दिक्क लाग्छ।
मणिपुरको आगो कहिले निभ्छ भन्ने चिन्ता कायमै छ। लाग्छ— देशको कुनै सकारात्मक शक्तिले मणिपुर समस्याको समाधान छिट्टै खोज्नेछ र त्यहाँ फेरि शान्ति आउनेछ।