चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हो: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन्।

सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए।

'गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैँ गर्न सक्षम छन्। देशहितको अर्थ लोकहित हो। यसमा शङ्का छैन्', उक्त सन्देशमा भनिएको छ, 'जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन्। नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ।'

हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ। त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: : 2023-05-29 12:12:00

प्रतिकृया दिनुहोस्